कर्णालीमा छाउगोठका नाममा सरकारले घर भत्काइदिएको भन्दै सांसदहरु गृह मन्त्रालय विरुद्ध खनिएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काएको भन्दै चर्काे विरोध गरे।
महतले भने,‘छाउगोठको नाममा हाम्रा घर भत्काउने ? यो के हेरेर बसेको छ गृहमन्त्राल, यसले काम पाएको छैन?’
अहिले छाउगोठका नाममा गृह मन्त्रालयले घरहरु भत्काउन थालेको उनले आरोप लगाएका छन्। ‘हिजो गोरखाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठका नाममा हाम्रा घर भत्काउन थालियो। हाम्रो छाउगोठको नाममा हाम्रा घर भत्काइएका छन्। एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ? ८ जनाको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने? हजारौं व्यक्तिको बसमा मृत्यु भएको छ, बसमा आगो लगाउँदै हिँड्ने?’ उनी आक्रोसित हुँदै बोले, यो पनि तरिका कहीँ हुन्छ। चाहिँदो काम गर्नु पर्यो नि।’
उनले मौलाएको भष्टाचारको विरोध गर्दै भने, ‘जिल्लामा त्यत्रो भ्रष्टाचार भइरहेको छ। नुन बेचिएको छ। औषधि बेचिएको छ। उहीहरुलाई समात्नु पर्दैन? पुलको बेहाल छ। बाटोको बेहाल छ। ठेकेदार कहाँ छ, कहाँ। उनीहरुलाई पक्राउ गरी कारवाही गर्नुपर्दैन? स्कुलको अवस्था छ। अस्पतालको अवस्था के छ? त्यो हेर्नुपर्दैन?’