प्रेरणादायी महिला

सपनालाई ‘पशुपति’हरु पानी–पँधेरो

चार वर्षयता संयोग यस्तो परेको छ, जब ‘बीबीसी हन्ड्रेड विमन’को उत्कृष्ट सय महिलाको सूची सार्वजनिक भयो, कोही न कोही नेपाली त्यसमा परेकै छैन। 

सन् २०१७ यता विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने नेपाली महिला बीबीसीको यो सूचीमा अटाएका छन्। 

२४ नोभेम्बरमा बेलायती मिडिया बीबीसीले सार्वजनिक गरेको २०२० को प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा अटाउन पुगिन्,१८ वर्षीया युवती सपना रोकामगर। 

सामाजिक, प्रविधि, अधिकार र अनुसन्धानका क्षेत्रमा विशेष योगदान दिएका महिलाको सूचीमा पर्ने सपना दोस्रो सबैभन्दा कम उमेरकी प्रभावशाली व्यक्ति हुन्। 
नेपालबाट यो सूचीमा पर्ने उनी चौथो महिला पनि हुन। २०१७ मा इन्दिरा रानामगर, २०१८ मा उमादेवी वादी र २०१९ मा बोनिता शर्मा यो सूचीमा परेका थिए।

काठमाडौंको गौशालास्थित पशुपतिनाथ मन्दिरको घाटमा बेवारिसे लासको व्यवस्थापन र  दाहसंस्कार गर्ने सपनाको विगत निकै नमिठो छ। 

अहिले उनको कामलाई वाहीवाही गर्नेको जमात बढ्दै छ। तर, कुनैबेला उनी लागुऔषध दुव्यर्सनी थिइन। सडक मानव पनि। उनी बेवारिसे भएर सडकमा घुम्थिन्, सडक मै खान्थिन् र सडक मै सुत्थिन्। 

उनका आमाबुबालाई ‘तेरी छोरीले कुलगोत्रको नाक काटि’ भन्नेको जमात पनि ठूलो थियो। 

भर्खरै १९ औं बसन्तमा टेकेकी सपना आजभन्दा सात महिना पहिले सपनाको सहर काठमाडौं छिरेकी हुन्। त्यतिबेला सपनासँग जीवन जिउने न सपना थियो, न त कुनै आधार नै। 

सबैको लागि घृणित जीवनबाट छुटकारा पाउन सत्य मार्ग खोजिरहेकी सपनाको बेवारिसे शवहरूको व्यवस्थापनमा सक्रिय विनयजंग बस्नेतसँग भेट भएपछि जीवनले अर्के मोड लिएको हो। 

सपना भन्छिन्, ‘मलाई जन्मदिने मेरो आमा, बाबा भगवान हुन्। तर कर्म दिने बुबा विनय नै हुन्। मलाई जन्म दिने र कर्म दिने भगवानका कारण आज यो स्थानमा छु।’ 

सडक मानवको सेवा गर्दै आएको ‘एक्सन फर सोसल चेन्ज’ र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष रहेका विनयजंगलाई उनी ‘बाबा’ भनेर सम्बोधन गर्छिन्। हिजो सडकमा मागेर एकछाक गुजारा चलाउने सपनाको सफलताको पछाडि विनयको ठूलो योगदान छ।

 म्याग्दीको मंगला गाउँपालिका ४ की स्थायीबासिन्दा हुन्, सपना। उनी जन्मघर बुकिनीबाट जब उच्च शिक्षाको लागि सदरमुकाम बेनी झरिन्, उनका दुःखका दिन सुरु भए। 

घरकी कान्छि छोरी उनलाई बाबा (जीतबहादुर) र आमा (तुलमाया)ले कुनै पनि कुराको कमि हुन दिएका थिएनन्। तर अभिभावक साथ नहुँदा उनी जे सोचेर बेनी आएकी थिइन्, त्यो पुरा भएन। 

एक केटासँगको तीन महिनाको मायाप्रेमको छालले बुटवल पु¥यायो। सपनाले भनिन्, ‘त्यति बेला मेरो नाम मात्र सपना थियो। मसँग कुनै सपना थिएन।’ 

