अष्ट्रियाको एनआरएनभित्र भाँडभैलोः महासचिवको आदेश लाग्ला?

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाभित्र चलिरहेको फोहोरी राजनीतिलाई सफा गर्न महासचिव हेमराज शर्माको वक्तव्य काम लाग्ला जस्तो देखिएको छ। शर्माले नेपालका विभिन्न राजनीतिक दलमा लागेका संघसंस्थामा सकृय व्यक्तिलाई एनआरएनए छाड्न निर्देशन दिँदै वक्तव्य जारी गरेका छन्। 

एनआरएनए अष्ट्रियाका अध्यक्ष विनोद चौलागाईँ वामपन्थी भएकै कारण लोकतन्त्रवादी समूहका पराजित ध्रुव पौडेल र महासचिवमा विजयी भवानी तिवारी मिलेर असहयोग गरिरहेका थिए। यतिसम्म कि विधिवत् प्रजातान्त्रिक प्रकृयाबाट निर्वाचित विनोदको कार्यसमितिले धाँधली गरेर जित्यो भनेर महासचिवको नाममा वक्तव्य जारी गरि अध्यक्षलाई हटाउने काम समेत भएकाे थियाे। अध्यक्ष विनोदले पनि महासचिव लगायतको समूहलाई निस्कासित गरेका थिए।  

केन्द्रमा दुवै समूहको हारगुहारपछि पूर्व अध्यक्षहरु जीवन कुँवर र धर्मराज खतिवडा झगडा मिलाउन कम्मर कसेर लागेका थिए। अध्यक्ष विनाेदले माफी माग्नुपर्ने माग महासचिव तिवारीले अघि सारेका थिए। तर, अध्यक्ष विनाेदले आफू लोकतान्त्रिक विधिबाट निर्वाचित भएर आएकाे हुनाले कुनै गल्ती नगरेको अवस्थामा माफी माग्ने टाढाकाे कुरा विना संकोच संघका काम गर्न पाउनु पर्ने आवाज उठाएका थिए। यि दुईकाे आ–आफ्नै तर्कपछि पूर्व अध्यक्षद्धय पनि कुरा मिलाउन नसकेर पछाडि हटेका थिए। 

अष्ट्रियामा जम्माजम्मी एकहजार नेपालीको बसोबास छ। भियनामा आधा जति नेपाली बसाेबास गर्छन्। यिनीहरु प्राय: काँग्रेस र कम्युनिष्ट राजनीतिमा बाँडिएका छन्। 

वैधानिक रुपले एउटा कार्यसमिति निर्वाचित भइसकेकाे अवस्थामा अर्को कार्यकाल नकुरेर वैधानिक रुपमा निर्वाचित समितिलाई असफल पार्न ध्रुव पौडेलले कलाकारहरुको सँस्था इनासलाई सक्रिय गराइरहेकाे आराेप छ। इनासले एनआरएन वैठकलाई प्रभावित तुल्याउन कार्यक्रम जुधाउँने गरेकाे छ। 

वामपन्थी खेमाका टाठाबाठा जसरी पनि जितेरै छाड्ने अडानमा छन्। दुवै समूहको रस्साकस्सीका बीच यहाँकाे एनआरएन अलपत्र र बदनाम बन्न थालेकाे छ। अध्यक्ष विनाेद तुलनात्मक रुपमा सोझा र सामूहिक रुपमा मिलेर जाउँ भन्ने खालकाे रहेकाे धेरैकाे बुझाई छ। उनकाे यही  सोझोपनाको फाइदा अर्काे पक्षले लिएर गाईजात्रा देखाइरहेका छन्। जनसम्पर्क समितिका एक सदस्यले बिएल नेपाली सेवालाई भने, ‘यसरी पौडेलजीको गतिविधिले हाम्रो संस्थालाई नै घाटा पुगिरहेको छ। चुनाव त अर्कोपटक पनि आउँछ नि। अहिलेको कार्यसमितिलाई काम गर्न दिएर गए हुन्थ्यो। साथीहरुलाई किन भड्काएको होला ?’

पूर्वमाओवादी समूह र पत्रपत्रिकामा लेख लेखिरहने एक पत्रकारले भने, ‘यसैगरी जाइलाग्ने हो भने एक भएका वामपन्थी पनि के चुप लागेर बस्लान् र ?’ 

विदेशमा आएर राजनीतिको तानातानमा लागेको देख्ने एक महिला बुद्धिजीवी भन्छिन्, यहाँ आएर पनि उस्तै नेपालीहरु। राजनीतिमा लाग्नेहरु उतै लागुन् तर एनआरएनलाई फोहोरी नपारुन् । यसअर्थमा महासचिवको आदेश यता लागिदिए हुन्थ्यो । ’

 

प्रकाशित मिति: : 2020-02-13 09:38:59

प्रतिकृया दिनुहोस्