जाऔं है मालिका

म्याग्दीमा रहेकी मालिकाको दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ । म्याग्दी जिल्लाको पवित्र तिर्थस्थल मालिकाको दर्शनले सबै किसिमका मनोकामना पुरा हुने जनविश्वास छ । मालिकालाई भाकेर गरिएको मनोकांक्षा पुरा भएपछि तिर्थालुहरू बोका, परेवा, नरिवल र फूलपाती लिएर मालिका डाँडामा चढ्छन् ।  

डाँडा (३३५० मिटर) मा मालिका, कालिका र जालिका देवीका मन्दिर छन् । मन्दिरमा वैशाखे पूर्णिमा, जेष्ठ पूर्णिमा र भाइटीकाका बेला मेला लाग्छ । मेलामा हजारौं भक्तजन ओइरिन्छन् । 

हिमाली दृश्यावलोकनका लागि समेत मालिका प्रख्यात छ । डाँडाबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, अन्नपूर्ण, निलगिरिदेखि माछापुच्छे« हिमालसम्मको लामो लर्कन देखिन्छ । 

मालिका क्षेत्रलाई पावन पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना मालिका गाउँपालिकाले बनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुका अनुसार मन्दिरको बेस क्याम्प नागिथलासम्म मोटर बाटो पु¥याइनेछ भने त्यहाँ भन्दा माथि व्यवस्थित पदमार्ग बनाउने योजना छ ।  

‘मालिका देवीको आशीबार्द सबैलाई लाग्छ’, उपाध्यक्ष बिटालुले बिएल नेपाली सेवालाई भनिन्, ‘हाम्रो गाउँपालिकाको प्रमुख पर्यटन गन्तव्य मालिकालाई नमुना धाम बनाएरै छाड्छौं ।’

मालिकामा केवलकार बनाउने कुराले पनि चर्चा पाएको छ । म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश शाक्य केवलकार सञ्चालन गर्नु पर्नेमा जोड दिँदै आएका छन् । ‘थोरै खर्चमा सामुदायिक हिसाबले केवलकार सञ्चालन गर्न सके तिर्थालु र गाउँले दुवैलाई फाइदा पुग्न सक्छ’, शाक्यले भने, ‘यस विषयमा हामी सरोकारवालासँग छलफल गरिरहेका छौं ।’  

मालिका मन्दिर जाने प्रमुख दुई मार्ग छन्, एउटा बेनीबाट विम गाउँ हुँदै र अर्को हिलस्टेशन टोड्के हुँदै । म्याग्दीको सदरमुकाम बेनी बजारबाट टोड्के र विमसम्म मोटर बाटो छ । विम गाउँबाट ९ किलोमिटर माथिसम्म सडक खनिएको छ । त्यहाँबाट ३ घन्टा पदयात्रामा मालिका धुरी पुगिन्छ । त्यस्तै टोड्ेकबाट करिब ५ घन्टा पदयात्रा गर्नु पर्छ ।

 

थप जानकारीका लागि सम्पर्कः  छकप्रसाद पाइजा–९८६७६४५३३८ र ओमकार रोका–९८६९१४८५२०

प्रकाशित मिति: : 2020-02-01 02:03:35

प्रतिकृया दिनुहोस्