मोटरसाइकल ‘ट्रेक’को ‘हव’ बन्दै डोल्पा 

डोल्पा मोटरसाइकल ‘ट्रेक’को प्रमुख गन्तव्य बन्न थालेको छ। देशका विभिन्न जिल्लाबाट मोटरसाइकलमा घुम्न आउने पर्यटकले भरीभराउ भएसँगै बिस्तारै डोल्पा पनि मोटरसाइकल ‘ट्रेक’ को ‘हव’ बन्न थालेको हो।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सङ्कलित तथ्यांक अनुसार यसवर्षमात्रै २५ सयभन्दा धेरै पर्यटकले फोक्सुण्डो ताल अवलोकन गरेका छन्। शे–फाेक्सुण्डो घुम्ने आउनेमा प्रायः आन्तरिक पर्यटक रहेका छन्।

यसवर्ष हवाई जहाज र गाडीबाट भन्दा पनि मोटरसाइकल ‘ट्रेक’ गरेर धेरै पर्यटकहरु घुम्न आएको निकुञ्जले जनाएको छ। सडक सञ्जाल जोडिएसँगै देशका जुनसुकै जिल्लाबाट पनि सिधै सदरमुकाम दुनैसम्म सरर... मोटरसाइकलमा पुग्न सकिन्छ। दुनैबाट सुलिगार्ड हुँदै दुई दिनको पैदल यात्रा गरेर पर्यटकीय नगरी फोक्सुण्डो ताल पुग्न सकिन्छ। नेपालकै गहिरो तालभित्र पर्ने फोक्सुण्डो डोल्पाको प्रमुख पर्यटकीय गन्तव्यभित्र पर्दछ।

यससँगै प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा, धो तराप भ्याली, सदरमुकाम दुनै डोल्पाका अन्य आकर्षक पर्यटकीय स्थलहरू हुन्। प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका यी सम्पदाको अवलोकन भ्रमणका लागि डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गर्दछ।

घुम्नकाे लागि उपयुक्त सिजन सुरु भएसँगै भदौदेखि शे–फोक्सुण्डो ताल घुम्ने आन्तरिक पर्यटकको चाप बढेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। ताल हेर्ने आन्तरिक पर्यटकका मोटरसाइकल पार्किङले निकुञ्ज कार्यालय आसपासमा पर्ने सुलिगार्ड क्षेत्र भरिभराउ  भएको निकुञ्जले बताएकाे छ।

मोटरसाइकल पार्किङ गर्ने ठाउँ नभएर बाटोमै मोटरसाइकल छोडेर भए पनि दुई दिनको पैदल यात्रा गरेर पर्यटकहरु फोक्सुण्डो हेर्न पुग्ने गरेका छन्। 

एकसाता अघिसम्म दैनिक पचास जनाभन्दा धेरै पर्यटक मोटरसाइकल ‘ट्रेक’ गरेर डोल्पा पुग्ने गरे पनि चिसो बढेसँगै बिस्तारै पर्यटकको चाप घटेको निकुञ्जको भनाइ छ।

यसवर्ष पर्यटकलाई महङ्गाे मोटरसाइकलभन्दा पनि फोक्सुण्डो तालको मनमोहक सौन्दर्यताको रसपान गर्ने हुटहुटीले बाटोमै मोटरसाइकल राखेर फोक्सुण्डो पुगेकोठूलीभेरी नगरपालिकाका स्थानीय निराजन शाहीले बताए।

‘लामा मेला’को त्यो चमत्कार : जब जुम्ली राजा नै दङ्ग परे... (भिडियाेसहित)

सडक मार्गपछि हवाई माध्यामबाट पनि डोल्पा पुग्न सकिन्छ। नेपालगञ्ज विमानस्थलबाट जहाजमा सजिलै ३५ मिनेटको यात्रा गरेर जुफाल विमानस्थल पुग्न सकिन्छ।

'नेपालगञ्ज एयरपोर्टमा पहुँच नभएका आन्तरिक पर्यटकले टिकट पाउने अवस्था एकदमै कम छ, पैसा खर्च भएर पनि जहाज चढ्न पाइदैन्', सुर्खेतका बालकृष्ण बुढाले भने,'एक हिसाबले टिकट नपाए पनि ठिकै लाग्छ, दु:ख, कष्ट झेलेर भए पनि मोटरसाइकलको यात्रा सहज हुन्छ, सडकमार्गबाट ठाउँ–ठाउँको भूगोल, रहनसहन, बसुस्थिति र जीवनशैली नियाल्दै फोक्सुण्डो पुग्न पाइन्छ।'

मोटरसाइकलमा डोल्पा जाँदा थोरै खर्चमै घुमेर फर्किन सकिने बुढाको भनाइ छ।

‘व्लू’ ‘डायमण्ड’को रुपमा परिचित शे– फोक्सुण्डोको सौन्दर्यताले जो कसैको पनि मन लोभ्याउने गरेको अर्घखाँचीबाट डोल्पा घुम्न आएका विकास खनालले बताए।

