प्रदेश ५ काे राजधानी र नाम छिटो टुंगो लगाउन माग

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन माग गरेको छ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अष्टभुजा पाठकले संसद बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए।

‘दुई वर्ष बित्दासम्म राजधानी र नामको टुंगो नलगाइ अनावश्यक ढिलाइ गर्ने काम भइरहेको छ,’ सांसद पाठकले भने, ‘जति घुमाउन खोजे पनि संसदबाटै छिनोफानो गर्ने हो, छिटो प्रस्ताव ल्याइयोस् अन्यथा कांग्रेसले संसद अवरुद्ध गर्छ।’

स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेश गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो।

समितिले ५० लाख रुपैयाँ बढी बजेट सकेर करिब दुई वर्ष समय लगाएर प्रतिवेदन प्रदेशसभा सचिवालयमा बुझाइसकेको छ। प्रतिवेदन बुझाएको तीन महिना लाग्दा समेत उक्त विषय संसदमा प्रवेश भएको छैन। 

प्रकाशित मिति: : 2020-02-19 05:14:12

प्रतिकृया दिनुहोस्