छोरी मान्छेका लागि एक्कै बजारमा बस्नु नै गाउँलेको लागि कुरा काट्ने गतिलो मसला भयोे। झन् केटासँग भागेको कुराले त सधैको लागि घरको बाटो बन्द गराइदियो। आमाबाबासँग सम्पर्क  हुनसकेन। बेवारिसे भइन् उनी। एउटा गलत निर्णय उनका लागि अभिसाप बन्यो। त्यसपछि सडक नै उनको निर्विकल्प घर बन्यो। 

‘मेरा साथी भनेका सडकमा भिख माग्ने थिए। उनीहरूसँग म पनि भिख माग्थे। कसैले दिएको दिन पेटभरि खान्थ्यौ। नदिएको दिन भोकै सडकमा सुत्थ्यौ। कतिदिन भोकै दिन गुजारे याद नै छैन,’ आफ्नो विगत सम्झिदै सपनाले बिएल नेपाली सेवसँग भनिन्। 
ती दिन उनका लागि निकै कस्टकर र पीडादायी थिए। उनले आफू जन्मे हुर्केको गाउँघर, अधिक प्रेम गर्ने आमाबाबा र साथीसंगीलाई धेरै ‘मिस’ गरिन्। 

तीन महिनाको सडक जीवनपछि उनी धेरै कष्ट सहेर घर पुगिन्। छोराछोरी जति नै बिग्रिए पनि आमाबाबालाई माया हुन्छ नै। सपनाका हकमा पनि त्यही लागु भयो। उनका आमाबाबाले मिश्रित माया गरे। 

यसपछि मात्र सपनाले जिन्दगी जिउने सपना देख्न थालिन्। गाउँमै बसेर उच्च शिक्षा अध्ययन गर्न लागिन्। गाउँ कै रत्न उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरिन्। उनको जीवनले लय समात्न लाग्यो। घर परिवारको सल्लाहमा सडकबाट घर पुगेको ६ महिनामा पोखरा गइन्, सपना।

पोखरा गएको बेला जापानिज भाषा सिकेको उनले बताइन्। त्यति नै बेला उनको भेट सलिना बस्नेतसँग भयो। उनीहरु साथी बने। सलिनाले आफ्ना बाबासँग भेट गराइदिइन्। उनका बाबु थिए, विनयजंग बस्नेत। त्यसपछि मात्रै हो, सपनाले विनयलाई ‘बाबा’ भन्न थालेको।

उनी थप अध्ययन गरेर देश छाड्ने सुरका साथ काठमाडौँ आइन्। बस्नेतसँग पुनः भेट भयो। 

विनय पशुपतिमा एक्लै बेवारिसे शव व्यवस्थापन गर्थे। विनयको कामले उनलाई तान्यो। यसपछि उनले विदेश जाने सपना नै बिर्सिइन्। ‘मैले बाबाको जस्तै बेवारिसे लास जलाउने काम गर्छु भन्दा उहाँ मान्नु भएन,’ सपनाले भनिन, ‘तर मेरो बालापन र जिद्धिपनले जित्यो।’ 

पहिलो पटक बेवारिसे शवको दाहसंस्कार गर्दा आफू निकै डराएको र रोएको अनुभव छ, उनीसँग। तर, समयक्रमसँगै अहिले सम्म सयभन्दा बढि बेवारिसे लासको दाहसंस्कार गरिसकेकी छिन्। 

अहिले विनयसँग मिलेर उनी पनि ‘एक्सन फर सोसल चेन्ज’ र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका माध्यमबाट देशभर बेवारिसे शव व्यवस्थापन गर्छिन। हालसम्म करिब ३ दर्जन जिल्लामा शाखा विस्तार भइसकेको उनले बताइन्। उनीहरू राजधानी केन्द्रित मात्र छैनन्। 

देशका दुर्गम जिल्लामा गएर काम गरिरहेका छन्।  सपनाको आगामी लक्ष्य के छ त? उनी भन्छिन्– अबको हाम्रो लक्ष्य ७७ वटै जिल्लामा ‘एक्सन फर सोसल चेन्ज’ र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा विस्तार गर्ने, सबै जिल्लामा ‘बाआमा घर आश्रम’ र हरेक व्यक्ति स्वयमसेवक हो भन्ने भावनालाई जगाउनु हुनेछ। 

प्रकाशित मिति: : 2020-11-30 12:14:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