भाग– २

पिपल्समा बिएलले ल्याएको बदलाव

सुनिता लामा

काठमाडौं

गत असार ४ गते बिएल नेपाली सेवामार्फत प्रकाशित ‘बेथितिमा पिपल्स क्याम्पस’ शिर्षकको समाचारले उजागर गरेको आन्तरिक समस्याहरु र निवर्तमान क्याम्पस प्रमुखको बेथितिपूर्ण व्यवहार र अन्यौलता ग्रस्त प्रशासनिक संयन्त्रले सिंगो क्याम्पसलाई नै असर गरिरहेको अवस्थामा बिएल मिडियाको खोजपूर्ण समाचारले त्यस परिस्थितिबाट बाहिर निस्कन एउटा कोशे ढुंगाको रुपमा भूमिका खेलेको छ।

२०७९ असार १६ गते बिहीबारका दिन क्याम्पस सञ्चालन समितिको बोर्ड बैठकबाट सर्वसम्मत भएको निर्णयअनुसार निवर्तमान क्याम्पस प्रमुख छत्रमंगल बज्राचार्यको राजीनामा स्वीकृत गर्दै सहायक क्याम्पस प्रमुख मनोज कुँवरलाई क्याम्पस प्रमुखकाे जिम्मेवारी दिइएकाे छ। त्यसैगरी उच्च मा.वि कार्यक्रम संयोजक रोजेश पण्डितलाई सहायक क्याम्पस प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्दै क्याम्पसको विधानअनुसार बोर्डलाई अझ बढी सक्रिय र सहभागी गराउँदै क्याम्पस प्रशासनलाई उत्कृष्ट बनाउँदै लैजाने निर्णय भएको छ।

बिएलले प्रकाशन/प्रशारण गरेको उक्त खोजपूर्ण समाचारको उदेश्य पनि यही थियो कि काठमाडाैँको मुटुमा अवस्थित सामुदायिक क्याम्पस, पिपल्स क्याम्पसको बेथितिलाई चिरेर क्याम्पसलाई एक सक्षम, दक्ष, सीपमुलक शैक्षिक जनशक्ति उत्पादनमा अझ बढी योगदान हाेस्।

नवनियुक्त क्याम्पस प्रमुख कुँवर भन्छन्,‘अबका दिनहरुमा पिपल्स क्याम्पसले एउटा नयाँ र सुव्यवस्थित ढंगबाट विद्यार्थी केन्द्रित शिक्षण पद्धति, प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकतामा राख्दै शिक्षक, कर्मचारी, समुदाय, अभिभावक तथा समाजका विभिन्न व्यक्तित्वहरुको प्रत्यक्ष सल्लाह, सुझाव र सहभागितामा हरेक समस्या र बाधा/अड्चनहरुलाई सम्बोधन र समाधान गर्दै उत्कृष्ट एवम् शतप्रतिशत नतिजामुखी उत्पादनमा जोड दिन हामी प्रतिबद्ध छौँ।’

त्यसो त अघिल्लो चरणको समाचारमा उल्लेख गरिएको विद्यार्थी युनियनले क्याम्पसको आर्थिक तथा प्रशासन क्षेत्रमा गरेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै स्ववियु अध्यक्ष आदित्य बोहराले विद्यार्थी युनियनले सधैँ विद्यार्थीकाे हकहितकै निम्ति आवाज उठाउने र उनीहरुलाई सहयोग गर्ने गरेको बताउँछन्। उनले उक्त समाचारमा आएको जस्तो केही नभएको बताँउदै आगामी दिनहरुमा पनि क्याम्पसको निति तथा विधानअनुसार शिक्षक तथा प्रशासनसँग सहकार्य गरी अघि बढ्ने बताएका छन्।

विगत ४०औँ वर्षदेखि एक उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा परिचित पिपल्सले विद्यार्थी केन्द्रित शिक्षणशैली, प्रविधिमैत्री तथा व्यवसायिक शिक्षालाई प्राथमिकतामा राख्दै आएको तर २०७७ को कोभिड र अन्य विविध कारणले गर्दा घटेको विद्यार्थीकाे संख्यालाई मध्यनजर गर्दै आगामी दिनहरुमा यो संख्यालाई बढोत्तरी गर्नको निम्ति विभिन्न योजनाहरु बनाइ त्यसअनुसार क्याम्पस अघि बढ्ने बताउँछन्, सहायक क्याम्पस प्रमुख रोजेश पण्डित।

