अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा

एजेन्सी

काठमाडाै‌ं

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ। गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो। 

सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ। गएको सेप्टेम्बरयता फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गएको छ भने हजारौँ घरमा क्षति पुगेको छ। 

यस्तै एक करोड ११ लाख हेक्टर क्षेत्रफलको जमिन डढिसकेको छ। 

क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन्। 

अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन्। अग्नि नियन्त्रकहरु ४० डिग्रीको तापक्रममा तीव्र गतिको हावाको वेगमा आगो निभाउन जुटिरहेका छन्। आगोलाई नियन्त्रणमा लिन कठिन भैरहेको अग्नि नियन्त्रकहरुले बताएका छन्।  

आगलागीबाट मुख्य प्रभावित दक्षिणी क्षेत्रमा मात्र १८ हजार पाँच सयभन्दा बढी हेक्टर जमिन सखाप भैसकेको छ।

आगलागीको जोखिम कम नभएसम्म आपतकाल लागू हुने अधिकारीहरुले बताएका छन्।  

प्रकाशित मिति: : 2020-02-01 01:09:41

प्रतिकृया दिनुहोस्