सर्लाहीको अन्नपूर्ण सुगर मिलले ५० लाख रुपैयाँ किसानकाे खातामा पठायाे

उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण सुगर मिल राजी भएको छ। उद्योग मन्त्रालयले पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी सम्पर्कमा ल्याईदिन गरेको पत्राचारपछि शुक्रबार मिल सञ्चालक राकेश कुमार मन्त्रालय आएर लिखित प्रतिबद्धता जनाएका हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक अग्रवालले किसानकाे बक्याैंता रकम तिर्न लिखित प्रतिबद्धता जनाएकाे मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिए।

अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए। उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छन्।

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएका छन्। किसान प्रतिनिधिले अन्नपूर्ण सुगर मिलको वक्यौता ४० करोड रहेको दावी गरे पनि उद्योगीले भने २५/२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए।

यसअघि रौतहटको श्रीराम सुगर मिलले उखु किसानकाे बक्याैंता रहेकाे ४२ करोड रुपैयाँ भुक्तानी गर्न सहमति जनाएकाे छ।  विगत ५ वर्षदेखि तिर्न बाँकी रकम छिटाे भन्दा छिटाे तिर्दै जाने सहमति भएकाे उखु उत्पादक संघका काेषाध्यक्ष मनाेज सहनीले बिएल नेपाली सेवालाई जानकारी गराए।

उखु किसानहरु आफूले पाउनु पर्ने रकम ब्यापारीले नदिएकाे भन्दै विगत ११ दिनदेखि काठमाडाैंमा धर्नामा थिए। उनीहरुले विभिन्न राजनीतिक दलका नेताहरुलाई दुई महिना अघि नै ज्ञापन पत्र बुझाएका थिए। तर कतैबाट सुनुवाई नभएपछि उनीहरु काठमाडाैंमा धर्ना दिन आएका थिए।  

यता महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ, नवलपरासीका बागमती, लुम्बिनी तथा इन्दिरा सुगर मिलले ७ करोडको दरले २१ करोड रुपैयाँ अझै उखु किसानलाई भुक्तानी गर्न बाँकी छ। 

 


 

प्रकाशित मिति: : 2020-01-04 05:36:54

प्रतिकृया दिनुहोस्