कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भयाे: सांसद

सांसदहरुले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गएको भए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती कार्यक्रम सम्पन्न हुन नसकेको बताए। कर्मचारीको अभावमा ग्रामीण क्षेत्रका विकास निर्माण ठप्प भएको र तत्काल कर्मचारी पठाउन सरकारलाई आग्रह गरे।  

नेकपाका युटोल तामाङ सीमान्तकृत समुदायको राज्यका निकायमा प्रतिनिधित्वका लागि गरिएको आरक्षणको व्यवस्था संविधानमै लेखिएको भएपनि व्यवहारतः कार्यान्वयनमा आउन नसकेको र वर्तमान सरकारले पनि समावेशितालाई स्वीकार गर्न कञ्जुस्याइँ गरेको बताए। नेकपाका नन्दा चपाईंले राजधानीको यातायात चाप व्यवस्थापन गर्नेतर्फ सरकारले बेलैमा सोच्नुपर्ने बताए। आफू ट्याक्सी चढ्दा ठगिएको गुनासो गर्दै उनले ट्याक्सी चालकको ठगीका कारण जनता मारमा परेको बताए।

बैठकमा पाँच संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ।  प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले लोकसेवा आयोगको ६०औँ वार्षिक प्रतिवेदन २०७५/०७६, थारु आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७५/०७६ सभामा पेश गरे।  

 यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट ठगेन्द्रप्रकाश पुरीले ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गरेका थिए। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा खतिवडाले पेश गरेको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृति गरेको छ। राष्ट्रियसभाको अर्को बैठक यही पुस १७ गते अपराह्न १ बजे बस्नेछ।
 

प्रकाशित मिति: : 2020-01-02 11:03:30

प्रतिकृया दिनुहोस्