नागरिकता वितरणसम्वन्धी प्रावधानहरु अझैपनि त्रुटीपूर्ण छ: शर्मा

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष अनुपराज शर्माले नागरिकता वितरणसम्वन्धी प्रावधानहरु अझैपनि त्रुटीपूर्ण रहेको बताएका छन्।

आइतबार राष्ट्रिय महिला आयोगले काठमाडौंमा आयोजना गरेको राज्यविहिनता विरुद्ध अन्तराष्ट्रिय कानुनहरुको नेपाली अनुवादित संगालो विमोचन गर्दै शर्माले समयसापेक्ष नागरिकता वितरणसम्वन्धी प्रावधानहरुलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिए।

उनले संविधानमा नागरिकता सम्बन्धी प्रावधानहरु जस्तोसुकै भए पनि आमाको नामबाट नागरिकता लिन सक्ने अवस्था अझै पनि नरहेको दाबी गरे। अध्यक्ष शर्माले नागरिकता सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई स्पष्ट रुपमा सुचित गर्नु पर्ने सुझाव दिए। राज्यले नै महिला र पुरुषलाई भेदभावको दृष्टिले हेर्ने गरेको अध्यक्ष शर्माले टिप्पणी समेत गरे।

विमोचन गरिएको संग्रहमा संयुक्त राष्ट्रसंघको साधारणसभामा अनुमोदन गरिएको मानवअधिकार आयोग सम्बन्धी विश्वव्यापी घोषणा र आधारभूत अधिकारसम्बन्धी विषय समेटिएको जनाइएको छ।  

प्रकाशित मिति: : 2019-12-30 04:37:05

प्रतिकृया दिनुहोस्