ट्रम्प प्रशासनको नयाँ कदम : अमेरिकामा नेपालीलाई 'असाइलम' अरू कठिन

अमेरिकामा नेपालीलाई असम्भव हुदैछ 'असाइलम' । एक प्रतिकात्मक तस्बिर । ब्रेक एन लिंक्स ले-आउट ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीमाथि तगारो लगाउने अर्को उपायको खोजी गरेका छन् । यसपटक पनि उनको निशानामा अमेरिकाको दक्षिणी सिमाबाट अमेरिकामा शरण माग्न आउने नै परेका छन् ।

युएससीआईएसका अनुसार मंगलबार फेडरल रजिस्टरमा प्रकाशित हुने यो नयाँ नियमअनुसार अब अमेरिकामा शरण लिन चाहनेले बाटामा पर्ने कुनै पनि देशमा शरणका लागि आवेदन दिएर अस्वीकृत भएको हुनुपर्ने छ । 

यो प्रावधान अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिस र होमल्याण्ड सेक्युरिटीका तर्फबाट ल्याउन लागिएको संयुक्त अन्तरिम नियममा थप गर्न लागिएको हो । यो नियमअनुसार बाटोमा पर्ने तेश्रो मुलुक वा आफ्नो मुलुक छाडेपछिको मुलुकमा एसाइलम दावी गरेर अस्वीकृत भएको प्रमाण पेश नगरेमा एसाइलीको आवेदन नै लिइने छैन । 

नयाँ प्रावधानअनुसार सन् १९५१ को महासन्धीमा भाग नलिएको कुनै देश हुँदै अमेरिका आएको र मानव तस्करीको शिकार भएको प्रमाणित व्यक्ति पनि अमेरिकी सिमाक्षेत्रमा एसाइलमका लागि योग्य हुनसक्नेछ ।

यो प्रावधान नियम बन्नका लागि कम्तिमा पनि फेडरल रजिस्टरमा प्रकाशित भएपछि ३० दिनसम्म कमेन्ट अवधि दिनुपर्ने हुन्छ । त्यसपछि मात्र यो कहिलेदेखि लागु हुने हो भन्न सकिन्छ । 

अमेरिकी सरकारले ल्याउन लागेको यो प्रावधानले माथिल्लो बाटो बाट आउने नेपालीका लागि असाइलम पाउँन अब लगभग असम्भव नै देखिएको छ भने तल्लो बाटोबाट आउनेका लागि पनि असहज परिस्थिति बनेको छ । उनीहरू तल्लोबाट आउँदा नै बाटोका कुनै पनि देशमा शरणका लागि आवेदन दिएर अस्वीकृत भएको प्रमाण बुझाउनुपर्ने हुन्छ । यो प्रक्रिया लम्बेतान हुनुका साथै दलाललाई थप पैसा दिनुपर्ने हुन्छ । 

प्रकाशित मिति: : 2019-07-16 11:05:39

प्रतिकृया दिनुहोस्