अमेरिका भूकम्प: के लस एन्जलसले 'महाभूकम्प' थेग्न सक्छ?

दुई दिनभित्रै दुईवटा ठूला भूकम्पले धक्का दिएपछि क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले अमेरिकाको संघीय सरकारसँग सहयोग मागेका छन्।

गभर्नर न्युजोमले महत्त्वपूर्ण पूर्वाधारहरूमा उल्लेख्य क्षति पुगेको भन्दै वासिङ्टनको सहयोग मानिसहरूको जीवन र सम्पत्ति रक्षा गर्नुका साथै सार्वजनिक स्वास्थ्यलाई चलायमान गराइराख्न आवश्यक रहेको बताएका छन्।

सबैभन्दा नराम्रो असर लस एन्जलस शहरभन्दा झण्डै दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको क्षेत्रमा परेको थियो ।

ती दुई भूकम्पको केन्द्रविन्दु नजिक रहेको रिजक्रिस्ट भन्ने नगरको अस्पताल बन्द गरिएको थियो र स्वास्थ्यकर्मीहरूले विरामीहरूको उपचार कार पार्किङ् गर्ने ठाउँमा गरेका थिए।

क्यालिफोर्नियाका अधिकारीहरूले भनेका छन्- बिजुली आपूर्ति चाँडै नियमित भएको छ र सडक अनि पसलहरू समेत छिट्टै खुलेका छन् - अर्थात् क्षति अपेक्षा गरिए भन्दा निकै कम भएको छ।

तर क्यालिफोर्निया राज्यका थुप्रै बासिन्दाहरूले त्यहाँ ठूलो भूकम्प आउनसक्ने भय पालेर बसेका छन्। लामो समयदेखि त्यहाँ ठूलो भूकम्प नआएको भन्दै थुप्रै भूकम्पविद्हरू समेत उक्त भयमा सहमत छन्।

शहरी जटिलता

नयाँ नयाँ प्रविधिका साथ शहरहरू फैलिरहँदा सिर्जित बढ्दो जटिलताले भूकम्पका बेला हुनसक्ने जोखिमको अवस्था देखाउँछ।

दक्षिणी क्यालिफोर्नियाको स्यान एन्ड्रियाजको धाँजा फाट्ने कुरा निश्चित नै जस्तो छ। प्रश्न त केवल कहिले भन्ने मात्र हो।

त्यो अमेरिकी भूगर्भसम्बन्धी निकाय (युएसजीएस)का वैज्ञानिक डा लुसी जोन्सले अमेरिकन जियोफिजिकल युनियनको बैठकमा दिएको सन्देश थियो।

बीस हजार भन्दा बढी विश्वभरका भूगर्भ वैज्ञानिकहरू जुटेको कार्यक्रममा डा जोन्सले 'अर्को ठूलो' कम्पन पर्खिरहेको दक्षिणी क्यालिफोर्नियाले सामना गर्नसक्ने चुनौति औँल्याएकी थिइन्।

सान फ्रानसिस्को
नयाँ नयाँ प्रविधिका साथ शहरहरू फैलिरहँदा सिर्जित बढ्दो जटिलताले भूकम्पका बेला हुनसक्ने जोखिमको अवस्था देखाउँछ।

उक्त क्षेत्रले लस एन्जलस र स्यान डियागोको धेरै क्षेत्र समेट्छ।

स्यान फ्रान्सिस्कोलाई ठूलो क्षति पुर्‍याएको सन् १९०६ को भूकम्पका बेला प्रत्येक तीनजना अमेरिकीमध्ये एकजनाभन्दा कम मात्र शहरमा बस्थे।

तर अहिले अमेरिकी जनसङ्ख्याको ठूलो बाहुल्य शहरमा छ र जोखिम बहन गर्ने शहरी मानिसहरूको क्षमताको प्रश्न एउटा मुख्य विषय बनेको छ।

भवन संहिताले के भन्छ?

भूकम्पसँग जुझ्नका लागि बनाइएका योजना धेरैजसो भवन संहिताको कार्यानन्वयन मार्फत् गरिएको छ।

क्यालिफोर्नियाका निर्माण आचारसंहिता भूकम्पले भवन भत्कन नदिने ९० प्रतिशत सम्भावनासँग मेल खानेगरी बनाइएका छन्।

अर्को शब्दमा महाभूकम्प आएको खण्डमा भवनहरू भत्कन सक्ने १० प्रतिसत सम्भावना बाँकी नै रहन्छ। त्यस्तो भूकम्प क्यालिफोर्नियामा प्रत्येक तीन शताब्दीको हाराहारीमा एकपटक आउने गरेको छ।

