अरुण तेस्रो आयोजनामा जुट्यो एक खर्ब

भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ। आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको हो।

 बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आयोजनामा नेपाली बैंकले रु १५ अर्ब बढी लगानी गरेका छन् भने बाँकी रु ८५ अर्ब लगानी भने भारतीय बैंकले गर्ने भएका हुन्। 

आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी स्थापना गरेको छ। आयोजनाको हाल २५ प्रतिशत भौतिक प्रगति भएको छ। 

कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको वित्तीय व्यवस्थापन भएपछि परियोजनाले थप गति लिने विश्वास गरिएको छ। एसजेभिएनका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानका अनुसार आयोजनामा नेपालका एभरेष्ट र नबिल बैंकले रु १५ अर्ब ३६ करोड लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

यस्तै भारतीय बैंकहरु स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेशनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय आयात निर्यात बैंक (एक्जिम) ले रु ८५ अर्ब ९७ करोड ८८ लाख ऋण लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ। 

आयोजनाको प्रवद्र्धक एसजेभिएनले करिब रु २५ अर्ब स्वपूँजीका रूपमा लगानी गरेको एसजेभिएनका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ठूलो आयोजनामा लगानी गर्न पाउनु आफूहरुका लागि पनि गौरवको विषय भएको बताए।

आयोजनाको कूल लागत रु एक खर्ब १५ अर्ब बराबर पुग्ने अनुमान गरिएको छ। आयोजनाको संरचना निर्माणका लागि रु एक खर्ब चार अर्ब तथा रु ११ अर्ब रकम भने प्रसारण लाइन निर्माणका लागि खर्च गरिनेछ। 

नेपालमा लगानी ल्याउन भारतीय रिजर्भ बैंकले समेत अनुमति दिएको छ। आयोजना आगामी २०७९ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

आयोजना आगामी २५ वर्षपछि चालू अवस्थामा नै नेपाल सरकारले प्राप्त गर्नेछ। त्यस्तै प्रसारण लाइन निर्माणका लागि समेत भारतको पञ्जाब नेशनल बैंकले रु आठ अर्ब लगानी गर्ने यसअघि नै सहमति भइसकेको छ।

 

प्रकाशित मिति: : 2020-02-07 06:18:57

प्रतिकृया दिनुहोस्