भारतलाई वर्षको पहिलो टि–२० शृंखला, श्रीलंका ७८ रनले पराजित

धवन र राहुलको जोडीले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेको थियो। 

भारतले सन् २०२० मा खेलेको पहिलो टि–२० शृंखला जितेर वर्षको उत्कृष्ट सुरुवात गरेको छ। पुणेमा शुक्रबार राती भएको तेस्रो टि–२० खेल ७८ रनले जित्दै भारतले शृंखला २–० ले आफ्नो पक्षमा पार्यो। पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो। 

श्रीलंकाली कप्तान लासिथ मालिङ्गाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएका थिए। जसमा प्रारम्भिक ब्याट्सम्यान द्धय शिखर धवन र केएल राहुलले अर्धसतक बनाउँदै उत्कृष्ट सुरुवात दिएका थिए। कप्तान विराट कोहली, मनिष पाण्डे र शार्दुल ठाकुरको रचनात्मक ब्याटिङका कारण भारतले ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो। प्रत्युत्तरमा श्रीलंका १५ दशमलव ५ ओभरमा १ सय २३ रन बनाएर खुम्चिन पुग्यो। 

श्रीलंकाका लागि धनन्जय डिसिल्भाले सर्वाधिक ५७ रन बनाएर नवदीप सैनीले ३, शार्दुल र वाशिंगटन सुन्दरले २–२ विकेट लिए। जसप्रित बुमराहको नाममा एक विकेट रहयो। 

भारतका लागि शिखर धवनले टि–२० को दशौं अर्धसतक पुरा गरे। उनले ३४ बलमा अर्धसतक बनाएका थिए। धवन र राहुलको जोडीले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेको थियो। 

धवनले ५२ रन बनाए। राहुलले ५४ रन बनाए। कोहलीले २६, शार्दुलले ८ बलमा २ छक्का सहयोगले २२ र मनिषले १८ बलमा ४ चौकाको सहयोगले ३१ रन बनाए। लक्षन संदाकनले ३ विकेट लिए। 

भारतले ऋषभ पन्तको स्थानमा विकेटकिपर सन्जु सेमलनलाई मौका दिएको थियो। कुलदीप यादवको ठाउँमा शिवम दुबे र युजवेन्द्र चहलको स्थानमा मनिष पाण्डे मैदानमा उत्रिएका थिए। 
 

प्रकाशित मिति: : 2020-01-11 13:17:17

प्रतिकृया दिनुहोस्