नेपालले अमेरिकालाई दियाे १९१ रनको मध्यम लक्ष्य

दीप सुवेदी

काठमाडाैं

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपालले अमेरिकालाई १ सय ९१ रनको मध्यम लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनायो।

नेपालका लागि विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले। उनले ७९ बलमा ६ चौका र १ छक्कासहित ५९ रन बनाए। उनलाई रस्टी थेरनले ४७ औं ओभरको तेस्रो बलमा अक्षय होमराजको हातबाट क्याच आउट गराए। 

त्यस्तै कुसल मल्लले पनि अर्धशतककीय इनिङ खेले। उनले अमेरिकाविरुद्ध डेब्यु खेलमै अर्धशतक प्रहार गरेका हुन्। मल्लले ५० बलमा  ५० रन बनाउन ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

५० रन बनाएर खेलिरहेका मल्लको विकेट ३५ औं ओभरको दोस्रो बलमा करिमा गोरेले लिएका हुन्। उनले प्रहार गरेको बल एल्मोरे हट्चिनसनले समातेका थिए।

मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशत बनाउने सबभन्दा कान्छा खेलाडी समेत बनेका छन्। १५ वर्ष ३४० दिनमा उनले अर्धशतक पुरा गरेका हुन्।   

यसअघि नेपालकै रोहितकुमार पौडेलले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध १६ वर्ष १४६ दिनमा अर्धशतक बनाएका थिए। 

मल्लले आउट हुनुपूर्व विनोद भण्डारीसँग मिलेर ६९ रनको साझेदारी पनि गरेका थिए।

कप्तान ज्ञानेन्द्र मल्लले ३९ बलमा ४ चौका प्रहार गर्दै २१ रन बनाए। कप्तान मल्ललाई १३ औं ओभरको पाँचौ बलमा क्यामरोन स्टेभेन्सनले आउट गरेका थिए। उनी स्टेभेन टेलरको हातबाट क्याच आउट भए।

५२ बलमा २ चौका प्रहार गर्दै १९ बनाएका पूर्वकप्तान पारस खड्का १७ औं ओभरको अन्तिम बलमा आउट भए। उनी क्यामरोन स्टेभेन्सनले फ्याँलेको बलमा आउट भएका थिए। पारस आउट हुनुपूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग ४० रनको साझेदारी गरेका थिए।

नेपालले सुवास खकुरेललाई ३ रनमा गुमाएको थियो। तेस्रो ओभरको पहिलो बलमा रस्टी थेरनले गरेको बलिङमा मोनाङक पटेलको हातबाट क्याच आउट भएका थिए।

यस्तै करण केसी १२ रनमा आउट भएका थिए। आउट हुनुपूर्व उनले विनोद भण्डारीसँग २१ रनको साझेदारी गरेका थिए। उनी टेलरकै बलमा आउट भएका हुन्। उनले प्रहार गरेको बल अक्षय होमराजले समातेका थिए।

यस्तै अविनाश बोहोराले नट आउट ५ रन बनाए। यसअघि सुशन भारी ११ रनमा आउट हुँदा  उपकप्तान दीपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने शून्य रनमै आउट भए।

अमेरिकाको लागि क्यामरोन स्टेभेन्सनले ३ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै ३ चौका र १ छक्कामा ३० रन दिएर ३ विकेट लिएका थिए। रस्टी थेरन र कप्तान सौरभ नेट्रावाल्करले समान २–२ विकेट लिए। यस्तै एल्मोरे हट्चिनसन, इयान होल्यान्ड र करिमा गोरेले पनि एक एक विकेट हात पारे।

नेपाल–ओमान र अमेरिकाबीच एक साता चल्ने त्रिदेशीय प्रतिस्पर्धामा हरेक देशले दुई–दुई गरी चार खेल खेल्दैछ। सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका भएकाले नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ। उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ।

नेपाल भने एक खेल खेल्दा अंकविहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा छ।

प्रकाशित मिति: : 2020-02-09 02:24:02

प्रतिकृया दिनुहोस्