उपसभामुख तुम्बाहाङ्‍फेले राजीनामा दिने, बैठकको अध्यक्षता ठाकुरले गर्ने निश्चित

फाइल तस्बिर: बिएल

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते अधिवेशन आह्वान गरेकी हुन्। संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ४ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको उल्लेख छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुस ४ गते संघीय संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

उपसभामुख तुम्बाहाङ्‍फेले राजीनामा दिने

प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सहज बनाउन उपसभामुख शिवमाया तुम्बाहाङ्‍फेले राजीनामा दिने भएकी छन्।

‘बिना कारण’ राजीनामा नदिने अडान राख्दै आएकी उनले आखिर संसद् चल्नुअघि नै राजीनामा दिने भएकी हुन्। राजीनामा दिएको जानकारी गराउनेबित्तिकै उनी स्वतः पदमुक्त हुनेछिन्।

तुम्वाहाङ्फेनिकट एक नेताका अनुसार सम्भवतः पुस ३ गतेभित्र उनको राजीनामा आइसक्नेछ। ‘तुम्बाहाङ्फेले राजीनामा दिने चाहिँ लगभग निश्चित हो। हिउँदे अधिवेशनको पहिलो बैठक अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्,’ ती नेताले भने।

'सभामुख को बन्ला त?' भनी सत्तारुढ दल नेकपाभित्रै अभ्यास भइरहेको छ। पूर्व एमाले पक्ष सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा लागेको छ।

तर एमालेकै तर्फबाट उपसभामुख बनेकी तुम्बाहाङ्फेले आफूलाई नै सभामुख बनाउनुपर्ने अडानमा छिन्। उनले त्यसकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न गरेको आग्रह त्यागेकी थिइन्।

पहिले माओवादी र एमालेबीच भागबण्डा भए पनि अब एउटै पार्टी भएपछि संविधानअनुसार सभामुख र उपसभामुख नेकपाले लिन पाउने छैन।

यौन दुर्व्यवहारको आरोपमा मुछिएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए। महराको राजीनापछि डेढ महिनादेखि रिक्त सभामुख चयन पुस ४ गतेबाट सुरु हुने हिउँदे अधिवेशनमा अनिवार्य रूपमा गर्नैपर्छ।

पुस ४ को पहिलो बैठक अध्यक्ष ठाकुर

पुस ४ गतेका लागि आह्वान गरिएको बैठकको अध्यक्षता राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्ने निश्चित देखिएको छ।

राजपाका अर्का अध्यक्ष महेन्द्र यादवको उमेर ठाकुरको भन्दा बढी भए पनि पहिलाझै यस पटकको अध्यक्षता ठाकुरले गर्नेछन्।

पहिलो दिनको बैठकमा यादव अनुपस्थित भइ दिएपछि प्रतिनिधिसभामा ठाकुर सबैभन्दा ज्येष्ठ सदस्य हुनेछन्। सभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने संवैधानिक र प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ।

प्रकाशित मिति: : 2019-12-12 14:30:26

प्रतिकृया दिनुहोस्