'जाजरकोटदेखि डोल्पासम्मको बाटो कच्ची र ठाउँ–ठाउँमा पुल नबन्दा पर्यटकहरुले महंगो भाडा र विभिन्न अप्ठ्याराेका कारण दु:ख भोग्नु परेको छ, तर फोक्सुण्डो पुगिसकेपछि मनका सबै दु:ख पीडाहरु भूल्ने गर्दछन्,' खनालले उत्साहित हुँदै भने।

डाेल्पामा अहिलेसम्मकै धेरै पर्यटक

निकुञ्ज स्थापना भएयता अहिलेसम्मकै धेरै पर्यटक डोल्पा भित्रिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। विभिन्न कठिनाइका बीच पनि भदौदेखि कात्तिक १५ सम्म २५ सय पर्यटकले फोक्सुण्डो ताल हेरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले बताए।

'डोल्पा ‘अन’ ‘एक्सप्लोर’ ठाउँ हो, अहिलेसम्म प्रसारप्रसार हुन सकेको छैन, विभिन्न माध्यमबाट जानकारी पाएर पनि पर्यटकहरु घुम्न आउने गरेका छन्', खनालले भने।

'फोक्सुण्डो तालसम्म पुग्ने ठाउँ– ठाउँमा बाटो बिग्रिए पनि निकुञ्जको सानोतिनो बजेटबाट मर्मत भइरहेका छ, पर्यटकको चाप बढेसँगै निकुञ्ज क्षेत्रमा फोहोर नहोस् भनेर ठाउँ–ठाउँमा खाल्डा खन्ने र डस्विनहरु राख्ने गरेका छौँ' खनालले थपे।

राजादेखि मन्त्रीसम्म आशिर्वाद थाप्न पुग्ने डाेल्पाकाे त्रिपुरासुन्दरी अर्थात् मन्दिर जन्माउने मन्दिर [भिडियाेसहित]

प्रकृतिसँग रमाएर स्वर्गीय आनन्द प्राप्त गर्न चाहाने व्यक्तिका लागि डोल्पा जीवनमा एक पटक घुम्नै पर्ने पर्यटकीय गन्तव्य भएको खनालको भनाइ छ। फोक्सुण्डोसम्म पुग्न चाहिने खर्च, बाटोको अवस्था यावत कुरामा बिषयमा निकुञ्जको नम्बरमा फोन गरेर अग्रिम जानकारी पनि लिन सकिने उनको भनाइ छ।

होटल खचाखच

आन्तरिक पर्यटकको चाप बढेसँगै डोल्पाका होटेलहरु भरिभराउ भएका छन्।

पर्यटकीय मार्गमा पर्ने खदाङ्ग, त्रिपुराकोट, दुनै, जुफाल र सुलिगार्डदेखि फोक्सुण्डो सम्मकाे बीच बाटोमा पर्ने होटेलहरु भरिभराउ हुन थालेका हुन्।

यसवर्ष पर्यटककाे चापका कारण पाहुनालाई खाना खुवाउन, सुताउनै हम्मेहम्मे परेको होटल व्यवसायीहरूकाे भनाइ छ। अघिल्ला बर्षहरुमा भन्दा यसवर्ष होटल व्यवसायबाट पनि मनग्य आम्दानी भएको त्रिपुराकोटका होटल व्यवसायीहरु बताउँछन्।

यसवर्ष अघिल्लो वर्षको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए।

'आन्तरिक पर्यटकले फोक्सुण्डो सम्पूर्ण होटलहरु खचाखच भरिएका छन्, होटेलहरु सिमित भएकाले ओइरिएका पर्यटकको भार थाम्न सकिएकाे छैन्' अध्यक्ष लामाले थपे।

फोक्सुण्डोमा होटलको सङ्ख्या बढाउनुका साथै सडकखण्डहरूमा व्यवस्थित होटलको व्यवस्था गरेर प्रचारप्रचार गर्न सकेमा प्रत्येक वर्ष पर्यटकको संख्यामा दोब्बर वृद्धि हुने उनको विश्वास छ।

तालको पृथक सुन्दरता र ताल आसपासका रैथाने स्थानीयको अनौठो संस्कार, गुम्बा तथा भेषभूषाका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु फोक्सुण्डो पुग्न लालाहित हुने उनको भनाइ छ।

निलो हिराको रुपमा समेत परिचित फोक्सुण्डो तालले एकै दिनमा आधा दर्जन पटक रङ फेर्ने फोक्सुण्डोका स्थानीय बताउँछन्।

डोल्पा पुग्न हवाई यात्रा झन्झटिलो

डोल्पासम्म हवाई यात्रा गरेर सजिलै पुग्न सकिने भए पनि टिकटमा हुने सिण्डिकेटका कारण आन्तरिक पर्यटकका लागि हवाई यात्रा झन्झटिलो लाग्ने गर्दछ। दुर्गम उड्ने जहाजको टिकट पाउँन प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रीसम्मको सोर्सफोर्स लाउनु पर्ने भएकाले पनि डोल्पा घुम्ने रहर भएका अधिकाशं पर्यटकहरु मनमै रहर पालेर बस्ने गर्दछन्।

