सन्दर्भ– तीन बुँदे सहमतिको दुई वर्ष

खुला राजनीतिमा आएपछि कमजोर बन्दै ‘विप्लव नेकपा’

नेत्र विक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारबीच भएको तीन बुँदे सहमतिमध्ये एक नम्बरमा थियो ‘नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता एवं संवादबाट समाधान गर्न सहमत भएका छौं।’ यसको अर्थ थियो, नेकपाले जनक्रान्तिमार्फत नेपालमा स्थापना गर्न खोजेको वैज्ञानिक समाजवादका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने र अहिलेको व्यवस्थाबाट भइरहेको समस्याको समाधान गर्ने।

तर विप्लव नेतृत्वको नेकपा सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको दुई वर्ष पुगेको भएपनि सहमति कार्यान्वयन भएका छैनन्। सहमति पत्रको दुई नम्बर बुँदामा रहेको ‘नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।’ बाहेक अन्य दुई बुँदा कार्यान्वयनका लागि न राज्य गम्भीर देखिएको छ, न त विप्लव नेकपाले नै कार्यान्वयन गराउनका लागि अर्थपूर्ण काम गर्न सकेको छ।

खुला राजनीतिमा आएको दुई वर्षमा विप्लव नेकपा आफैं समस्यामा पर्दै गइरहेको छ। २१ फागुन ०७७ साल (आजकै दिन)मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गरेर खुला राजनीतिमा आएको नेकपा आफैं तीन पटक फुटिसकेको छ। अन्य कम्युनिष्ट पार्टी जस्तै विप्लव नेतृत्वको नेकपा पनि फुटबाट टाढा हुन सकेन।

तीन बुँदे सहमतिपछि खुसी हुँदै २१ फागुन ०७७ सालमा विप्लवले भनेका थिए, ‘सहमतिभित्र महान आकांक्षा लुकेको छ। योभित्र सुन्दर देश बनाउने आकांक्षा छ। नेपाली युवाहरुभित्र हुर्किएको समृद्ध चहाना योभित्र छ।’ तर उनको उक्त समृद्धिको यात्रा दुई वर्षमा कहाँ पुगेको छ? यस्ता प्रश्न मात्र देखिएको छ। समृद्धको यात्राले कुनै अर्थपूर्ण बाटो समात्न सकेको छैन।

बरु नेताहरुबीचमा कुरा मिल्न नसक्दा नेकपा थप क्षयीकरण हुँदै गएको छ। नेकपा खुला राजनीतिमा आएको वर्षदिन पुग्न नपाउँदै १८ वैशाख ०७८ मा नेकपाका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमाल ‘गम्भीर’को नेतृत्वमा जनसमाजवादी मञ्च नेपाल गठन गरेर पहिलो पटक पार्टी फुटेको थियो। उनी विप्लवले जनक्रान्तिलाई धोका दिएको आरोप लगाउँदै पार्टीबाट अलग भएका थिए। त्यसपछि पनि पार्टीको क्षयीकरण रोकिएन।

पहिलो पटक पार्टी फुटेको हप्तादिनमा नै २६ वैशाख ०७८ मा नेकपाका एक महत्वपूर्ण पात्र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को नेतृत्वमा फेरि पार्टी फुट्यो। कञ्चनले पार्टी फुटाउँदै नेकपा बहुमत पार्टी घोषणा गरे। तत्कालीन समयमा विप्लवले स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेसँगै विप्लव संसदवादमा फस्न लागेको आरोप लगाएर उनले पार्टी फुटाए। उक्त समयमा विप्लव र कञ्चनका बीचमा दोहोरो कार्वाहीको डण्डासमेत चलेको थियो।

त्यसपछि विप्लव नेतृत्वको नेकपाबाटै १५ मंसिर ०७८ मा अर्को समूह बाहिर गयो। जसले काठमाडौंमा पत्रकार सम्मेलने गरेर नेकपा (जनक्रान्ति) पार्टी घोषणा गरेको थियो। यसरी एकपछि अर्को पटक पार्टी फुटेको नेपाली जनताले हेरिरहँदा खुला राजनीतिमा आउँदा भनेको सहमतिभित्रको महान आकांक्षा तथा समृद्धको यात्रा कहाँ पुग्यो? कतै देखिएको छैन।

विप्लव खुला राजनीतिमा आइसकेपछि थप कमजोर बन्दै गइरहेको बताउँछन्, राजनीतिक विश्लेषक सरोज मिश्र। विप्लवको कुनै उदेश्य नभएको हुँदा उनी खुला राजनीतिपछि थप कमजोर देखिएको उनको बुझाइछ। ‘विप्लव भूमिगत किन भएको? खुल्ला किन भएको? उहाँहरु के काम गर्दै हुनुहुन्छ? त्यसमा नै प्रश्न छ,’ राजनीतिक विश्लेषक मिश्र भन्छन्, ‘जुनसुकै कुराका लागि पनि सैद्धान्तिक आधारहरु चाहिन्छ। विप्लवको सैद्धान्तिक आधार के? उदेश्य नै नभएपछि खुला राजनीतिमा आइसकेपछि अझै उहाँहरुको राजनीति नराम्रो बनेको देखिन्छ।’