स्थापना कालदेखि नै दक्ष तथा उत्कृष्ट शैक्षिक जनशक्ति उत्पादन गर्दै आएको पिपल्सले आन्तरिक तथा अन्य समस्याहरुको सामना गर्न नपरेको पनि होइन तर यस्ता समस्याहरुलाई पनि क्याम्पसको विधि विधानअनुसार सम्बोधन र समाधान गर्दै आउँदा दिनहरुमा त्यस्ता बाधा र अड्चनका तत्वहरुलाई उचित तवरले सन्तुलित ढगंबाट समावेशीता र समानुपातिक आधारमा समाधान गर्दै अघि बढाउँदै लैजानुपर्ने कुरालाई पिपल्स क्याम्पसले सधैँ जोड दिनु पर्दछ।

एउटा विद्यार्थीको निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार, उच्चतम प्रविधिमैत्री कक्षाकोठा, दक्ष, विषयविज्ञ तथा अनुभवी शिक्षक, व्यवसायिक तथा सीपमूलक विषयको अध्यापन, क्षेत्रगत प्रयोगात्मक व्यवस्था मात्र नभइ किफायती र न्यूनतम शुल्क जस्ता सेवा सुविधाहरुको समेत एकमुष्ट उपलब्धता भएको यस पिपल्स क्याम्पसले फेरि पनि आफ्नो अस्तित्वलाई अझ धेरै विद्यार्थीहरुको सुनौलो भविष्य कोर्ने अठोट लिनु पर्दछ।

यहाँबाट उत्पादित कैयन जनशक्तिहरु सरकारी तहका उच्चतम पदहरुमा मात्र होइन, कैयौँ विद्यार्थीहरु आज स्वदेशभित्र र विदेशमा समेत वरिष्ठ स्थानहरुमा रहि आफूलाई सफल व्यक्तिको रुपमा परिचित गराइसकेका छन्। यसको ज्वलन्त उदाहरण भर्खरै मात्र यसै क्याम्पसमा सहायक क्याम्पस प्रमुख पदमा नियुक्त भएका रोजेश पण्डित पनि हुन्। उनी यसै क्याम्पसका विद्यार्थी हुन्।

‘अब पिपल्स क्याम्पसको एउटा नयाँ अध्याय सुरु भएको छ। नयाँ जोश, जाँगर र गुरुयोजनाका साथ समुदाय, अभिभावक, शिक्षक तथा कर्मचारी र विद्यार्थी स्वंयको सल्लाह, सुझाव र सहभागितामा दक्ष तथा सीपमुलक जनशक्ति उत्पादनमा जोड दिने छौँ’, क्याम्पस प्रमुख कुँवर भन्छन्।

यहाँ उपलब्ध भएका सबै सेवा सुविधा उत्कृष्ट त छन् नै त्यसबाहेक यहाँको न्यूनतम शुल्क चाहिँ सबैभन्दा प्रमुख पक्ष हो। जसको कारण यहाँ न्यूनतम आयश्रोत भएका श्रमजीवी वर्ग, मध्यम वर्ग र उच्च वर्गका विद्यार्थीहरुसमेत उच्च शिक्षा अध्ययन गर्न सक्छन्।

यसबाहेक पनि विभिन्न तहका उत्कृष्ट विद्यार्थीहरुका निम्ति तीर्थरत्न बज्राचार्य गोल्ड मेडल, गुडविल फाइनान्स अवार्ड, डाक्टर मनोहर कृष्ण श्रेष्ठ अवार्ड र लक्ष्मीदेवी मानन्धर अवार्डलगायत शैक्षिक उत्कृष्टताको आधारमा दिइने पूर्ण तथा आंशिक छात्रवृत्तिको पनि सुविधा प्रदान गर्दै आइरहेको यस क्याम्पसमा उच्च मा.वि. मा व्यवस्थापन संकायतर्फ कक्षा ११/१२ मा हाेटल म्यानेजमेन्ट, स्नातक तहमा बीबीएस, बीबीएम, बीबीए र स्नातकोत्तरमा एमबीएस तहको अध्ययन अध्यापन हुँदै आइरहेको र आगामी दिनमा बीएसडब्लु, बीएससीआइटी र बीएलएलबीको समेत अध्यापन गराउने योजना तर्जुमा भइरहेको बताउँछन्, सहायक क्याम्पस प्रमुख पण्डित।

यसरी बिएलले लेखेको खोजपूर्ण समाचारले पिपल्स क्याम्पसभित्रको बेथितिपूर्ण र अन्यौलता ग्रस्त प्रशासनमा अहिले एउटा जिम्मेवार, विश्वसनीयता र जवाफदेहितासहितको टिमले सिंगो क्याम्पस सञ्चालनको निम्ति जिम्मेवारी पाउन सफल भएको छ। जसको कारण आउँदा दिनहरुमा उक्त टिमले विभिन्न गुरु योजनाहरु अघि सार्दै पिपल्सलाई एक उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा स्थापित गर्नमा एउटा इँटको काम गरोस्।

प्रकाशित मिति: : 2022-07-19 20:20:00

प्रतिकृया दिनुहोस्