जनरल कासिम सुलेमानीको हत्याः कतै तेस्रो विश्वयुद्वको संकेत त होइन?

लक्ष्मण देवकोटा

युरोप ब्यूरो, जेनेभा

अमेरिकाको कट्टर दूश्मनको रुपमा चिनिएको इरानका धार्मिक नेता आयोतुल्लाह खोमेनीपछिका सबैभन्दा शक्तिशाली जनरल कासिम सुलेमानीलाई इराकको राजधानी बगदाद विमानस्थलमा अमेरिकी ड्रोन हमला गरेर हत्या गरिएको छ।

उनीसँगै इरान समर्थित इराकी सशस्त्र समूहका नेता अबु महदीसहित सुलेमानीका सहयोगी पनि मारिएका छन्।

अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पको ठाडो निर्देशनमा इरानी जनताको नजरमा हिरो मानिएका जनरल सुलेमानीको हत्या गरिएपछि इरान तातेको छ।

राष्ट्रपति हसन रूहानीले हत्यारासँग ठूलो बदला लिइने बताएका छन्। लाखौं जनता यतिबेला सुलेमानीको तस्विर लिएर अमेरिकाको विरोध गर्दै सडकमा उत्रिएका छन्।

इरानमा अमेरिकीसँग बदला लिइने ज्वाला उठेसँगै पश्चिममा संशय फैलिएको छ, कतै इरानले बदला लिएसँगै तेस्रो विश्वयुद्वको शुरुवात हुने त होइन?

को हुन् जनरल सुलेमानी?

इरानको दक्षिणपश्चिम प्रान्त किरमानको एउटा गरिब परिवारमा जन्मिएका ६२ वर्षीय सुलेमानी गरिबीको कारण सानै उमेरमा शहर पस्न बाध्य भएका थिए।

किरमानको शहरमा उनी मजदूरी गर्थे। फुर्सदमा ब्यायाम र धार्मिक नेता खुमेनीका भाषणहरू सुन्थे। सन् १९७९ मा इरानका राजा रेजा पल्लवीलाई सत्ताच्यूत गर्ने धार्मिक जेहाद छेडियो, उनी पनि धार्मिक सेनामा प्रवेश गरे।

छोटो समयमै उनले सैन्य क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै गए। इराकसँगको युद्वका बेला सिमानामा उनले लडेको लडाइँका लागि उनी असाध्यै लोकप्रिय भएका थिए।

त्यसपछिका पटक पटकका युद्वमा उनको नेतृत्वमा इरानले विजय हासिल गर्दै गयो। पछिल्लो समय उनको नेतृत्वमा रहेको विदेशी भूमीमा इरानी सेनाको भूमिका निर्वाह गर्ने कुड्स फोर्सको जनरलको रुपमा सिरिया, लेबनान र प्यालेष्टाइनको हमास लगायत इराकभित्र उनको रणनीति सफल हुँदै गएको थियो।

सिरियामा बसर अल असदको सत्ता टिकाउन उनले लडेका लडाइँ र इस्लामिक स्टेटलाई पराजय गर्न उनले एकीकृत गरेका सशस्त्र समूहकै कारण उनको योजना सफल भएको थियो।

इरानमा परराष्ट्रमन्त्री भए पनि परराष्ट्रको खास हर्ताकर्ता सर्वोच्च नेता खुमेनीका दाहिने हात यिनै सुलेमानी थिए।

अमेरिकाको लागि आतककारी

इरानी जनताको नजरमा हिरोको रूपमा चिनिएका सुलेमानी सर्वोच्च नेता खुमेनीका विश्वास पात्र हुँदाहुँदै पनि अमेरिकी सत्ता र अमेरिका समर्थित साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स जस्ता देशहरुका निम्ति आतंककारी ठहरिएका थिए।

यसको कारण उनको रणकुशलता र उनकै नेतृत्वमा मध्यपूर्वमा बढिरहेको इरानी प्रभाव मुख्य कारण थियो ।

यसअघि पनि सिआइएले धेरैपटक सुलेमानीलाई मार्ने प्रयास गरेको थियो। गएको मंगलबार बगदादमा रहेको अमेरिकी दूतावासमा जब इरान समर्थित मिलिसियाहरुले आक्रमण गरेर आगो लगाइदिए, अमेरिकी प्रशासन सुलेमानीको हत्या कुनै पनि हालतमा गर्ने निर्णयमा पुग्यो।

अमेरिकी विदेश मन्त्रालयले पनि राष्ट्रपति ट्रम्पको निर्देशनमा सुलेमानीको हत्या गरेको बताइसकेको छ।

स्वयं राष्ट्रपति ट्रम्पले सुलेमानी मारिएपछि अमेरिकी झण्डा ट्वीट गरेका थिए। डेमोक्रेट्सले डरलाग्दो परिस्थिति निम्त्याउने ट्रम्पको यो हत्या गर्न सिनेटले अनुमति नदिएको बताउँदै ट्रम्पको यो सैन्य कारबाहीले इरानबाटै अर्को खतरनाक सैन्य द्वन्द्व निम्तनसक्ने बताएका छन्।

तर ट्रम्प भने सुलेमानीको हत्या युद्वको शुरुवातको नभइ अन्त्यको निम्ति भएको बताएका छन्।

यता इरान भने यत्तिकै थामिने अवस्थामा छैन। इरानले उसका सहयोगीहरू साउदी अरब, इजरायललगायतका मुलुकमा पहिलो हमला गर्न सक्ने अनुमान गरेर बसेका छन् अमेरिकीहरू।

तत्कालै इरानले आफूले बेच्ने तेल रोकिदिए पनि विकल्प रहेको भन्दै अमेरिका ढुक्क देखिन्छ।

इरानी आक्रोशको पहिलो निशाना को हुने हो भन्ने कुराले नै इरानबाट तेस्रो विश्वयुद्वको थालनी होला/नहोला भन्ने उसको पहिलो कदमपछि नै प्रष्ट हुनेछ।

प्रकाशित मिति: : 2020-01-04 21:49:07

प्रतिकृया दिनुहोस्