काेराेना भाइरस : ज्यान गुमाउनेकाे संख्या १८ सय नाघ्याे

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय ६८ पुगेको छ। 

सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो। एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ७४ हजार चार सय ३६ पुगेको चीनको स्वास्थ्य आयोगले जनाएको छ। 

कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ। फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ।

बेइजिङमा रहेको वित्तीय र समाचार मिडिया सङ्गठन, केग्सनले कोरोनाका कारण तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताएको छ। यो संख्या चीन सरकारले दाबी गरेको भन्दा झण्डै दोब्बरले बढी हो। 

गएको १४ फेब्रुअरीमा सरकारी तथ्याङ्कले कोरोना सङ्क्रमितको उपचारमा खटिएका एक हजार सात सय १६ जना चिकित्सक सङ्क्रमित भएको देखाएको थियो। 

‘८० प्रतिशतभन्दा बढी बिरामी हल्का लक्षण देखिएपछि ठिक हुन्छन्। १४ प्रतिशत निमोनिया जस्तो गम्भीर र जटिल समस्याबाट पीडित हुने गरेका छन्। पाँच प्रतिशत गम्भीर स्थितिमा छन् र दुई प्रतिशत रोगबाट मर्ने गरेको चिनियाँ स्वास्थ्य तथ्याङ्कले देखाउँछ’, विश्व स्वास्थ्य सङ्गठन प्रमुखले भनेका छन्।   

प्रकाशित मिति: : 2020-02-18 20:21:36

प्रतिकृया दिनुहोस्