अमेरिकी राष्ट्रपति ट्रम्पमाथि संसदको तल्लो सदनको अंकुश

माथिल्लो सदनमा पारित भए भिट्टोको विकल्प

प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका
अब के गर्ने ? सोचमग्न राष्ट्रपति ट्रम्प । तस्बिर: एजेन्सी

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले इरान सम्बन्धमा एक प्रस्ताव पारित गर्दै राष्ट्रपति ट्रम्पमाथि अंकुश लगाउने प्रयास गरेको छ । 

प्रस्तावअनुसार इरानमाथि कुनै पनि किसिमको आक्रमण गर्नु पहिले राष्ट्रपतिले संसदको अनुमोदन प्राप्त गर्नुपर्ने हुन्छ। 

प्रस्ताव १९४ मतका विरूद्ध २२४ मतको बहुमतले पारित भएको हो। अधिकांश सांसदले पार्टी लाइनअनुसार नै मतदान गरे पनि दुबै पार्टीका केही सांसदले फ्लोर क्रस गरेका थिए।

४३५ सदस्यीय अमेरिकी संसदको तल्लो सदनमा अहिले २३२ डेमोक्रेट, १९८ रिपब्लिकन र एक निर्दलीय सांसद रहेका छन्। 

संसदको तल्लो सदनमा पारित भएको प्रस्ताव संसदको माथिल्लो सदन सिनेटमा जानेछ। रिपब्लिकनहरूको बहुमत रहेको सिनेटमा पनि यो प्रस्ताव पारित भए अन्तिम निर्णयका लागि राष्ट्रपतिकोमा पुग्ने छ। 

सिनेटमा रिपब्लिकनको बहुमत रहे पनि २०२० को चुनावमा उम्मेद्वारी दिएका सिनेटरहरू आफ्नो निर्वाचन क्षेत्रको चुनावी अंकगणितलाई हेरेर यताउता हुने सम्भावना देखिएको छ। 

अमेरिकामा यतिबेला राज्यका दुई अंग कार्यकारी र व्यवस्थापिकाबीच प्रतिष्ठाको लडाईं जारी छ । धेरैले यसलाई त्यही लडाईंको एक हिस्साका रूपमा लिएका छन्। 

पछिल्लो समय अमेरिकी जनता युद्ध नचाहेको जस्तो देखिएकाले सिनेटमा पनि यो प्रस्ताव पारित हुने सम्भावना देखिन्छ। त्यस्तो भयो भने राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको अर्को भिटो प्रयोग गेरर यसलाई असफल बनाउन सक्ने अनुमान गरिएको छ। 

अमेरिकामा यतिबेला राज्यका दुई अंग कार्यकारी र व्यवस्थापिकाबीच प्रतिष्ठाको लडाईं जारी छ । धेरैले यसलाई त्यही लडाईंको एक हिस्साका रूपमा लिएका छन्। 

इरानमाथि गरिएको आक्रमणलाई जायज बताउन राष्ट्रपति ट्रम्प र उनका जनरलहरू लागे पनि अमेरिकी जनमत त्यसलाई त्यति विश्वास गर्ने मुडमा देखिएको छैन। राष्ट्रपति ट्रम्पले जनरल सुलेमानी बगदादस्थित अमेरिकी दूताबास हान्न पुगेको बताएर उनलाई मारिदिएको दाबी गर्दै आए पनि अमेरिकी जनता यसलाई त्यति सजिलै पत्याइरहेका  छैनन् देखिएको छ। 

यसअघि नै झुट र बढाइचढाइको 'फ्याक्ट चेक'मा चिप्लिदै आएका ट्रम्पलाई विश्वसनीयता कमाउन गाह्रो भैरहेको राजनीतिक विश्लेषण भएको छ। 

 

प्रकाशित मिति: : 2020-01-10 19:45:46

प्रतिकृया दिनुहोस्