अमेरिकाको राजदूतमा रिमाल कि खतिवडा- कस्को होला 'सेफ ल्याण्डिङ' ?

अमेरिकाको राजदूतमा खतिवडा कि रिमाल - बीचमा फर्कन लागेका अर्को व्यवस्था नभए सम्मका डा. कार्की ।

अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की अब वासिङ्टन डीसीका लागि केही दिनको मात्र पाहुना रहने संकेत मिलेको छ । अहिले उनको हैसियत भनेको 'अर्को व्यवस्था नभएसम्मका लागि राजदूत' मात्र हो । 

उनलाई कस्ले पालो दिने भनेर बालुवाटारमा पालो मिलाउने कोशिस भैरहेको बताइन्छ । बालुवाटार किचेन क्याविनेटका एकजना प्रभावशाली सदस्य विष्णु रिमाल र सिंहदरवार क्याविनेटमै अर्थमन्त्री रहेका डा. युवराज खतिवडामध्ये एकजनाको व्यवस्थापन वासिङ्टन डीसीमा गर्न लागिएको बताइन्छ । 

डा. खतिवडा मनोनित सांसदका हैसियतले अर्थमन्त्री छन् । उनको कार्यकाल दुई वर्षको मात्र छ । नेपालको संविधानअनुसार मन्री हुन सांसद हुनैपर्ने प्रावधान रहेकाले अबको केही समयपछि उनको कार्यकाल पूरा हुने छ । त्यसलगत्तै उनलाई सांसद बनाएर पुन: मन्त्रीमा नियुक्ति दिन सहज नहुन सक्छ । त्यसैले यस्तो अवस्थामा डा. खतिवडालाई अमेरिकाका लागि राजदूतका रूपमा व्यवस्थापन गरेर अमेरिकामा कामकाजी राजदूत पठाउन सकिन्छ कि भनेर प्रधानमन्त्री के पी शर्मा ओलीले विकल्प हेरिरहेको बताइन्छ । 

उता, प्रधानमन्त्री ओलीका लामो समयदेखिका सहयोगी रहदै आएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल आफू मात्र हैन, प्रधानमन्त्रीलाई समेत अलोकप्रिय बनाइरहेको अनुभव स्वयं ओलीलाई पनि भएको बताइन्छ । यस्तो अवस्थामा ओली उनलाई अमेरिकाको राजदूतका रूपमा पठाएर उनले लगाएको गुण पनि तिर्ने र उनको सहज व्यवस्था पनि गर्ने योजनामा रहेको बताइन्छ ।  

यसरी हेर्दा रिमालले नै डा. कार्कीलाई पालो दिने सम्भावना बढ्दो छ । 

तर, अर्को कोणबाट हेर्दा रिमाललाई राजदूत बनाउँदा आफ्नो एक सहयोगीको व्यवस्थापन भए पनि उनको कार्यशैली र क्षमताले अमेरिकाका लागि कूटनीति त टाढाको कुरा, नेपाली दूताबास मात्रै पनि नचल्ने हो कि भन्ने डर प्रधाामन्त्री ओलीलाई छ । राजनीतिक रूपमा महत्वाकांक्षी रिमाललाई पनि आफू राजदूत भएर गएपछि राजनीतिक भविष्य सकिएको अर्को टंक कार्की हुने हो कि भन्ने लागेको छ । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्- रिमाल आफैं पनि राजदूताबास चलाउन सकिदैन कि भन्ने ठानिरहेका छन् । उनलाई परराष्ट्र मन्त्रालयका कर्मचारीले राजनीतिक नियुक्ति पाएका राजदूतलाई असहयोग गरेर असफल बनाएका अनगिन्ति कथा थाहा छन् । 

अर्थमन्त्री डा. खतिवडाको पहिलो छनोट अमेरिकाका लागि राजदूत हैन, उनी फेरि राष्ट्रियसभाको टिकट पाएर मन्त्री नै हुन चाहन्छन् । तर, यसअघि नै पनि उनलाई टिपेर सांसद र मन्त्री बनाएको भनेर पार्टीमै विरोध भैसकेको छ । यस्तो अवस्थामा उनलाई फेरि सांसद र मन्त्री बनाउन सहज छैन । 

अमरिकाको नेपाली डायस्पोरामा कामचलाउ राजदूत डा. कार्की जति अलोकप्रिय छन्, त्योभन्दा बढी त रिमाल अहिले नै अलोकप्रिय छन् । उनी यहाँ आएर अहिले जस्तै कार्यशैली कायम राखे भने उनी इतिहासकै सबैभन्दा अलोकप्रिय राजदूत हुने छन् ।

