राष्ट्रियसभा निर्वाचन

प्रदेश २ मा पाँच दलीय गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित

कमल प्रभात

काठमाडौं

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ का दुई सिटमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी एमालेबीचमा प्रतिस्पर्धा हुँदैछ। तर मतभारको आधारमा सत्तारुढ पाँचदलीय गठबन्धनको जीत सुनिश्चित छ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाले प्रदेश २ मा साझा उम्मेदवार उठाएका छन्।

प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादीको छुटाछुटै उम्मेदवारी परेको छ। प्रदेश २ महिलातर्फ माओवादी केन्द्रबाट उर्मिला अर्याल, लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपाकुमारी यादव र एमालेबाट विना देवीको उम्मेदवारी परेको छ।

यस्तै अन्यमा समूह तर्फमा जसपाबाट महमद खालिद र एमालेबाट उसमान अंसारीको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारहरु प्रचारप्रसार गर्दै मतदातासंग मत मागिरहेका छन्।

प्रदेश २ मा पाँच दलीय गठबन्धन एकतर्फ छ भने एमाले र लोसपाले छुटाछुटै उम्मेदवारी दर्ता गराएका छन्। एमाले र लोसपाबीच गठबन्धन बन्न नसक्दा छुटाछुटै उम्मेदवारी दर्ता भएको हो।

निर्वाचन आयोगका अनुसार देशैभरीबाट १९ सिटका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। माघ १२ गते हुने निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानूनी व्यवस्था छ।

कसको मतभार कति ?

प्रदेश २ मा पाँच दलीय गठबन्धनको मतभार बढी छ। प्रदेश २ मा १०४ जना सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ६९ रहेका छन्। सांसदको मतभार ४८ हो भने प्रमुख र उपप्रमुखको मतभार १८ हो। जसको जम्मा मतभार ९ हजार ८७० हुन्छ।

प्रदेश २ मा पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको मतभार ७ हजार ३०२ हुन्छ। यस आधारमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्न एमालेलाई सम्भव छैन। एमाले र लोसपा मिल्दा समेत पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सक्दैनन्।

प्रदेश २ मा जसपाको सांसद संख्या ३९ छ भने प्रमुख उपप्रमुखको संख्या ६२ हो। जसको जम्मा मतभार २९ सय ८८ हुन्छ। यस्तै कांग्रेसको सांसद संख्या १९ र प्रमुख उपप्रमुखको संख्या ७५ हो। जसको मतभार २२ सय ६२ हुन्छ।

माओवादी केन्द्रको प्रदेश २ मा सांसद संख्या ८ र प्रमुख, उपप्रमुखको संख्या ४५ हो। जसको मतभार ११ सय ९४ हुन्छ। यस्तै एकीकृत समाजवादीको सांसद संख्या १३ र प्रमुख उपप्रमुखको संख्या ७ हो। जसको मतभार ७ सय ५० हुन्छ।

एमालेको सांसद संख्या ८, प्रमुख र उपप्रमुखको संख्या ३० हो। जसको मतभार ९ सय २४ हुन्छ। यसैगरी लोसपाको सांसद संख्या १६, प्रमुख र उपप्रमुखको संख्या ४४ हो। जसको मतभार १५ सय ६० हुन्छ।

प्रदेश २ मा नेपाल संघीय समाजवादीको सांसद एक हो। उसको मतभार ४८ हुन्छ। यस्तै नेपाली जनता दलको प्रमुख र उपप्रमुख २ छ। उसको मतभार ३६ हुन्छ।

यस्तै तत्कालिन लोकतान्त्रिक फोरमको स्थानीय तहमा प्रमुख र उपप्रमुखको संख्या ६ हो। जसको मतभार १ सय ८ हुन्छ। विजय गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरम कांग्रेससंग एकीकरण गरिसकेकाले ती प्रमुख र उपप्रमुख पनि कांग्रेसमा गईसकेका छन्।

प्रकाशित मिति: : 2022-01-11 17:25:00

प्रतिकृया दिनुहोस्