प्रशिक्षक टमाटाले पाए राष्ट्रिय टोलीको जिम्मेवारी

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्व प्रशिक्षक जगत टमाटालाई दिएको छ। भारतीय प्रशिक्षक उमेश पटवालले राजीनमा दिएपछि रिक्त रहेको पदमा उनलाई नियुक्त गरिएको हो। 

नयाँ विदेशी प्रशिक्षक नियुक्त नहुन सम्म जगत टमाटाले नै जिम्मेवारी सम्हाल्ने नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताएका छन्। पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज पछि लागु हुनेगरि दुई हप्ताअघि नै राजीनामा दिएका थिए। 

पटवालको राजीनामा केहि दिनमा नै स्वीकृती भएर आधिकारिक रुपमा आउने क्यानले जनाएको छ। पटवालको राजीनामासँगै नेपालको सिनियर प्रशिक्षक टमाटाले नै हेर्ने छन्।

यस्ताे छ पटवालको ८ महिना 

१७ जेठ, २०७६ मा नेपालको प्रमुख प्रशिक्षक पटुवाल नियुक्त भएका थिए। मुम्बइका पटवालसँग यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गरेको अनुभव थियो। सन् २०१४ को टी–२० विश्वकप र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए।

त्यसपछि उनले अफगानिस्तानको घरेलु लिगमा प्रशिक्षक भएर काम गरेका थिए। पछिल्लो पटक उनले रासिद खानले कप्तानी गरेको अफगानिस्तानको घरेलु लिगको प्रशिक्षण सम्हालेका थिए।

अफगानिस्तानका सिनियर खेलाडीहरु मोहम्मद साहजाद र मोहम्मद नाबीले अफगानिस्तानको सफलतामा पटवालको योगदान रहेको बताएका थिए। 

पटवाल आइपिएल टिम कोची टस्कर्ससँग पनि आवद्ध थिए। पटवाल विशेषगरी खेलाडीको आत्मविश्वास बढाउन र खेल बुझाउन सक्ने क्षमता भएको प्रशिक्षक मानिन्छन्।

अफगातिस्तानको  प्रशिक्षक बन्नुअघि उनले नागपुरस्थित विदर्भ क्रिकेट एसोसिएसनको एकेडेमी, ग्लोबल क्रिकेट स्कुल र मुम्बइको पायडे क्रिकेट क्लबको प्रशिक्षण सम्हालेका थिए।

त्यपछि उनी नेपाल आएका थिए। नेपाल आएपछि उनले पटवालको कार्यकालको सुरुवात मलेसियाविरुद्ध दुईवटा टि–२० सिरिजबाट भएको थियो। दुवै म्याचमा नेपालले सहज जित हात पार्दै उनको सुरुवात राम्रो भएको थियो। तर, सिंगापुरमा भएको विश्वकप छनोटमा नेपाल कतार र सिंगापुरजस्ता कमजोर राष्ट्रहरुविरुद्ध पराजित भयो। मलेसिया र कुवेतविरुद्धका दुई जितमा नेपालले चित्त बुझायो। अंक तालिकामा नेपाल सिंगापुर र कतारभन्दा तल तेस्रो स्थानमा रहन पुग्यो र विश्वकप सपना टुंगियो। 

विश्वकप छनोटको पहिलो म्याचमै नेपाल १ सय २२ रनमा समेटियो। कतारले नेपालले दिएको १ सय २३ रनको लक्ष्य ६ विकेटमा भेट्टायो।

दोस्रो म्याच र तेस्रो म्याचमा नेपालले कतार र कुवेतविरुद्ध समान ७ विकेटको जित हात पार्‍यो। तर, सिंगापुरसितको निर्णायक म्याचमा नेपाल हार्‍यो। 

त्यसपछि सेप्टेम्बरमा नेपालले जिम्बाबे र सिंगापुरविरुद्ध सिंगापुरमै त्रिकोणात्मक टि–२० सिरिज खेल्यो। यसमा पनि नेपालको प्रदर्शन सुखद रहेन। नेपाल जिम्बाबेसँग दुवै म्याचमा पराजित भयो। सिंगापुरविरुद्ध ९ विकेटको जित हासिल गर्‍यो।

गत अक्टोबरमा नेपालले ओमानमा पाँच राष्ट्र सम्मिलित टि–२० सिरिज खेल्यो। त्यसमा नेपालले मिश्रित नतिजा निकाल्यो। ओमान, हङकङ, आयारल्यान्ड, नेदरल्यान्ड्स र नेपाल सो प्रतियोगितामा सहभागी थिए। हङकङ र नेदरल्यान्ड्सविरुद्ध जित हासिल गर्दै उत्कृष्ट सुरुवात गरे पनि नेपाल आयरल्यान्ड र ओमानसँग पराजित भयो। 

गत नोभेम्बरमा नेपालले मेरिलबोर्न क्रिकेट क्लवविरुद्ध किर्तिपुरमा तीन म्याचको एकदिवसीय श्रृंखला खेल्यो। पहिलो म्याचमा नेपालले एमसीसीमाथि पाँच विकेटको जित हासिल गर्‍यो। तर त्यसपछि खेलाइएको तीन दिवसीय म्याचमा नेपालले २ सय ८ रनको हार व्यहोर्‍यो। यसैगरी, टि–२० मा पनि नेपाल सहजै पराजित भयो।

हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा पनि नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेन। बंगलादेश र श्रीलंकाका अन्डर २३ टिमसँग पराजय स्वीकारेको नेपाल मालदिभ्स र भुटानजस्ता कमजोर राष्ट्रविरुद्धको जितमै चित्त बुझाउन वाध्य भयो। 

काठमाडौंमा सम्पन्न भएको नेपाल–अमेरिका–ओमानबीचको सिरिज पनि नेपालको प्रदर्शन सोचेजस्तो भएन।

चार खेलमध्ये नेपालले दुईवटा जित निकाल्यो र दुई हार व्यहोर्‍यो। दुवै जित अमेरिकाविरुद्ध थिए। 

समग्रमा पटवालको कार्यकालमा १२ जित र १२ हार सहित नेपालको प्रदर्शन मिश्रित छ।
 

प्रकाशित मिति: : 2020-02-13 10:54:37

प्रतिकृया दिनुहोस्