तमाम मदभेदका बाबजुद नेपाली कांग्रेसका पुराना नेताहरूले प्रजातन्त्र र जनताका लागि पार्टी जोगाउँदै नेतृत्वलाई विश्वास र आस्थाको पुँजीका रुपमा स्थापित गराएका थिए। कांग्रेसको स्थापनाकाल देखि नै थुप्रै सक्षम पात्रहरू संगठनमा लागेका थिए। नेतृत्वसँगै संगठनलाई अघि बढाउने पात्र रोज्न संस्थापकहरूमा वैमनश्यता भएन्। तर असहमति र छलफल व्यापक भएका थुप्रै दृष्टान्त छन््।
प्रतिष्पर्धा र सर्वसम्मत दुवै प्रक्रियाबाट अत्यन्तै लोकतान्त्रिक ढंगले कांग्रेसमा नेतृत्व चयन हुँदै आएका छन््। बेलावखत (उतिबेलाको) दरबार कांग्रेसभित्र हावी हुन्थ्यो। तर पनि व्यवस्थापनमा कुशलता झल्किन्थ्यो। त्यसका लागि पटक-पटक कार्यवाहक सभापति पदले न्याय गर्दथ्यो। कांग्रेसको स्कुल अफ थट्स अनुसार नै नेतृत्वको व्यवहार लोकतान्त्रिक हुन्थ्यो। तर ०४६ सालयता कांग्रेसभित्र थुप्रै विचलनहरू आए। कांग्रेस जन स्तरमा उँधो गति लाग्यो। परिणाम कांग्रेसमा नेताहरू बलिया त भए तर, व्यवस्था कम्जोर भएर आयो। कांग्रेसको संगठन विधि र प्रक्रिया निर्देशितभन्दा पनि पात्र निर्देशित हुने क्रम बढ्दै आयो।
कांग्रेसभित्र यतिबेला अर्को महाधिवेशन निर्धारित अवधिमा नै हुन्छ वा हुँदैन भन्ने आशंका र आरोप प्रत्यारोप बढेको अवस्था छ। एउटा लोकतान्त्रिक पार्टीभित्र यो अवस्था आउनु नै सबैभन्दा ठूलो विचलन हो। तर फेरी समकालिन अन्य दलहरूमा पनि उस्तै विचलन छ।
अहिलेको कांग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुर्वण समशेर खोज्ने अवस्था रहेन। न त गिरिजाप्रसाद कोइराला वा सुशील कोइरला भेटिनेछन्। अब भेटिने भनेको उनिहरूबाटै दीक्षित मानिनेहरूमध्ये बढी लोकतान्त्रिक को भन्ने मात्रै हो। कांग्रेसको मौजुदा आचरणमा सिद्धान्तको ठूलो खडेरी छ। त्यति हुँदा हुँदै पनि कांग्रेसलाई बदलिंदो परिवेशमा सहि मार्गमा डोर्याउने पात्रको खोजी भने पक्कै हुनुपर्ने हो।
प्रश्न अब उठ्छ त्यस्तो पात्र को हुने छ त? जवाफ उति सहज छैन। रअर्को विषय यहाँ जोडिन्छ। रााजनीतिक दल सत्ता केन्द्रीत हुनु उति आश्चर्यजनक होईन्। तर सत्ता मात्रै केन्द्रीत हुनु पनि स्वभाविक मानिदैन। फिलहाल कांग्रेस केवल सत्ता केन्द्रीत देखिन्छ। यो कांग्रेस र व्यवस्था दुवैका लागि घातक हो। चुनावी परिणाम अनुसार पहिलो दल र दोस्रो दल मिलेर सरकार बनाउनु संसदीय अभ्यासमा उति प्राकृतिक पनि मानिदैन।
नेकपा एमाले र कांग्रेसको सहकार्य ‘नखाउँ भने दिनभरीको शिकार खाउँ भने…’ जस्तै भएको देखिन्छ। एमालेसँगको सत्ता साझेदारीमा कांग्रेसकै ठूलो तप्का असन्तुष्ट देखिन्छ। तर पनि कांग्रेसभित्र सत्ता सहकार्यको विकल्प कसैले खोज्न नसक्ने अवस्थामा देखिन्छन्। त्यसका थुप्रै पक्ष र कारण छन््। तिमध्ये पार्टी सभापति शेरबहादुर देउवा आफूलाई वेटिङ पीएम मानेर चुपचाप बस्नु मुख्य कारण छ। सरकारमा भएका आफ्ना एकजना मन्त्री वर्खास्त हुँदासमेत कांग्रेस जवाफ खोज्न नसक्ने अवस्थामा रहनु स्वभाविक लाग्दैन। के यो सत्ता समिकरण सहज अवस्थामा रहेको छ त? एमालेबाट किस्तीमा पीएम पद पाउने आशा नै हो कि कारण अरु पनि हुन? यी विषयमा व्यापक छलफल जरुरी छ।
आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्धमा रहेका पार्टी सभापति देउवाका अघिल्तिर आफ्नो सुखद विदाईको अवसर खोज्नु स्वभाविक हो। तर त्यसकै वहानामा पार्टीलाई सत्ताको खेलमा सीमित गराईनु स्वभाविक मान्न सकिंदैन।
नेपाली कांग्रेसमा अब को त?
