राष्ट्र संघले भन्यो- ओस्कार-भ्यालेरीको जस्तो हृदयविदारक मृत्यु 'अस्वीकार्य' !

अमेरिका–मेक्सिको सीमाको रियो ग्रान्डे नदीमा भेटिएको बाबु छोरीको लाशले संसारलाई नै एकपटक जीवन र जगतको बारेमा सोच्ने बनाएको छ । यो दृश्यले संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) को पनि ध्यानाकर्षण भएको छ । 

युएनएचसिआरले घटनाप्रति गहिरो दुःख प्रकट गर्दै एलसाल्भाडोरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भ्यालेरीको दुःखद निधन “अस्वीकार्य” रहेको जनाएको छ । 

युएनएचसिआरका उच्चायुक्त फिलिप्पो ग्रान्डीले ओस्कार र भ्यालेरीको मृत्युले कतिपय मुलुकमा बढ्दो हिंसालाई रोक्नेतर्फ विश्वको ध्यान जान जरुरी रहेको बताएका छन । मानिसहरु सुरक्षित जीवनका लागि कठोर यात्रामा निस्कन बाध्य भइरहेको देखिन्छ, ग्रान्डीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । उनले यस्ता दुःखद घटना हुन नदिन तत्कालै समन्वयात्मक कदम चाल्न आह्वान पनि गरेका छन् । 
अमेरिका प्रवेश गर्न चाहने एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे नदीको किनारामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा मेक्सिको सीमामा कडाई गरेपछि अमेरिका प्रवेश गर्न चाहने आप्रवासीले कठोर मार्ग प्रयोग गर्दा आप्रवासीहरुको मृत्यु यसरी भैरहेको छ । 

प्रकाशित मिति: : 2019-06-28 07:19:17

प्रतिकृया दिनुहोस्