अर्थमन्त्रीका लागि अनुकुल परिस्थिति नहुने देखेर नै डा. खतिवडाले प्रधानमन्त्री ओलीसँग मुख खोलेरै अमेरिकाका लागि राजदूतको रूपमा सेवा गर्ने मौका दिन अनुरोध गरेको बुझिएको छ । उनको यो अप्रत्यासित मुख खोलाईबाट अमेरिकाका लागि नेपाली राजदूतमा विष्णु रिमाललाई व्यवस्थापन गर्न लागिसकेका प्रधानमन्त्री दोधारमा परेको उनक किचेन क्याविनेटका एक सदस्यले ब्रेक एन लिंक्सलाई बताए । तर, उनले यसो पनि भने कि सबै कुरालाई ध्यानमा राख्दा प्रधानमन्त्री ओलीले तत्कालै रिमालकै सेफ ल्याण्डिङ गर्नुुपर्ने भएकाले उनी नै अमेरिकाका लागि राजदूत हुने सम्भावना धेरै छ ।

यता, अमेरिकाका लागि अर्को व्यवस्था नभएसम्मका लागि काम चलाउ राजदूत अर्जुन कार्कीलाई भने आफू केही दिनको मात्र वासिङ्टनको पाहुना भएको आभास भैसकेको जस्तो देखिएको छ । अर्को कार्यकालका लागि दोहोरिन न्वारानदेखिको बल लगाए पनि त्यो सम्भव नभएपछि उनका नौनारी गलेका थिए । त्यसपछि उनी अहिले विन्दास भएर अमेरिकाका विभिन्न राज्यको दौडाहामा निस्केका छन् । र, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतकै फेसबुके कूटनीति पछ्याउँदै फोटोहरू अपलोड गरिरहेका छन् ।

उनको एउटै चिन्ता छ, आफू राजदूत हुँदा अमेरिकामा गरेका आर्थिक कर्तुतहरूको मुख खुल्ने हो कि ? त्यसका लागि उनी आफूपछि आउँने राजदूत साइटिङ गरेर हर्कत फिक्सिङ गर्ने खालको आइदिए हुन्थ्यो भन्ने पक्षमा देखिएका छन् । उनी करिअर डिप्लोम्याट नआइदिए हुन्थ्यो भनेर धुप हालिरहेका छन् । 

अमेरिकाका लागि राजदूत अर्जुन कार्की भने 'अर्को व्यवस्था नभएसम्मका लागि काम चलाउ' भएदेखि विन्दास भएर अमेरिकाका विभिन्न राज्यको दौडाहामा निस्केका छन् । र, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतकै फेसबुके कूटनीति पछ्याउँदै फोटोहरू अपलोड गरिरहेका छन् ।

परराष्ट सचिव शंकर वैरागी अमेरिकाका लागि राजदूतका डिफल्ट उम्मेद्वार नै हुन् । उनी भरसक मुख्यसचिव हुने नभए परराष्ट्रसचिवको पूर्णकाल खाने मनशायदे अहिलेको मुन्सीखानामै छन् । उनी संयुक्त राष्ट्र संघमा आउन चाहेको भए अमृत राईका ठाउँमा हुन सक्ने थिए । तर, वासिङ्टन डीसीमै महामहिम हुन भने उनका लागि अब ढिला भैसकेको जस्तो देखिएको छ । 

अमरिकामा रहेका नेपालीका लागि भने विष्णु रिमालभन्दा डा. युवराज खतिवडा नै बढी ग्राह्य हुने जस्तो देखिएको छ । यहाँको डायस्पोरामा डा. कार्की अहिले जति अलोकप्रिय छन्, त्योभन्दा बढी त अहिले नै पनि रिमाल अलोकप्रिय छन् । उनी यहाँ आएर अहिले जस्तै कार्यशैली कायम राखे भने उनी इतिहासकै सबैभन्दा अलोकप्रिय राजदूत हुने छन् । यसबाट सरकारलाई धक्का पुग्ने भएकाले त्यतातिर पनि प्रधानमन्त्रीले ओलीले सोचिरहेका छन् कि भन्ने अड्कल काट्न सकिन्छ । 

 

 

प्रकाशित मिति: : 2019-08-03 07:24:00

प्रतिकृया दिनुहोस्