भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु : मुख्यमन्त्री पौडेल

फाइल तस्बिर: बिएल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताएका छन्। भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा अख्तियार दूरुपयोय अनुसन्धान आयोगले गरेको कार्यक्रममा उनले प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारलाई जरैदेखिे फालेर भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा प्रतिबद्ध रहेको बताए।

उनले भ्रष्टाचार विरुद्ध धेरै राम्रो काम गरेको भए पनि कतिपय अवस्थामा अख्तियारले कर्मचारीलाई आतङ्कित बनाएको उल्लेख गरे। बेनामी उजूरीका भरमा अख्तियारले कसैलाई दुख दिनु राम्रो पक्ष नभएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले अख्तियारले गर्दा विकास निर्माणका काममा असर पर्न नहुने धारणा राखे। भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु अख्तियारको मात्र नभइ आम नागरिकको दायित्व रहेको उनको धारणा थियो।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार अन्त्यका लागि सबैले व्यवहारमा नै सदाचार कायम गर्नुपर्नेमा जोड दिए। भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने सङ्कल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने उनको धारणा थियो।

“जो जहाँ जुन दायित्वमा छ, उसले आफ्नो दाइत्व इमान्दारिताका साथ पूरा गर्नुपर्छ, तव मात्र भ्रष्टाचार अन्त्य हुन्छ” उनले भने। उनले प्रदेश सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका हुन्।

प्रकाशित मिति: : 2019-12-09 17:46:58

प्रतिकृया दिनुहोस्