युवासंघ अध्यक्ष दीपशिखाको कटाक्ष : यौन मनपर्छ भन्दैमा सन्नी लियोनको भिडियो शेयर गर्नुहुन्छ?

तस्बिर: बिएल

पूर्वमाओवादी र एमालेको एकीकरणपछि दुई तिहाईको सरकार बनिसक्दा पनि दुवै पक्षबीच छेँडछाड र घोँचपेच भइरहेको देख्न सकिन्छ। गंगा बिसीको कान्तिपुरमा प्रकाशित लेखलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शेयर गरेपछि युवासंघ प्रमुख दीपशिखा र प्रचार विभागका उपप्रमुख समेत रहेका सूर्य थापाबीच फेसबुकमा जुहारी चलिरहेको देख्न सकिन्छ।

११ डिसेम्बरको झरीमा स्विसको कुटनीतिक शहर जेनेभामा भेटिएका दीपशिखाले थापासँगको वादविवादलाई लिएर बिएल नेपाली सेवासँग भने, 'मैले उहाँका विरुद्ध केही भनेकै छैन। मैले त प्रचार विभाग उपप्रमुख र प्रधानमन्त्रीको सल्लाहकार भैसकेका व्यक्ति बोल्दा विचार गरेर बोल्नुस् मात्र भनेको हुँ। आफ्नै दलको अध्यक्षका विरुद्ध लेखिएका भ्रामक लेखहरु शेयर गरेर अनुशासन उल्लंघन नगर्नुस् भनेको हुँ।'

उनी साइप्रसमा भएको युवाहरुको विश्व सम्मेलन सकेर अनौपचारिक भ्रमणमा जेनेभा आएका थिए। एकीकृत भएर एकैठाउँ आइसकेपछि पुराना कुरा कोट्याएर कसैलाई फाइदानहुने उनकाे भनाई थियाे। 'गल्ति ठम्याउँनु नेपाल कम्युनिष्ट पार्टीको वफादार कार्यकर्ताको दायित्व हो भन्ने लाग्छ मलाई। कुरा यत्ति हो,' उनले भने।

आफूलाई मन परेका लेख अरुले पनि पढुन् भनेर शेयर गर्न त पाइएला नि? भन्ने प्रश्नमा हाँस्दै भने, 'म तपाईलाई यौटा कुरा सोध्न चाहन्छु। प्रकृतिको नियम हो यौन। यौन सबैलाई आवश्यक र मनपर्ने कुरा हो। के यौन मनपर्छ भन्दैमा जिम्मेवार मानिसले सन्नी लियोनका भिडियो शेयर गर्छन्? यसो गर्न मिल्छ? त्यस्ताे गर्न व्यक्तिको नैतिकताले दिन्छ?'

उनी भन्दै थिए– 'हरेक क्षेत्रमा अनुशासन आवश्क पर्छ । अनुशासन सबैले पालन गरे मात्र सँगठन चल्छ।'

नेतृत्व तहमा समस्या नरहेको र केही व्यक्तिमा समस्या रहेको र यसले एकतालाई केही असर नगर्ने उनकाे भनाई थियाे। 

उनले केही मानिस दूतावासको रकम खाएर विकास र समृद्धिका पक्षधर देखिएझैँ गरि सरकारविरुद्ध लेखिरहेकाे बताए।

'कर्मचारीतन्त्र भ्रष्ट र निकम्मा छ। यस्तो अवस्थामा काम गर्न बडो गाह्रो छ। भर्खरै कृषि मन्त्री चक्रपाणि खनाल र श्रम मन्त्री गोकर्ण विष्टलाई राम्रो काम गरे बापत दलालहरुले हटाएरै छाडे। अरुलाई काम नगरेको भएर हटाइयो, यी दुईजनालाई काम गरेको भएर हटाइयो। मैले सबै घटनालाई नजिकबाट हेरिरहेको छु,' उनले भने।

उनले आफ्नै उदाहरण दिँदै भने– 'मैले आत्मनिर्भर हुन कुखुरापालन गरेको छु। लोकल तीनसय कुखुरा पालन गरेको छु। मैले राम्रोसँग बजारमा बेच्न पाउने वातावरण नै छैन। बीचमा दलालले फाइदा लिन्छन्। कालिमाटीको दूर्दशा हेर्नुस्। किसानले फाइदा पाएको हुन्न, ग्राहकले महंगोमा किन्नुपर्ने हुन्छ। बीचमा दलालहरु मोटाएका हुन्छन्। सरकारले किसानको उत्पादन किनिदिने र ग्राहकले सस्तोमा पाउने वातावरण मिलाउने हो भने भारतबाट आयात कम हुन्छ। हामी आत्मनिर्भर हुन्छौँ।'

किसानलाई अनुदानको नाममा बाँडिएको रकम पनि दलाल र कर्मचारीतन्त्रले खाइरहेका उनले बताए। 'यो अन्त्य हुनुपर्छ भनेर हामीले प्रष्ट भन्यौं। कमरेड बलदेवले पनि त्यही गर्नुभयो। भारतबाट आउने प्याकेट दूध रोकियो । अन्य उत्पादनमा कडाइ गरियो। दलालहरु सलबलाएर र उहाँलाई हटाए। गोकर्ण विष्टको हकमा पनि भएको त्यही हो।'

के गर्ने त उसो भए? बिएल नेपाली सेवाकाे प्रश्नमा उनले जवाफ दिए, 'सबै कुरामा होइन । राष्ट्रिय गौरवको आयोजनामा संकटकाल लागू गर्नुपर्छ। मेलम्ची सफल नहुनुको कारण पनि अनावश्यक व्यवधान हो। सभा,जुलुस,हड्ताल, विरोध केही गर्न नपाइने गरि संकटकाल लगाएर फटाफट काम नगर्दासम्म समृद्धि आउनेवाला छैन। सबैतिर विरोधै विरोध गर्ने मनोवृत्ति छ। त्यही मानसिकतामा टेकेर दलाल र कर्मचारीतन्त्र मोटाउने काम भैरहेको छ।'

 

प्रकाशित मिति: : 2019-12-12 16:19:22

प्रतिकृया दिनुहोस्