मिथुन कुँवरले खिचेको फोटो उत्कृष्ट

पाल्पामा दशैंका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै । प्रतियोगितामा पहिलो भएको तस्बिर। फोटोः मिथुन कुँवर

‘सुन्दर नेपाल खुसी नेपाली’ फोटो प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैंका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्बिर उत्कृष्ट भएको छ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित प्रतियोगितामा प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिर दोस्रो भएको छ।

यस्तै दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिर तेस्रो हुँदा स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाको तस्बिरले सान्त्वना पुरस्कार पाएको छ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले नेपाली कलावृत्तमा देखिँदै आएका विविध कलाआयामलाई सम्बन्धन गर्दै आएको छ भने कला विकास र यसको उन्नयनमा निरन्तर विविध काम गर्दै आएको छ। यसैक्रममा ‘कला फोटोग्राफी’को विशिष्टीकरणका लागि प्रतिष्ठानले ‘सुन्दर नेपाल खुसी नेपाली’ शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएका थिए।

नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मीलित निर्णायकमण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटोहरु छानेको हो।

यस प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

वरिष्ठ फोटोग्राफर अशेष राजवंशीले नेपालमा फोटोग्राफी संस्कृतिको विकास हुँदै छ भन्ने यस प्रतियोगिताले देखाएको बताउँदै फोटो खिच्ने हेर्ने तरिका र देखाउन खोजेको कुरा स्पष्ट पार्ने तस्बिर नै राम्रो हुने बताए।

‘फोटोहरु राम्रो आएको छ, प्रथम हुने फोटोले सरल जनजीवन र खुशीलाई सरल रूपमा उतारिएको छ भने नेपाली परिवेश र मौलिकता झल्किएको केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकारले भने।’

देशभरबाट प्राप्त फोटोहरुले  नेपालको कलासंस्कृति, प्राकृतिक स्रोत, सम्पदा, समृद्धि, खुसी र सुख झल्कने फोटोहरु रहेको बताउँदै  निर्णायकमण्डलका अध्यक्ष वरिष्ठ फोटोग्राफर मणि लामाले भने, ‘थिमअनुसार राम्रा तस्बिरहरु आएका छन्, तर हामीले जे छानेका छौं यसबाट म पूर्ण सन्तुष्ट छु ।’

फोटोका सर्जकलाई राष्ट्रिय स्तरको प्रतियोगितामा समावेश गराउने मात्र नभई उत्कृष्ट सर्जकलाई पुरस्कारबाट प्रोत्साहित गर्ने र “कला फोटोग्राफी”को व्यापकतालाई अझ बढाउने यसको उद्देश्य रहेको प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले भने।

यसै क्रममा उहाँले फोटोग्राफीका क्षेत्रमा ख्यातिप्राप्त फोटोग्राफरहरूलाई समेत एकैथलोमा गोलबद्ध गर्ने सोच राख्दै यो प्रदर्शनीले हरेक वर्ष आयोजना गरिने राष्ट्रिय कला प्रदर्शनीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेको बताए।

प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी यही २०७७ पौष ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा हुनेछ।

प्रतियोगितामा दोस्रो भएको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिर। फोटोः  प्रविण श्रेष्ठ


प्रतियोगितामा तेस्रो भएको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिर । फोटोः दयासागर केसी


सान्तवना पुरस्कार पाएको कुहिरोभित्र देखिएको गुम्बाको तस्बिर। फोटोः स्कन्द गौतम


 

प्रकाशित मिति: : 2019-12-23 22:11:38

प्रतिकृया दिनुहोस्