अमेरिकामा भ्रमण बर्षको शुभारम्भ औपचारिकतामा सीमित

नेपालमा छिमेकी देश भारत, चीनपछि सबैभन्दा धेरै अमेरिकी पर्यटक आउने गर्दछन्।

सन्जोग आचार्य

न्युयाेर्क

विश्व पर्यटनको ठूलो बजारकाे हिस्सा रहेको अमेरिकामा नेपाल भ्रमण बर्ष–२०२० को शुभारम्भ औपचारिकतामा सीमिति भएकाे छ। भूकम्पपछि नेपालमा उल्लेख्य मात्रामा अमेरिकी पर्यटक भित्र्न नसकिरहेको अवस्थामा भ्रमण बर्षको शुभारम्भ एउटा समान्य हलमा गरिएको भन्दै सहभागी केही पर्यटन व्यवसायीले गुनासो प्रकट गरेका छन्।

सयौंको संख्यामा अवलोकनकर्ता आउने न्यूयोर्क टाइम्स शोमा मलेसियाले भिजिट मलेसिया–२०२० र ताइवानी भिजिट माउण्टेन ताइवान–२०२० मनाइहदा नेपाल भ्रमण बर्ष–२०२० को शुभारम्भ भने केही सीमित ब्यक्तिको सहभागितामा बन्द कोठामा गरिएकोमा पर्यटन व्यवसायीले दु:ख प्रकट गरेका छन्। नेपालमा छिमेकी देश भारत, चीनपछि सबैभन्दा धेरै अमेरिकी पर्यटक आउने गर्दछन्। अरु देशको तुलनामा अमेरिकी पर्यटकले गर्ने खर्च, बस्ने अवधि पनि लामो छ। विश्व बजारमा अमेरिकी पर्यटकलाई गुणस्तर पर्यटकको रुपमा लिइन्छ।

पर्यटन मन्त्री योगेश भट्टराईले केही समयअघि समाजिक सञ्जालमा न्यूयोर्ककाे भब्य ठूला भवनबाट भ्रमण बर्षको शुभारम्भ गरिने बताइरहदा अमेरिकामा भने म्यानह्याटनको एउटा सानो हलमा ४० देखि ५० जनाको सहभागितामा भ्रमण बर्षको शुरुवात गरिएको छ। टाइम्स स्वाक्यरमा झाँकीसहित नेपालीको भब्य सहभागितामा सम्पन्न गर्नुपर्ने कार्यक्रम कोठामा सिमित गरिएको व्यवसायीकाे भनाइ छ।

न्यूयोर्कस्थिति नेपाली महाबाणिज्यदूतावासको आयोजनामा भएको भ्रमण बर्ष शुभारम्भ कार्यक्रमको जानकारी एक घण्टा अघिमात्र केही सहभागी पर्यटन ब्यसायीलाई गराइयो। शुभारम्भ समारोहमा एनआरएनका कुनै विशिष्ट प्रतिनिधिको सहभागिता देखिएन।

न्यूयोर्कमा रहेका संघ–संस्थाका प्रतिनिधिलाई पनि कार्यक्रममा निमन्त्रण नगरिएको गुनासो गरेका छन्। अमेरिकालाई आधार बनाई पत्रपत्रिका र अनलाईन सञ्चालन गरिरहेका संचारकर्मीले पनि कार्यक्रमको सम्बन्धमा जानकारी नगराइएको गुनासो पोखेका छन्। आखिर किन गरियो त पर्यटन बर्षको शुभारम्भ सुटुक्क यसरी? सहभागीले नै प्रश्न गर्ने अबस्था अहिले सृजना भएको छ, अमेरिकामा।

भ्रमण बर्ष शुभारम्भमा कुनै प्रख्यात विदेशी संचारमाध्यमका प्रतिनिधि वा ब्लगरको पनि सहभागिता देखिएन। भ्रमण बर्षको कार्यक्रममा सहभागिता जनाउन भनेर भ्रमण बर्ष–२०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ अमेरिका आएका छन्।

सो अबसरमा नेपालको बृत्तचित्र हेर्ने र केही व्यक्तिलाई आफ्नो कुरा सुनाउने बाहेक श्रेष्ठको भूमिका देखिएन।

नेपाल एसोसियसन अफ ट्राभल एण्ड टुर्सका पूर्व उपाध्यक्ष एवम् ब्लूबर्ड ट्राभल्सका सञ्चालक शम्भू पाठकले अमेरिकामा भ्रमण बर्षको शुभारम्भ यसरी हुन्छ भन्ने आफूले कल्पना पनि नगरेको जनाए। म्यानह्याटनको एउटा सानो सेमिनार हलमा केही सीमित ब्यक्तिको सहभागिताले नेपाल आउने अमेरिकी पर्यटकको संख्या बृद्धि नहुने पाठकको भनाई छ। कार्यक्रममा ठूला विदेशी च्यानल र संचारमाध्यमका प्रतिनिधिको पनि सहभागिता नदेखिएको उनले आश्चर्य प्रकट गरे।

कार्यक्रम भन्दा एक घण्टा अघिमात्र आफूलाई जानकारी आएको जनाउदै पाठकले निकै हाँस्यास्पद ढंगले कर्यक्रमको शुभारम्भ गरिएको जनाए।

मकालु ट्राभल्स लस भेगासका प्रबन्ध निर्देशक किरण शर्माले शुभारम्भ कार्यक्रम न्यूयोर्क टाइम्स शोमा गरेको भए अझ राम्रो हुने बताए। उनले २० देखि ४० जनाको सहभागितामा गरिएको शुभारम्भको कुनै तुक नहुने बताए। ‘न्यूयोर्क टाइम्स शोमा गरेको भए करिब चार पाँच लाखले थाहा पाउँथे’, शर्माले भने– ‘मलेसिया र ताइवानले त्यही भ्रमण बर्ष मनाए। हामीले किन नहुने?’ उनले शुभारम्भ समारोह न्यूयोर्कमा मात्र नभएर लस भेगास वा नेपाल धेरै घुम्न जाने अमेरिकी बसोवास गर्ने स्थानमा गर्दा अझ राम्रो हुने सुझाव दिए।

कार्यक्रममा सहभागीलाई नै आफूले के गर्ने कसो गर्ने अन्यौल भइरहको देखेर पाहुनालाई पनि नराम्रो सन्देश पुगेको प्राय: सबै सहभागीले बताए। भ्रमण बर्षको शुभारम्भ नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट एच डेलिसी, अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राईले गरेका थिए। भ्रमण बर्षको शुभारम्भ न्यूयोर्कमा गत जनवरी २७ मा म्यानह्याटनको एउटा सानो सेमिनार हलमा गरिएकाे थियाे। 


 

प्रकाशित मिति: : 2020-02-01 07:36:46

प्रतिकृया दिनुहोस्