‘ट्रम्प सर, तपाई मेरो भगवान हो’

बिएल संवाददाता

नयाँदिल्ली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  फेब्रुअरी महिनामा भारतको भ्रमण गर्ने भएका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले यही फेब्रुअरी महिनाको २४ र २५ तारिखमा भारत भ्रमण गर्ने उल्लेख छ । 

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले राजधानी दिल्लीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर अहमदावादको समेत भ्रमण गर्ने जनाइएको छ ।  राष्ट्रपति ट्रम्पको भव्य स्वागतको लागि भारतले तयारी गर्दै छ।

यता तेलङ्गनाका जनगाँउका एक जनाले ट्रम्पको मुर्ति बनाएर पूजा गर्ने गरेको समाचार संस्था एएफपीले जनाएको छ।  

एएफपीका अनुसार उक्त गाँउका ३३ वर्षिय बुस्सा कृष्णले आफ्नो घर पछाडि ट्रम्पको मुर्ती बनाएर पूजा गरेका हुन्। उनले हिन्दु परम्पराअनुसार दिनहुँ पूजाआजा गर्ने गरेका छन्। 

‘ट्रम्प सर तपाई मेरो भगवान हो’, कृष्णले भने, ‘भारतमा स्वागत छ, म एकदमै खुशी छु।’

कृष्णले फेसबुक र इन्स्टाग्राममा ट्रम्प लेखिएको निलो र रातो टि–सर्ट लगाएर मुर्ति पूजा गरिरहेको तस्बिर समेत सेयर गरेका छन्।  

ट्रम्पले प्रधानमन्त्री मोदीको गृहप्रदेश गुजरातमा रहेको विश्वकै सबैभन्दा ठुलो स्टेडियम सरदार भल्लाभभाई पटेलको उद्घाटन गर्दैछन्।

उनलाई ‘नमस्ते ट्रम्प’ नामक र्‍याली अन्तरर्गत एक लाख १० हजार जनाले स्वागत गर्नेछन्। यसअघि सन् २००२ मा गुजरातमा भएको मुसलमानविरोधी दंगाका विषयलाई लिएर अमेरिकाले त्यसबेला गुजरात राज्यका मुख्यमन्त्री रहेका मोदीलाई अमेरिका भ्रमणका लागि भिसा दिएको थिएन।
 

प्रकाशित मिति: : 2020-02-20 04:35:09

प्रतिकृया दिनुहोस्