निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा गर्छौं: मन्त्री

रासस

कञ्चनपुर

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छिन्।
 
शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका लागि सरकार प्रयत्नशील रहेको बताए।

सडक, स्वास्थ्य, शिक्षामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गरिने बताइन्। ‘जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील छौं’, उनले भनिन्, ‘यसका लागि काम अगाडि बढाइएका छन्।’

यसैबीच मन्त्री मगरले आज भीमदत्त नगरपालिका– ८ मा रु २८ करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको शिलान्यास गरेकी छिन्। सो अवसरमा उनले सबै नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराउने सरकारको दायित्व भएको बताइन्।

प्रकाशित मिति: : 2020-01-11 11:00:06

प्रतिकृया दिनुहोस्