उनले विप्लवले भनेको वैज्ञानिक समाजवादको सिद्धान्त आजको राजनीतिबाट नपुगिने बताए। ‘विप्लवजीको सिद्धान्त भनेको वैज्ञानिक समाजवाद के हो? वैज्ञानिक समाजवाद हो भने आजको यो शैलीको राजनीतिले काम गर्दैन।’ उनले भने। मिश्रले विप्लव खुला राजनीतिमा आउनुका पछाडि राजबन्दी भएका आफ्ना कार्यकर्ता छुटाउने एक मात्र उदेश्य रहेको बताए।


ज्यान जोगाउन नसकेका कमरेड 'महान' भन्थे: पाँच वर्षभित्र देशमा परिवर्तन आउँछ 


विप्लव नेकपाका नेताहरु भने आफूहरु कमजोर बन्दै गइरहेको भन्ने तथ्य मान्न तयार छैनन्। उनीहरु तीन पटक पार्टीले फुटको मार बेहोर्दासमेत केही व्यक्ति पद नपाएर गएको बताउँछन्। नेकपाका पोलिटब्यूरो सदस्य बलबहादुर वली ‘सितल सी’ले नेकपा कमजोर हुँदै गएको छ भन्नु संसदवादी सोच रहेको बताउँछन्। ‘विप्लव वा नेकपा कमजोर बन्दै गएको छ भन्नेहरु हाम्रा विरोधी हुन् वा उनीहरु संसदवादी सोच भएका व्यक्ति हुन्,’ सितलले भने, ‘हामी कमजोर भएका छैनौँ। हामी जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माण गर्ने काममा बढेका छौँ। अहिलेको असफल संसदीय व्यवस्थाले गर्दा हाम्रो क्रान्ति छिट्टै सफल हुने देखिएको छ।’

नेकपाका अर्का केन्द्रीय सदस्य रामलाल गौतम पनि अहिले देखिएको विभिन्न समस्याले गर्दा विप्लव नेकपा छिट्टै नेतृत्वमा आउने बताए। ‘आज राज्य, प्रशासन, न्यायालय सबै फेल भएको छ। अर्थतन्त्र सकिएको छ। यो व्यवस्थामा आजको अवस्था आउँछ भनेर हामीले १५ वर्षअघि भनेको हो, तर पत्याएनन्,’ गौतमले भने, ‘जसका कारण अब वैज्ञानिक समाजवादबाट देशको विकास, समृद्ध गर्ने हाम्रो नेकपा मात्र छ र हामी छिट्टै नेतृत्वमा आउने छौँ।’

उनले नयाँ राजनीतिक दलहरु पनि सफल हुन नसक्ने बताए। उनले भने, ‘यो व्यवस्थाभित्र विभिन्न पार्टीहरु आउँछन् तर यो व्यवस्थामा आएका जो कुनैले पनि देशको समृद्ध हुने होइन। त्यसैले हामीले नयाँ समाजवादबाट राष्ट्र निर्माण गर्ने भनेका हौँ।’ उनले नयाँ पार्टीहरु षड्यन्त्रपूर्वक आएको आरोप लगाए।

विप्लवको एक दशक राजनीति: १२ जनाले ज्यान गुमाए, ४० बढी जेलमा

विप्लवले आफैँ पार्टी नेतृत्व गरेर राजनीति गरेको एक दशक पुग्न लागेको छ। यद्यपि उनको राजनीतिक यात्रा भने निकै लामा छ। २०५२ सालमा सुरु भएको १० वर्षे सशस्त्र द्वन्द्वमा समेत उनको महत्वपूर्ण भूमिका छ। तर पछि शान्ति प्रकृयामा आएपछि प्रचण्ड संसदवादमा फसेको र जनतालाई धोका दिएको भन्दै माओवादीबाट मोहन वैद्य ‘किरण’को नेतृत्वमा विप्लवलगायतका नेताहरु अलग भएका थिए। त्यसपछि ०७१ मंसिरमा मोहन वैद्य नेतृत्वको पार्टीबाट अलग भएर बेग्लै पार्टी घोषणा गरेर वैज्ञानिक समाजवादको यात्रा तय गरेका विप्लवको यात्रा आठ वर्ष पुगेको छ।

उनको पार्टीले यो आठ वर्षको अवधिमा राजनीतिक रुपमा धेरै उचारचढाव बेहोर्नु पर्यो। अहिलेको संसदीय व्यवस्थाबाट देश समृद्ध नहुने निष्कर्षसहित जनक्रातिमार्फत वैज्ञानिक समाजवाद निर्माणमा होमिएका विप्लवले आठ वर्षको बीचमा ठुलो क्षतिसमेत बेहोरे।

जनक्रान्ति गर्ने भन्दै ठाउँठाउँमा बम विस्फोट गराउँदा उनको पार्टी नेकपाले १२ जना गुमायो। विशेषतः एनसेल टावरमा आक्रमण गर्ने नीति लिएर बम विस्फोट गराउने र अन्य ठाउँमा बम विस्फोट गराएर नागरिकलाई त्रसित पार्ने काममा लाग्दा १२ जनालाई विप्लवले गुमाए।

राज्यविरुद्धको विभिन्न गतिविधिमा संलग्न रहेको आरोपमा अहिले पनि विप्लव नेतृत्वका ४२ जना नेता-कार्यकर्ताहरू जेलमा छन्। उनीहरुको रिहाइ गर्नुपर्ने नेकपाले माग गरेको भए पनि राज्यले रिहाइ गरेको छैन। हत्या, हिंसामा विप्लव नेकपा लागेको भन्दै तत्कालीन सरकारले ०७५ फागुन २८ गते उक्त पार्टीलाई प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति: : 2023-03-05 22:36:00

प्रतिकृया दिनुहोस्