‘डेब्यू’मै कुशल चम्किएपछि नेपालसँग अमेरिका स्तब्ध

दीप सुवेदी

काठमाडाैं

‘डेब्यू’ खेलाडी कुशल मल्लको उत्कृष्ट प्रदर्शनसँगै घरेलु टोली नेपालले काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालसँग अमेरिका ३५ रनले पराजित भएकाे हाे। नेपालले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याउन नसकेकाे अमेरिका १५५ रनमा समेटियो।

अमेरिकाका लागि इयान होल्यान्डले ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन्। उनले १ सय ११ बलमा ७ चौका प्रहार गरेका थिए। उनलाई ४०औं ओभरको चौथो बलमा करण केसीले विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गराए। उनको विकेट पतनसँगै खेलमा नेपाल हावी भएकाे थियाे। 

चार विकेट हात पारेका करण केसी प्लेयर अफ द म्याच भए । उनले नेपालको खातामा महत्वपूर्ण १२ रन पनि जोडेका थिए। 

अमेरिकाका लागि क्यामरून स्टेभेन्सनले १९ रन बनाए। उनलाई सुशन भारीले ३२औं ओभरको पाँचौ बलमा विकेटकिपर भण्डारीमार्फत क्याच गराए। यस्तै २० बलमा १० रन बनाएका करिमा गोरलाई सुशनले नै  १६औं ओभरको चौथो बलमा पारस खड्काको हातबाट क्याच आउट गराए।

यसअघि सुशनले नै १०औं ओभरको पहिलो बलमा अक्षय होमराजलाई विकेटकिपर भण्डारीमार्फत क्याच गराएका थिए। आउट हुनुपूर्व होमराजले १९ बलमा ५ रन बनाएका थिए। 

१२ बलमा ३ रन बनाएर खेलिरहेका एल्मोर हचिन्सन २१औं ओभरको पहिलो बलमा बोल्ड भए। उनको विकेट कुशल मल्लले लिएका थिए। कुशलले डेब्यु खेलमा बलिङतर्फ पनि मेडनबाट सुरुवात गरेका थिए। 

सन्दीप लामिछानेले एरोन जोन्सलाई एलबीडब्ल्यू धरापमा पारे। जोन्सले ५ रन बनाएका थिए। लामिछानेले नै मोनान्क पटेललाई एलबीडब्ल्यू आउट गरे। पटेलले ४ बलमा १ चौकासहित ४ रन बनाएका थिए। 

यस्तै करणले ज्याभिर मार्शललाई विकेटकिपर भण्डारीमार्फत क्याच गराए। यसअघि करणले नै स्टेभन टेलरलाई दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गराएका थिए।

मार्शलले ४ बलमा २ रन बनाए भने टेलर शून्यमै आउट भए।

नेपालका लागि सुशान भारीले तीन विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ४३ रन खर्चिएर ३ विकेट लिएका हुन्। करण केसीले चार विकेट लिए। सन्दीप लामिछानेले २ विकेट लिए।  

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनायो।

नेपालका लागि विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले। उनले ७९ बलमा ६ चौका र १ छक्कासहित ५९ रन बनाए। उनलाई रस्टी थेरनले ४७ औं ओभरको तेस्रो बलमा अक्षय होमराजको हातबाट क्याच आउट गराए। 

त्यस्तै कुशल मल्लले पनि अर्धशतककीय इनिङ खेले। उनले अमेरिकाविरुद्ध डेब्यु खेलमै अर्धशतक प्रहार गरेका हुन्। मल्लले ५० बलमा  ५० रन बनाउन ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

५० रन बनाएर खेलिरहेका मल्लको विकेट ३५औं ओभरको दोस्रो बलमा करिमा गोरेले लिएका हुन्। उनले प्रहार गरेको बल एल्मोरे हट्चिनसनले समातेका थिए।

मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबभन्दा कान्छो खेलाडी समेत बनेका छन्। १५ वर्ष ३४० दिनमा उनले अर्धशतक पूरा गरेका हुन्।   

यसअघि नेपालकै रोहितकुमार पौडेलले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध १६ वर्ष १४६ दिनमा अर्धशतक बनाएका थिए। 

मल्लले आउट हुनुपूर्व विनोद भण्डारीसँग मिलेर ६९ रनको साझेदारी पनि गरेका थिए।

कप्तान ज्ञानेन्द्र मल्लले ३९ बलमा ४ चौका प्रहार गर्दै २१ रन बनाए। कप्तान मल्ललाई १३ औं ओभरको पाँचौ बलमा क्यामरोन स्टेभेन्सनले आउट गरेका थिए। उनी स्टेभेन टेलरको हातबाट क्याच आउट भए।

५२ बलमा २ चौका प्रहार गर्दै १९ बनाएका पूर्वकप्तान पारस खड्का १७ औं ओभरको अन्तिम बलमा आउट भए। उनी क्यामरोन स्टेभेन्सनले फ्याँलेको बलमा आउट भएका थिए। पारस आउट हुनुपूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग ४० रनको साझेदारी गरेका थिए।

नेपालले सुवास खकुरेललाई ३ रनमा गुमाएको थियो। तेस्रो ओभरको पहिलो बलमा रस्टी थेरनले गरेको बलिङमा मोनाङक पटेलको हातबाट क्याच आउट भएका थिए।

यस्तै करण केसी १२ रनमा आउट भएका थिए। आउट हुनुपूर्व उनले विनोद भण्डारीसँग २१ रनको साझेदारी गरेका थिए। उनी टेलरकै बलमा आउट भएका हुन्। उनले प्रहार गरेको बल अक्षय होमराजले समातेका थिए।

यस्तै अविनाश बोहोराले नट आउट ५ रन बनाए। यसअघि सुशन भारी ११ रनमा आउट हुँदा  उपकप्तान दीपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने शून्य रनमै आउट भए।

अमेरिकाको लागि क्यामरोन स्टेभेन्सनले ३ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै ३ चौका र १ छक्कामा ३० रन दिएर ३ विकेट लिएका थिए। रस्टी थेरन र कप्तान सौरभ नेट्रावाल्करले समान २–२ विकेट लिए। यस्तै एल्मोरे हट्चिनसन, इयान होल्यान्ड र करिमा गोरेले पनि एक एक विकेट हात पारे।

नेपाल–ओमान र अमेरिकाबीच एक साता चल्ने त्रिदेशीय प्रतिस्पर्धामा हरेक देशले दुई–दुई गरी चार खेल खेल्दैछ। सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने प्रवेश ढोका भएकाले नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

लिगको अन्तर्गत अमेरिका शीर्ष स्थानमा रहेको छ। उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ। नेपालले अमेरिकालाई पराजित गरेर जितको खाता खोलेको छ। पहिलो खेल ओमानसँग गुमाएको नेपालले दुई खेलबाट दुई अंक हासिल गरेको छ।


 

प्रकाशित मिति: : 2020-02-09 05:41:57

प्रतिकृया दिनुहोस्