आयोवा ककस परिणाम आउँनमा ढिलाइ, जागै छ राजधानी डिमोइन्स

आयोवा डेमोक्रेटिक ककसका कारण समाचारको शीर्षकमा रहेको डिमोइन्समा यतिबेला रातको ११ बजेको छ। 

अमेरिकाको मध्यपश्चिमी आयोवा राज्यको राजधानी डिमोइन्स अझै जागा छ। 

स्थानीय बासिन्दा खासगरी डेमोक्रेटहरू व्यग्रताका साथ आयोवा ककसको थप परिणाम पर्खिरहेका छन्। 

६२ प्रतिशत प्रेसिङ्ट रिपोर्टिङपछिको थप परिणाम अझै आइसकेको छैन । साँंझतिरै आउने अपेक्षा गरिए पनि त्यसो हुन सकेको छैन। 

यो स्थितिमा २६.९ प्रतिशत मतका साथ मेयर पिट बजिजजले साँघुरो अग्रता बनाएका छन्। दोस्रो स्थानमा रहेका स्याण्डर्स २५.१ प्रतिशत मतका साथ उनलाई पछ्याइरहेका छन्। पाँचकुने प्रतिस्पर्धा देखिएको आयोवामा एलिजावेथ वारेन (१८.३) , जो बाइडेन ( १५.६) मी क्लाउवाउचर (१२.६)  क्रमश: तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन्। 

आयोवा डेमोक्रेटिक पार्टीको ककस एप्स क्र्यास भएपछि मतपत्रको म्यानुअल गणना भैरहेको बताइएको छ। यही कारण मतपरिणाम आउँन ढिलाइ भैरहेको हुन सक्छ।

आयोवा ककसमा भएको यो प्राविधिक त्रुटी अन्य राज्यमा दोहोरिन नदिन डेमोक्रेटिक पार्टी लागेको बताइएको छ । 

प्रकाशित मिति: : 2020-02-05 23:39:17

प्रतिकृया दिनुहोस्