सीमामा खटियो संयुक्त टोली

तस्बिर : अन्नपूर्ण पोष्ट

कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि तेस्रोपल्ट संयुक्त सर्भे टोली खटिएको छ। यसअघि दुईपल्ट गठित सर्भे टोलीले सामान्य अवलोकनबाहेक केही गर्न सकेको थिएन। यसपालि पनि खासै प्रगति नहुने टोलीमा खटिएका अधिकारीले बताएका छन्। माघ ३ गते भारतको उत्तराखण्ड राज्यको बनबासामा दुवै देशका सुरक्षा र सीमा अधिकारीको बैठकले संयुक्त सीमा सर्भे आरम्भ गरेको थियो। दुई वर्षदेखि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुराको सिमाना मात्रै हेर्ने गरी चौथो संयुक्त सीमा सर्भे टोली गठन हुँदै आएको छ।

आव ०७४/७५ मा प्रमुख नापी अधिकृत सुदर्शन धामीको नेतृत्वको टोली र २०७५/७६ मा प्रमुख नापी अधिकृत जनकराज भट्टको नेतृत्वमा रहेको सीमा सर्भे टोलीले सीमा व्यवस्थापन टुंगाउन सकेको थिएन। यसपल्ट पनि प्रमुख नापी अधिकृत जनक भण्डारीको नेतृत्वमा टोली गठन भई सर्भेमा खटिएको छ। भारतका तर्फबाट पनि नापी टोली गठन भएको छ। दुवै टोलीलाई नयाँ पिलर निर्माण, भत्किएका पिलर मर्मत र सीमा विवाद भएका स्थानको रेकी गर्ने जिम्मेवारी छ। जोर नम्बरका पिलर भारतले र बिजोर पिलर नेपालले मर्मत गर्नुुपर्ने कार्यादेश छ।

प्रकाशित मिति: : 2020-01-30 00:31:07

प्रतिकृया दिनुहोस्