सभामुखका उम्मेदवार सापकोटाविरुद्ध सर्वोच्चमा रिट

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सभामुखकाे उम्मेदवार बनेका अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ। 

आइतबारमात्र सभामुखको सिफारिसमा परेका उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया, घटनाको अनुसन्धान गर्न र सापकोटालाई पक्राउ गर्न माग गर्दै शुक्रबार रिट हालेका हुन्।

उक्त रिटको सुनुवाइ आइतबारका लागि तोकिएको त्रिपाठीले जानकारी दिए।

प्रतिनिधिसभाको सभामुखका लागि माघ ७ गते उम्मेदवारी दर्ता थियो। सभामुखमा सापकोटाकोमात्र उम्मेदवारी परेपछि उनलाई १२ गते सभामुख निर्वाचन भएको घोषणा हुँदैछ।

तर संवैधानिक इजलासले सापकोटाविरूद्ध मुद्धा हेरिरहेको छ। लामाको हत्यामा सापकोटा र पूर्व राज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङसहित ६ जनाको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।

सो जाहेरी दरखास्तलाई त्यसपछि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउन दरपिठ भएको थियो। आयोग पठाउने दरपिठ भएपछि लामा सो मुद्दामा पुनरावेदन माग्न सर्वोच्चमा गएकी थिइन्। त्यसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार २५ गते उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश दिएको थियो।

उनीमाथि एउटा मुद्धा र दुई वटा रिटमाथि सुनुवाइका लागि अदालतले माघ २२ लाई पेसी तोकेकाे छ।

प्रकाशित मिति: : 2020-01-25 01:37:47

प्रतिकृया दिनुहोस्