कांग्रेसका सांसदहरु भने—उखु किसानहरुको समर्थनमा माइतीघर जान नपरोस्

बिएल संवाददाता

काठमाडाै‌ं

उखु किसानको आन्दोलनमा सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन्। सरकारले बेवास्ता गरिरहे उखु किसानको आन्दोलनमा सहभागी हुने चेतावनी समेत उनीहरुले दिए।

राष्ट्रिसभाको बुधबारको बैठकमा बोल्दै सांसद प्रकाश पन्थले उखु किसानको समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरे। सरकारको नीति किसानमारा देखिएको टिप्पणी गर्दै उनले भने, ‘कहिले दूध पोख्नुपरेको छ, कहिले तरकारी बारीमा डोजर लगाउनु परेको छ। उखु किसानहरुले भुक्तानी पाउन सकेका छैनन्। उखु किसानहरुको समर्थनमा माइतीघर जान नपरोस्। ’

अर्का सांसद शेरबहादुर कुँवरले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा शीर्ष नेता र मन्त्रीहरुको फरक–फरक धारणा आइरहेको भन्दै आधिकारिक धारणा ल्याउन माग गरे। ‘शीर्ष नेताहरुले एमसीसी इण्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भने पारित हुँदैन भन्नुहुन्छ, मन्त्रीले पारित हुन्छ–हुन्छ भन्नुहुन्छ। त्यसलाई स्वीकार गर्ने की नगर्ने भन्ने सरकारले स्पष्ट भन्नुपर्छ। ’

राष्ट्रियसभाका अर्का सदस्य रमेश प्रसाद यादवले उखु किसानहरुलाई भुक्तानी दिलाउन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम तत्काल सुरु गर्न माग गरे।
 

प्रकाशित मिति: : 2020-01-02 04:20:57

प्रतिकृया दिनुहोस्