प्रदेश २ मा सत्ता साझेदारबीच तिक्तता बढ्याे, राजपाका तीनै मन्त्रीलाई फिर्ता पठाउने तयारी

प्रदेश २ मा समाजवादी पार्टी राष्ट्रिय र जनता पार्टी (राजपा)बीच तिक्तता बढेको छ। राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सरकारका सहयात्री राजपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग र समाजवादीले कांग्रेससँग गठबन्धन गरेपछि तिक्तता बढेकाे हाे। 

राष्ट्रियसभाको निर्वाचनमा राजपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग र समाजवादीले कांग्रेससँग गठबन्धन गरेको थियो। नेकपा–राजपाको गठबन्धन निर्वाचनमा विजयी हासिल गरेकाे  थियाे।

प्रदेश २ मा समाजवादी र राजपा गठबन्धनबाट सरकारमा ३/३ मन्त्री र साेही संख्यामा राज्यमन्त्री छन्। यसमध्ये राजपाका तीन जना मन्त्रीलाई समाजवादी पार्टीले फिर्ता पठाउने भएकाे छ। 

स्रोतका अनुसार राजपाबाट सरकारमा सहभागी बर्तमान मन्त्रीलाई फिर्ता पठाएर नयाँ अनुहारलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री लालबाबु राउतको योजना छ।

राजपाबाट संसदीय दलका नेता समेत रहेका जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकास, नवलकिशोर साह सामाजिक विकास र रामनरेश राय यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन्। 

राज्यमन्त्रीलाई कायम राख्दै राजपाका तीन जना मन्त्रीलाई नै सरकारबाट फिर्ता पठाउने सम्बन्धमा सरकार नेतृत्वकर्ता समाजवादीले राजपासँग छलफल गर्ने भएको छ। यस सम्बन्धमा मुख्यमन्त्री राउतले राजपा नेतृत्वलाई पत्राचार समेत गर्ने तयारी गरिसकेका छन्।

‘अहिले मुख्यमन्त्री लालाबाबु राउत काठमाडौं जानुभएको छ।आउनेवित्तिकै यो बिषयलाई अगाडि बढाइनेछ’ समाजवादी पार्टीका एक मन्त्रीले भने, ‘उहाँ आउने बितिकै उहाँशरुलाई फिर्ता पठाइनेछ।’

 

प्रकाशित मिति: : 2020-01-25 22:48:02

प्रतिकृया दिनुहोस्