समस्या 'ओली-कार्यशैली' हो- अरूतिर औला ठड्याएर के हुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो ७३१ दिने ' शासन उत्सव' मनाइरहेका छन्। उनको यो उत्सवसँगै मुलुकमा एउटा नयाँ वहस सुरू भएको छ। बहसले मुलकलाई 'फुटाउ र शासन गर'को ठाडो चिरामा विभाजित गरेको छ।

एकातिर ओली क्याम्प छ। ऊ भनिरहेको छ, मुलुक समृद्ध नेपाल सुखी नेपालीको राजमार्गमा छ। उनको विपक्षमा रहेको अर्कोथरि त्यसलाई स्वीकार्न तयार छैन। उसको दाबी छ, ' मुलुक अधिनायकबादको बाटोमा छ।'  

यी दुईथरि मूलधारका मिडियादेखि सामाजिक सञ्जालसम्ममा पौठेजोरी खेलिरहेका छन्। सत्तामा हुनेले 'रामराज्य' देखिरहेका छन्, विपक्षमा हुनेले रावणराज्य। किनकि, राजनीतिले उनीहरूलाई यस्तो दृष्टि दिएको हुन्छ कि न हेडलाइन क्लिन हुन्छ न बिट इन द लाइन। 

यस अतिरिक्त मुलुकमा तेस्रो थरि पनि छन्, जसलाई यो सब नाटक लाग्छ, वर्षौैदेखि मञ्चन भैरहेको यो नाटकको अर्को श्रृङ्खला हो। पात्रहरू उही हुन् खालि वल्लो घरको पल्लो घर सरे भनेर चरित्र परिवर्तन गरेका मात्र हुन्।

उनीहरू ठान्छन्, मुलुकमा केही नै भएको छैन भन्ने निष्कर्ष पनि गलत हो, अचाक्ली भयो भन्ने कुरा पनि गलत हो। मुलुकमा सामान्य गतिमा जे हुनुपर्ने हो, त्यो भएको छ। तर, प्रधानमन्त्री ओलीले ७३१ दिनअघि वाचा गरेजस्तो भएको छैन, न उनको ओज नै ७३१ दिनअघिको जस्तो छ।

मुलुकले ओली संकथनका कारण नै बितेका दुई वर्ष उस्तै दिनका रूपमा बितायो। अब आउने तीन वर्ष त यीभन्दा पनि खराब दिन हुनेछन्। किनकि, ओली संकथनकै कारण मुलुकमा सोचेजस्तो केही हुदैन, त्यसको दोष उनी अरूलाई थोपर्न थाल्छन्।

ओली नेपाली राजनीतिका एक फरक खाले संकथन हुन्। उनी अतिवादी छन्, आफ्नो बाहेक बाँकिको सत्य पनि तथ्य हुन्छ भन्ने स्विकार्दैनन्। उनी आफ्ना मान्छेले जे गरे पनि कृष्णलीला र मन नपरेको मान्छेले जे गरे पनि रासलीला देख्छन्। आफ्ना मान्छेका लागि उनी जे गर्न पनि तयार हुन्छन् र ती हरेक नाकामका लागि उनीसँग आफ्नै खाले तर्क/कुतर्क हुन्छन्। आफ्ना विरोधीप्रति त उनी असहिष्णु हुन्छन् नै, आलोचकलाई पनि सहदैनन्। उनलाई पढेलेखेका, विवेक भएका, आलोचनात्मक चेत भएका मानिस मन पर्दैनन्। उनलाई वरिपरि जे गरे पनि 'गजब' भन्ने जोजोम्यानहरू चाहिन्छ। 

हामी छिट्टै विस्मृतिमा जाने चलन छ । तर, त्यसो नगर्ने हो र केही समयको फ्लासब्याकमा जाने हो भने लगभग यस्तै चरित्र गिरिजाप्रसाद कोइरालामा पनि थियो । उनी आफूलाई केन्द्रमा राखेर मात्र सोच्थे । त्यही चरित्र अलि एक डिग्रीमाथि छ ओलीमा। 

साँच्चै भन्ने हो भने ओलीमा न कम्युनिष्ट चरित्र छ, न लोकतान्त्रिक । उनी वंश, पुराण, जादू टुनामुनामा विश्वास गर्छन् जुन कम्युनिष्ट चरित्रसँग कति पनि मेल खादैन। उनी अरूको कुरा सुन्न नै चाँहदैनन्, त्यो लोकतान्त्रिक चरित्र नै हैन। उनीसँग हरेक कुराको चोथाले ओठेजवाफ हुन्छ। 

ओली आफ्नो कमजोरी त स्विकार्दैनन् नै, आफ्नो कमजोरी पनि साखुल्ले बनेर सजिलै अरूको थाप्लोमा पन्छाइ दिन्छन्। त्यसका लागि पनि उनीसँग आफ्नै तर्क हुन्छन्, चाहे त्यो कुतर्क नै किन नहोस्।

यसरी नै वर्षौसम्मको अभ्यासले आजको ओली संकथन बनेको छ। र, मुलुकका लागि सबैभन्दा ठूलो समस्या पनि यही नै हो। यही कारण देश ७३१ दिनमा जुन गतिमा अगाडि बढ्नुपर्थ्यो- बढेन। यो सत्य हो, तर उनी यो स्विकार्न तयार छैनन्, उनीबाट लाभान्वित भएका 'जोजोम्यान'हरूले त यसै पनि सीता खाएपछि गीता गाउँने नै भए। 