विभिन्न कठिनाईहरु झेलेर गाडी र मोटरसाइकलमा भए पनि डोल्पा पुग्ने चाहाना भएका पर्यटकहरु भने हवाई टिकटको झन्झटिले प्रक्रिया छोडेर सिधै सडकको गन्तव्य रोज्ने गर्दछन्।

नेपालगञ्ज र जुफाल विमानस्थलमा हवाई टिकट मात्र व्यवस्थित भए हवाई जहाजमा डोल्पा घुम्न आउने पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने पर्यटन व्यवसायीको भनाइ छ। नेपालञ्जदेखि जुफाल विमानस्थलसम्म दैनिक उडान हुने भए पनि एयरलाइन्सका कर्मचारीले सिफारिसका आधारमा मात्रै टिकट दिने भएकाले हवाई टिकटको झन्झटले देश विदेशका नागरिकले डोल्पा घुम्ने रहर भएर पनि घुम्न नपाएकाे व्यवसायीको भनाइ छ।

डोल्पा उडान हुने तारा, समिट लगायतकाको टिकट वितरण प्रणाली अव्यवस्थित र झन्झटिलो भएकै कारणले पनि सडकमार्गबाट मोटरसाइकल र गाडीमा आउने गरेको पर्यटकको संख्या प्रत्येक वर्ष वृद्धि भइरहेको व्यवसायीले बताए।

डोल्पामा हवाई टिकटको बेथिति: बिरामीलाई घर फर्काइन्छ, नेता र कर्मचारीको घरमै पुग्छ टिकट (भिडियासहित)

शे–फोक्सुण्डो पछिको गन्तव्य त्रिपुरासुन्दरी

शे– फोक्सुण्डो ताल पछिको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर रहेको छ। धार्मिक पर्यटनको बलियो सम्भावना बोकेको यस मन्दिरमा फोक्सुण्डो हेर्न आएका आन्तरिक पर्यटकहरु पनि पुग्ने गर्छन्। 

यसवर्ष फोक्सुण्डो घुम्न आएका अधिकाशं पर्यटकहरुले त्रिपुरासुन्दरीको पनि दर्शन गरेको पुजारी रमानन्द उपाध्यायले बताए।

'अघिल्ला वर्षहरुमा मन्दिर दर्शनको गन्तव्य बनाएका भक्तजनाहरु मात्रै आउने गर्थे, यसवर्षदेखि फोक्सुण्डो घुम्न आएका पर्यटकहरु पनि मन्दिर पुग्ने गरेका छन्', उनले भने।

यसरी पर्यटकहरु भित्रिएमा मन्दिरको प्रसारप्रसारसँगै आय स्रोत पनि बड्ने उनको भनाई छ। पौराणिक एवं धार्मिक महत्व बोकेको त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्नाले चिताएको पूरा हुने जनविश्वास रहेको छ। 

त्रिपुरासुन्दरी नगरपालिका– १ अन्तर्गत त्रिपुराकोटमा पर्ने उक्त मन्दिर ईसापूर्व १११४ सालमा उत्पत्तिकाे विभिन्न पुस्तकहरूमा उल्लेख छ। अनौठो भूगोल र मन्दिरबाट देखिने गाउँबस्ती, नदी, खोलानाला, हिमाल, बेँसी हेर्नकै लागि पर्यटकको रोजाइमा पर्ने गरेको पुजारीहरुको भनाइ छ।

सडक सञ्जाल पर्यटकलाई सास्ती

केही वर्षअघि मात्रै खुलेकाे हाे, जाजरकोट–डोल्पा सडकखण्ड। सडक खुले पनि त्यसमाे स्तरउन्नति नुहुँदा यहाँ आउने पर्यटकले सास्ती भाेक्नु परेकाे छ। प्रत्येक वर्ष सडकमा खसेको ढुङ्गा, माटो र पहिरोका कारण सडक साँघुरो हुँदै गएकाले सवारी दुर्घटनाको जोखिम बढेको छ।

जाजरकोटदेखि दुनैसम्मको करिब १ सय १८ कि.मी सडकमा पनि पक्की पुल नबन्दा आर्धा दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गनुपर्ने भएकाले पनि पर्यटकलाई सास्ती हुने गरेको हो।

जीप व्यवसायिको मनपरी भाडा र सिट क्षमताभन्दा बढी यात्रु कोच्नाले डोल्पासम्म पुग्न पर्यटकलाई ज्यानको बाजीनै लगाउनु पर्ने अवस्था छ। डोल्पामा पर्यटन व्यवसायको प्रचुर सम्भावना भएकाले चाहेजति पर्यटक भित्रयाउन जाजरकोटदेखि डोल्पासम्मको सडक सुधार गर्नुपर्ने पर्यटकले सुझाव दिए।

‘अर्ग्यानिक’ बैजीबारा, आगनबाटै भगवानको दर्शन (फोटो फिचर)

आधा डोल्पा देखिने थुम्को यसरी भयो तीर्थस्थल (तस्वीरहरू)

प्रकाशित मिति: : 2021-11-12 16:15:00

प्रतिकृया दिनुहोस्