टेस्ट क्रिकेटमा सबैभन्दा बढी क्रिजमा टिक्ने द्रविड ४७ वर्षमा प्रवेश

क्रिजमा सबैभन्दा बढी समय ब्यतित गर्ने ब्याट्सम्यानमा पनि द्रविड नम्बर एक हुन्। उनले टेस्ट करिअरमा ४४ हजार १ सय ५२ मिनेट अर्थात ७ सय ३६ घण्टा क्रिजमा बिताएका थिए।

भारतीय क्रिकेटमा ‘मिस्टर जेन्टलम्यान’ को उपनाम पाएका पूर्वकप्तान राहुल द्रविण ११ जनवरीमा ४७ वर्ष पुरा भएका छन्। उनको जन्मदिनको अवसरमा क्रिकेटका हस्ती र क्रिकेट समर्थकले सोशल मिडियामार्फत उनलाई बधाई ज्ञापन गरेका छन्। 

भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले पनि उनको सर्वश्रेष्ठ एकदिवसीय इनिङको भिडियो शेयर गरेर बधाई दिएको छ। 

द्रविडले ८ नोभेम्बर १९९९ मा न्युजिल्यान्डविरूद्ध हैदराबादमा १ सय ५३ रन बनाएका थिए। जुन उनको एकदिवसीयको उत्कृष्ट इनिङ मानिन्छ। 
उनलाई पूर्वसहकर्मी भिभिएस लक्ष्मण, वीरेन्द्र सहवाग, मोहम्मद कैफ, हरभजन सिंहले पनि बधाई दिएका छन्। क्रिकेट कमेन्टेटर हर्षा भोगले र अजिङ्क्य रहाणेले पनि उनलाई शुभकामना भनेका छन्। 

द्रविडले सन् १९९६ मा डेब्यु गरेका थिए। १५ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले १ सय ६४ टेस्टमा ५२ दशमलव ३१ को औसतले १३ हजार २ सय ८८ रन बनाएका थिए। जसमा ३६ सतक र ६३ अर्धसतक समावेश छ। उनको सर्वोत्कृष्ट २ सय ७० रनको इनिङ थियो। यस्तै, ३ सय ४४ एकदिवसीयमा ३९ दशमलव १६ को औसतले १० हजार ८ सय ८९ रन बनाएका छन्। जसमा १२ सतक र ८३ अर्धसतक रहेको छ। उनले एक मात्र टि–२० मा ३१ रन बनाएका थिए। उनी सचिन तेन्दुलकरपछि टेस्ट र एकदिवसीयमा १० हजारभन्दा बढी रन बनाउने दोस्रो भारतीय ब्याट्सम्यान हुन्। उनलाई भारतीय टिमको पर्खाल पनि भनिन्थ्यो। उनले २०१२ को मार्चमा सन्यास लिएका थिए। 

द्रविडले युथ–१९ टिमको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन्। अहिले उनी राष्ट्रिय क्रिकेट एकेडेमीका निर्देशक हुन्। 
टेस्ट क्रिकेटमा सबैभन्दा बढी बल खेल्ने कीर्तिमान द्रविडकै नाममा छ। उनले ३१ हजार २ सय ५८ बल खेलेका थिए। उनीपछि सचिनको नाम आउछ। सचिनले २९ हजार ४ सय ३७ बल खेलेका छन्। 

क्रिजमा सबैभन्दा बढी समय ब्यतित गर्ने ब्याट्सम्यानमा पनि द्रविड नम्बर एक हुन्। उनले टेस्ट करिअरमा ४४ हजार १ सय ५२ मिनेट अर्थात ७ सय ३६ घण्टा क्रिजमा बिताएका थिए। टेस्ट क्रिकेटमा सबैभन्दा बढी क्याच लिने मामिलामा पनि उनी नम्बर एक हुन्। उनले २ सय १० क्याच समातेका थिए। 
 

प्रकाशित मिति: : 2020-01-12 05:38:46

प्रतिकृया दिनुहोस्