यो पनि घाम जतिकै सत्य हो कि ओलीले यो अवधिमा नेपालको सत्तामा रजाइँ नै गरेका छन्। पार्टीलाई कब्जामा राखेर उनले कुकुरले पुच्छर हैन, पुच्छरले कुकुर हल्लाए। यो सत्यलाई नांगा आँखाले देखेका र दास मानसिकताभन्दा माथि उठेर अनुभूत गर्ने हो भने सत्य यही हो । यही सत्यलाई आत्मसात गर्ने हो भने उनले यो वा त्यो कारणले गर्न सकिन भन्ने ठाउँ नै छैन। न यसका लागि उनले अरूलाई दोष नै दिन सुहाउँछ। 

केही मानिस प्रश्न गर्छन्, ओली संकथन फेर्लान् त उनले ? ओलीलाई नजिकबाट बुझेकाहरू त्यस्तो ठान्दैनन् । किनकि, ओली भनेको यो वा त्यो नाममा 'जंगले बोेलेपछि बोल्यो बोल्यो' नै हुन् । 

ओलीले आफ्ना लागि, पार्टीका लागि अनि देश र जनताकै लागि केही गर्ने सुनौलो अवसर पाएका हुन्। तर, नेपालको इतिहासमै विरलै उपलव्ध त्यस समयको सदुपयोग गर्न सकेनन् । यसको मूलकारण उनको कार्यशैली, सोच र कोण नै हो- जसले बनाएको छ, 'ओली संकथन'। अहिले मुलुकको समस्या भनेकै यही 'ओली संकथन' हो। यसले नेपाललाई न समृद्ध बनाउँछ, न नेपालीलाई सुखी। बोल्नलाई त जे बोले पनि हुन्छ किनकि बोल्दा जिब्रोलाई ठेस लाग्ने हैन।

मुलुकले ओली संकथनका कारण नै बितेका दुई वर्ष उस्तै आयाराम गयाराम दिनका रूपमा बितायो। अब आउने तीन वर्ष त यीभन्दा पनि खराब दिन हुनेछन्। किनकि, ओली संकथनकै कारण मुलुकमा सोचेजस्तो केही हुदैन, त्यसको दोष उनी अरूलाई थोपर्न थाल्छन्। त्यसले गर्दा पार्टीका अरू नेता र स्टेकहोल्डरसँग उनको टसल अरू बढ्छ। यही बीचमा पार्टीको महाधिवेशन पनि होला। महाधिवेशनबाट उनी अध्यक्ष हुने छैनन् । त्यसपछि उनी थप कमजोर हुनेछन्। जसले एकातिर उनमा फ्रस्टेसन बढाउँछ भने त्यही फ्रस्टेसनले उनको स्वास्थ्यमा थप समस्या सिर्जना हुन्छ। तर, पनि उनी सत्ता छोड्नेवाला छैनन् जसको ऋणात्मक असर उनको व्यक्तित्वलाई त पर्नेछ नै, मुलुकलाई पनि पर्नेछ। त्यसपछि ओली पनि सिंहदरवारमा दोहोर्याएर तस्बिर राख्ने प्रधानमन्त्रीमा सिमीत हुन्छन्।

उनका अनुयायीहरू यो सत्य सुन्न तयार छैनन्। त्यसका लागि अब अरू तीन वर्ष पर्खोै भन्न बाहेक के नै पो सकिन्छ र ? ओली संकथनलाई नजिकबाट चिनेको एक केही लिनु नपर्ने कलम हुनुको नाता यति भन्नलाई कुनै आइतबार पर्खनु पर्दैन। किनकि, समस्या फेरि पनि उनको कार्यशैलीकै हो र ओली संकथनले त्यसलाई फरक हुन नै दिदैन।

एउटा चर्चित संकथन छ, एउटा मानिसको गालामा फोहोर थियो । ऐेना हेर्यो फोहोर देख्यो। उसले त्यो फोहोर नदेख्न ऐेना फेर्दै गयो। तर, जति  ऐेना फेरे पनि गालाको फोहोर देखिन छोडेन। किनकि, फोहोर ऐेनामा थिएन, उसको गालामा थियो। ओलीको समस्या पनि त्यही हो, समस्या ओली संकथनमा छ। तर, उनी त्यो स्वीकार्दैनन्। बरू, ऐेना फेर्ने प्रवृतिमा अरूमा समस्या देखिरहेका छन् र त्यसलाई यो वा त्यो नाममा फेरिरहेका छन्।

केही मानिस प्रश्न गर्छन्, ओली संकथन फेर्लान् त उनले ? ओलीलाई नजिकबाट बुझेकाहरू त्यस्तो ठान्दैनन् । किनकि, ओली संकथन रातारात बनेको हैन, यो बन्नका लागि उनले सारा जीवन खर्च गरेका छन्। उनको चरित्रलाई हेर्दा उनी त्यसलाई स्विकारेर सच्याउने प्राणीमा पर्दैनन्। किनकि, ओली भनेको यो वा त्यो नाममा 'जंगेले बोेलेपछि बोल्यो बोल्यो' नै हुन् । 

यो अक्षरकर्मी पनि चाहन्छ, ओली संकथनमा परिवर्तन आओस् र साँच्चै  नै समृद्ध नेपाल सुखी नपाली बनुन् । तर, ओलीले क्याविनेटदेखि किचेन क्याविनेटमा राखेका 'भरेका बन्दुकहरू' पडि्करहेको देख्दा त्यो सम्भावना कमै छ। यो खुशीको कुरा हैन, पीडाको संकेत हो।

 

प्रकाशित मिति: : 2020-02-16 16:38:43

प्रतिकृया दिनुहोस्