अफगान सैनिकले मारिदिए दुई अमेरिकी सैनिक : अमेरिका स्तब्ध

अफगानिस्तानमा सहकर्मी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिक - जोसेफ कलेट र विल लिन्डसे । तस्बिर : पेन्टागन

अफगानिस्तानमा एक अफगान सैनिकले दुई अमेरिकी सैनिकको हत्या गरेका छन् । मारिनेमा लान्कास्टर, ओहायोका २९ वर्षिय जोसेफ कलेट र कर्टेज कोलाराडोका ३३ वर्षीष विल लिन्डसे रहेको बताइएको छ । उनीहरू कान्दाहारमा रहेको अफगान सैन्य अखडाको भ्रमण गर्ने क्रममा सहकर्मी हत्याको शिकार भएका हुन् । 

कान्दाहारका प्रहरी उपप्रमुख मोहमद कसमले अमेरिकी सेनाले अफगान सैन्य अखडाको भ्रमण गर्नेक्रममा दुई अमेरिकी सैनिक मारिनुको साथै अन्य घाइते भएको बताएका छन् ।  

अमेरिकी सेनाले पनि उनीहरू मारिएको पुष्टि गरेको छ । तर, उसले घटनाका विस्तृत विवरण भने दिएको छैन ।

अफगान सैन्य अखाडामा रहेका तालिवान समर्थक सैनिकले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । तर, तालिबानका प्रवक्ताले अमेरिकी सेनाको हत्या गर्ने व्यक्ति आफ्ना लडाकू नरहेको स्पष्ट पारेका छन् । उनले ती व्यक्ति देशभक्त अफगान सैनिक भएको बताए । 

अफगानिस्तानमा भएको यो सहकर्मी आक्रमणलाई राष्ट्रपति ट्रम्पले गम्भिरतापूर्वक लिएको ह्वाइट हाउसले जनाएको छ । यस घटनाले आगामी राष्ट्रपतिको चुनावअघि नै अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको योजनालाई बल पुगेको बताइएको छ । 

अफगानिस्तानमा अहिले पनि १४ हजार अमेरिकी सैनिक रहेका छन् । 

प्रकाशित मिति: : 2019-07-31 05:06:56

प्रतिकृया दिनुहोस्