मुल रुपमा कांग्रेसमा अब को भन्ने सवालले त्यतिबेला सार्थकता पाउने छ जतिबेला कांग्रेसभित्र पूर्ण रुपमा उसको आफ्नै विधान लागु हुनेछ। अनि मात्रै नेतृत्व, पदाधिकारी र संगठन पुर्ण रुपमा लोकतान्त्रिक मानिने छ। कांग्रेसमा सबैभन्दा चर्चा हुने र छलफल हुने भनेको सभापति को हुने भन्ने नै देखिन्छ। विधि, प्रक्रिया, सिद्धान्त, रणनीति, कार्य योजना लगायतका अन्य विषय गौण भइदिन्छन्।
त्यसो भए आउँदो महाधिवेशनमा नेतृत्वमा को आउला भन्ने विषमा नै धेरैको चासो हो। यदी त्यही कोणबाट चर्चा गर्ने हो भने कांग्रेसमा सभापति चुनिन ५० प्रतिशत महाधिवेशन प्रतिनिधिको मत पाउने व्यक्ति नै सभापति हुनेछन मात्रै भन्न सकिन्छ। पात्र वा नाम केवल महाधिवेशनका खेलाडी हुन्। कांग्रेसभित्र महाधिवेशनको मैदान तय भएको छैन। कतिपय रक्षात्मक पक्तिंमा छन् भने कतिपय आक्रामक देखिन्छन्।
त्यसले नै कांग्रेसभित्रको गुटको राजनीतिलाई टेवा दिइरहेको देखिन्छ। यदि महाधिवेशन चाहने पक्ष हावी भयो भने डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै इतर पक्ष आगामी नेतृत्व र पदाधिकारीमा स्थापित हुने सम्भावना बढी देखिन्छ। यदी त्यसो नभएर महाधिवेशन धकेलिएर निर्धारित अवधिभन्दा पर पुग्यो भने इतर पक्षभन्दा संस्थापन पक्ष हावी हुन सक्ने सम्भावना बढ्न जाने देखिन्छ।
त्यसका कारणहरू थुप्रै छन्। तिमध्ये पार्टीमा आगामी निर्वाचनमा वितरण हुने विभिन्न तहका उम्मेद्वारको टिकट र अवसरको अपेक्षाको प्रभाव हुनेछ। त्यसका अलावा कांग्रेसभित्रको सक्रिय सदस्यता नविकरण र नयाँ सदस्यता वितरणमासमेत अत्याधिक चलखेल देखिनेछ। कारण केन्द्रीय नेतृत्व चयन हुन तल्लो तहबाटै चुनिएर जाने प्रावधानमा प्रभाव पर्ने देखिन्छ।
कांग्रेसमा संस्थापन र इतर उल्झन
लामो अवधि आफ्नै पार्टीमा विपक्षीको भूमिका अदा गरेका देउवा पार्टीमा असन्तुष्ट समुहको नेतृत्व गरेर सफल भएका पात्र हुन। त्यसका लागि उनको धैर्यता र चातुर्यता बखान गर्न लायक नै हो। तर यतिबेलाको कांग्रेसमा संस्थापन पक्षभित्रको आपसी अविश्वास र कटुताले अब त्यो स्तरको स्थायीत्व संस्थापन रहने छैन। उता कांग्रेसको इतर पक्ष भनिने समुहमासमेत नेतृत्वमा पुग्ने चाहना लगायतका अन्य कारणहरूले समुह निरन्तरतामा सहजता छैन।
कांग्रेसमा मूल पात्र को बन्ने भन्ने ठूलो रस्साकस्सीले कांग्रेसको आसन्न महाधिवेशनको स्वरुप र मितिलाई दखल दिने अवस्थासमेत देखिन्छ।
