जारी छ- बाल्टिमोरमा नेपाली नेशनल कन्भेन्सन २०१९

नेपाली नेशनल कन्भेन्सन २०१९ उद्घाटनको एक झलक । तस्बिर : बीएल

अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली र नेपालीमूलका अगुवाहरूको प्रतिनिधिमुलक भेला नेपाली नेसनल कन्भेन्सन २०१९ पूर्वीतटीय राज्य मेरिल्याण्डको बाल्टिमोरमा जारी छ । जुलाई ५ मा सुरू भएको सम्मेलन विभिन्न शीर्षकका घना कार्यक्रमका बीच जुलाई ७ मा समापन हुदैछ ।

पहिलो दिन विभिन्न कार्यक्रम आयोजना गरेर अघि बढाइएको सम्मेलनको औपचारिक उद्घाटन भने दोस्रो दिन मात्र गरिएको छ । सम्मेलनको उद्घाटनका लागि प्रमुख अतिथि बनेर नेपालको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आएका छन् । उनले सम्मेलनको पूर्ण सफलताको कामना गर्दै समृद्ध नेपाल : सुखी नेपाली बनाउने प्रतिवद्धताअनुसार नेपालमा काम भैरहेको बताए ।

सम्मेलनमा अतिथिका रूपमा नेकपाका युवा नेता ठाकुर गैरे र नेपाली कांग्रेसका नेता दीपक गिरी पनि सहभागी छन् । यसैगरी केही स्थानीय निकायका प्रमुख र केही विज्ञ पात्र पनि सहभागी हुन आएका छन् । 

एएनएका अध्यक्ष मेदिनी अधिकारीले सम्मेलन सफलतापूर्वक अगाडि बढिरहेको बताए । उनले भने- ' नेपाली नेशनल कन्भेन्सन २०१९ अमेरिकामा रहेका नेपालीका विभिन्न संघ संस्थाहरूको सहकार्यको उत्कृष्ट नमूना हो । यसले नेपाल र नेपालीका लागि जोडिन प्रेरित गरेको छ ।'

सम्मेलन एएनए, आन्मा, बाना, आइएनएलएसलगायतका संघ संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

प्रकाशित मिति: : 2019-07-07 04:49:32

प्रतिकृया दिनुहोस्