मधेशमा इज्जत जाने डरले महिलाहरु हिंसाको सिकार हुने गर्छन: उपमेयर कार्की

तस्बिर: बिएल

वीरगञ्ज महानगरपालीकाकी उपमेयर शान्ति कार्कीले महिला हिंसाबाट मुक्त हुन अधिकार खोसेर लिनुपर्छ बताएकी छिन्। 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गतको छलफल कार्यक्रममा उपप्रमुख कार्कीले बाल्यअवस्थादेखी नै आफू राजनीतिमा जोडिएको स्मरण गर्दै यस क्षेत्रमा धेरै समस्या झेल्नु परेको बताइन्। 'म सानोदेखि नै राजनीतिमा हाम फाले', उनले भनिन् 'हिम्मत नहारी अगाडि बढेको हुदाँ म आज न्यायको कुर्सी सम्हाल्ने ठाँउमा पुगे।' मधेशमा इज्जत जाने डरले महिलाहरु हिंसाको सिकार भइरहेको उनले बताइन्।

कार्कीले अहिले महानगनरको न्यायिक समितिमा घरायसी विवादका कारण सम्बन्ध बिच्छेदको घटना बढेको बताइन्। हिंसाको सिकार भएर न्याय चाहने तथा हिम्मत भएका महिलासँग सदैव आफ्नो साथ रहने कार्किले बताइन्। पुरानो कानून परिमार्जन गरेर नयाँ कानून संसोधन गरे मात्र पिडित बालबालिका अथवा महिलाले उचित न्याय पाउने कुरामा उनले जोड दिइन्।

“समानताको पुस्ताः बलात्कार बिरुद्धको एक्यवद्दता” भन्ने मुल नाराका साथ भएको छलफल कार्यक्रममा लैङ्गिक हिंसाबिरुद्धको सवालमा पर्साका प्रहरी, अधिवत्ता, संचारकर्मि लगायत विभिन्न संघ संथाका व्यक्तिहरुले लैङ्गिक हिसांको सन्दर्भमा आ–आफ्नो प्रतिक्रिया दिएका थिए।

महिला अधिकारको क्षेत्रमा काम गरीरहेको गैरसरकारी संस्था दिव्य युवा क्लबकि कोपिला चौलागाईले २१ औं शताब्दिमा पनि पुरातन सोच बोकेको समाजमा महिलालाई अझै दोस्रो दर्जा दिइएको बताइन्। जसकारण मधेशका जिल्लाहरुमा घरेलु तथा यौन जन्य हिंसाको घटना बढ्दो बताइन्।

ग्रामिण भेगमा अहिले महिलाहरुमा प्रतिकार गर्ने क्षमता नभएकाले निर्वाचित जनप्रतिनिधि महिलाहरु श्रीमानको अधिनमा हिड्नु पर्ने दलित तथा सिमान्तकृत समुदायका पुरुषहरु जाड रक्सि खाएर महिलालाई कुटपिट गर्ने जस्ता समस्या यथावत रहेको बताइन्। स्थानीय सरकार आएपनि सामाजिक कार्य तथा सचेतना मुलक कार्यक्रमका लागि बिशेष बजेट छुटाई ध्यान नदिएकाले न्यायकालागि महिलाहरु उजुरी दिन डराउने गरेको बताइन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका असई भरत ठाकुरले पिडित महिला तथा बालिकासँग सुरुवाति अनुसन्धानमा दोषी पत्ता लागेपनि विचौलियाले गर्दा कुरा बिग्रने र समस्या समाधान नहुने उनले बताए।

युकेएडको सहयोग र वीरगञ्ज महिला जागरण समाज पर्साको आयोजना तथा बियोण्ड बेइजिङ्ग कमिटिको सहकार्यमा सो कार्यक्रम सम्पन भएको थियो । कार्यक्रमको सहजिकरण शिव नाथ यादवले गरेका थिए।

प्रकाशित मिति: : 2019-12-10 22:00:09

प्रतिकृया दिनुहोस्