तर त्यसरी भूकम्प जाँदा कतिपय भवनहरू ध्वस्त नभए पनि त्यसपछि आउने परकम्पका बेला ध्वस्त हुन सक्ने जोखिमका कारण मानिसहरू बस्न अयोग्य हुने भन्दै तिनमा 'रातो स्टीकर' लगाइन्छ।

विगतका अनुभवहरूले त्यस्तो क्रम बढिरहेको देखाउँछ।

लस एन्जलसभन्दा २० माइल उत्तर पश्चिममा पर्ने क्षेत्रमा सन् १९९४ मा आएको ६.७ म्याग्निच्युडको भूकम्पले २३० वटा भवनलाई ध्वस्त पारेको थियो तर झण्डै २३०० वटाका लागि रातो स्टीकर जारी गरिएका थिए।

त्यसैगरी स्यान फ्रान्सिस्कोको मरिना जिल्लामा सन् १९८९ मा आएको भूकम्पमा प्रत्येक एक भवन ध्वस्त हुँदा अन्य दशवटाले रातो स्टीकर पाएका थिए।

यी नजिरहरूलाई निकै खराब हुनसक्ने अवस्थासँग दाँजेर हेर्दा भवन संहितालाई मानेका भए पनि लस एन्जलसका लगभग सबैजसो भवनहरू बस्न योग्य नहुन सक्छन्।

अनुमान

एउटा कम्युटर प्रणाली (मोडेल) को अनुमानमा स्यान एन्ड्रियाजको धाँजा, जसले प्रशान्तिय र उत्तर अमेरिकी टेक्टोनिक प्लेटबीचको सीमाको रूपमा काम गर्छ, मा अर्को ठूलो कम्पन ७.८ म्याग्निच्युडको हुनसक्छ।

त्यहाँ सिर्जना हुने एउटै घटनाको कम्पन साल्टन समुद्र नजिकैको दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएर उत्तरतर्फ फैलँदै लस एन्जलससम्म पुग्नेछ।

उक्त प्रणालीले देखाउने नतिजा अनुसार त्यस क्षेत्रका आधाजसो भवनहरू प्रभावित हुनसक्छन्।

त्यसले सबैभन्दा चिन्ता उत्पन्न गराएको विषय चाहिँ भवन बाहेक समेत एकआपसमा सम्बन्धित पूर्वाधारमा उल्लेख्य असरहरू पर्ने अवस्था हो।

जसमा यातायात, ग्यास तथा विद्युत आपूर्ति, ढल प्रणाली, पानी र सञ्चारको सञ्जाल पर्छन्।

सन् १९०६ पछि सान फ्रानसिस्को भूकम्पले नभई आगलागीले ध्वस्त भएको थियो।सन् १९०६ मा स्यान फ्रानसिस्को भूकम्पले नभई त्यसपछि भएका आगलागीले बढ्ता ध्वस्त भएको थियो।

त्यहाँको जलप्रणाली संवेदनशील छ। दक्षिणी क्यालिफोर्नियाका ७० प्रतिशत पानीका पाइपहरू पातलो कंक्रिटले बनाइएका छन् जुन ठूला भूकम्पका बेला बिग्रन सक्छन्।

लस एन्जलसको पानी आपूर्ति प्रणाली स्यान एन्ड्रियाजको धाँजा भएकै क्षेत्रमाथिबाट जान्छ।

यदि पानी, ऊर्जा, यातायात र अन्य पूर्वाधारसेवा मुख्य लस एन्जलसमा कम्तीमा ६ महिनासम्म अवरुद्ध भए त्यहाँ रहेका धेरैजसो व्यवसाय चल्न नसकेर विफल हुनेछन्।

परकम्पले थप मनोवैज्ञानिक तनाव सिर्जना गर्दा त्यसभेगबाट मानिसहरू अन्य बसाइसराइ गर्न खोज्दा अर्को तरिकाबाट समेत त्यहाँको स्थानीय अर्थतन्त्र ध्वस्त हुनसक्छ।

भूकम्पप्रतिरोधी भवन संहिताले मोबाइल फोनका टावरहरूलाई समेट्न सकेको छैन।

सन् २०१० मा ८.८ म्याग्नेच्युडको भूकम्प आउँदा चिलीमा सबै विद्युतिय सञ्चार तीन दिनसम्म अवरूद्ध भएको डा जोन्सले बताए।

अन्य जोखिमहरू समेत छन्। लङ् बिच र लस एन्जलस अमेरिकाका निकै ठूला बन्दरगाह हुन्। अमेरिकामा हुने कुल कन्टेनर ओसारपसारको ८० प्रतिशत अनि कुल आयातको ४० प्रतिशत यिनै बन्दरगाहको पूर्वाधार प्रयोग गरेर हुने गर्छन्।

प्रकाशित मिति: : 2019-07-07 20:11:18

प्रतिकृया दिनुहोस्