संस्थापन मानिएकाहरूमध्ये पूर्णबहादुर खड्का र डा. आरजु राणा देउवा वरिपरी समुह घुम्ने देखिन्छ। त्यसैगरी इतरतर्फ डा. शेखर कोइराला र गगन थापाको सेरोफेरोमा समुहको उल्झन छ। अर्को एउटा प्रकृति खडा हुने सम्भावना भनेको डा. शंशाक कोइराला र कृष्णप्रसाद सिटौलाको प्रयासले पनि कांग्रेसभित्रका गुटमा असर पर्ने देखिन्छ। साथै बहिर्गमित हुने सभापति देउवाले कस्तो रणनीति बनाउने छन् भन्ने विषयलेसमेत अर्थ राख्नेछ। अब प्रकाशमान सिंह र विमलेन्द्र निधि जस्ता पात्रहरू बर्गेनिङका पात्रको मानक लिएर अस्तित्वका लागि थोरबहुत परिदृश्यमा सीमित रहने सम्भावना रहला नै।
संस्थापन पक्षका उपसभापति रहेका खड्का र महामन्त्री थापाको अवस्था करिव करिव उस्तै प्रकृतिमा रहेको देखिन्छ। दुवैलाई आफ्नै समुहले कति विश्वास गर्ला भन्ने समस्या छ। अर्कातर्फ डा. शेखर कोइराला र देउवाको साथ लिन सक्ने अदृश्य पात्रबीच प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ। भलै देउवाको पूर्ण समर्थन जुटाउने पात्र कति छिटो वा ढिला महाधिवेशनको मैदानमा देखिएलान् बेग्लै विषय हो। ती पात्र जो कोही पनि हुन सक्लान्। त्यो पात्र महाधिवेशनको दोस्रो चरण सम्म मात्रै डिक्लेर हुन सक्ने अवस्था पनि आउला।
सुशील कोइरालाको अवसानसँगै रामचन्द्र पौडेलले (हाल राष्ट्रपति) संस्थापन पक्ष थेग्न र सम्हालेर अघि बढाउन नसकेको अवस्था झैं के अब अहिलेको संस्थापन पक्षले पनि त्यही अवस्था व्यहोर्नु पर्ने त होइन? यो प्रश्नले संस्थापन पक्षलाई त्रासमा राखेको बुझिन्छ।
कांग्रेसभित्रको समकालिन पात्रहरूको गतिविधि, लोकप्रयिता र सहज उपलब्धता जस्ता केही लोकतान्त्रिक व्यवहार जस्ता मानकलाई आधार मान्ने हो भने डा.शेखर कोइराला कांग्रेसको भावी नेतृत्वका लागि सुहाउँदा पात्रका रुपमा उदाएका छन्। तर नेतृत्वमा स्थापित हुन कांग्रेसभित्रका विभिन्न समीकरणले समेत काम गर्ने विगत छ। त्यसमाथि डा.शेखर कोइराला वा अन्य कोही पात्र पुग्लान्? यसै भन्न सकिन्न। तर बेला भएको छ कि कांग्रेसलाई विधिसम्मत,पार्टीको मर्म र विधान संवत सञ्चालन गर्न सक्ने नेतृत्व आवश्यक छ।
यति भन्दै गर्दा डा.कोइरालाको आचरण, व्यवहार ,गतिशिलता र राजनीतिक संस्कारलाई केलाउन जरुरी छ। स्वभावतः पक्ष र विपक्षको संवाहकका रुपमा डा. कोइराला सेतुको रुपमा काम गर्न सक्ने क्षमता राख्छन्। सन्तुलित राजनीतिको अभ्यासमा डा.कोइरालाको निखारता देखिन्छ। त्यसको दाँजो अन्य संभावित पात्रहरूमा ती गुण र व्यवहारको कमी कार्यकर्ताहरूले सहजै पहिल्याउन सक्छन्।