सञ्चारमन्त्रीकाे ७० करोड कमिसन ‘टेप काण्ड’: आजै राजीनामा गराउने तयारी (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधामन्त्री केपी ओलीले राजीनामा गराउने भएका छन्।

स्वीस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) सँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिरेपछि प्रधामन्त्री ओलीले सञ्चारमन्त्रीलाई राजीनामा दिन भनेको बताइएको छ।

बालुवाटार स्रोतका अनुसार सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउने भएका छन्। प्रधानमन्त्रीज्यूले उहाँ (मन्त्री बाँस्कोटा)लाई आज बोलाउनु भएको छ,’ एक अधिकारीले भने,‘ आज नै उहाँले राजीनामा गराउनु हुनेछ।’

मन्त्री बाँस्कोटा कतिपय दलालहरुले आफूसँग आर्थिक लेनदेनका विषयमा कुराकानी गर्ने र मोबाइलमा रेकर्ड गर्ने प्रयास गरेको बताएका थिए। त्यसो गर्न खोज्नेलाई आफूले ‘मलाई कति दिन्छौ’ भन्दै प्रश्न सोध्ने गरेको सुनाएका थिए।

हिजो राती बाँस्कोटाको कमिसन मागेको अडियो टेप सार्वजनिक भएको थियो। यसअघि मन्त्री बाँस्कोटाले आफूलाई दुईवटा कुरामा कसैले फसाउन नसक्ने हाँक दिने गरेका थिए,– एउटा मीटू र अर्को घुस।

तर, विहीबार सार्वजनिक भएको अडियो र त्यसमा प्रयुक्त भाषाले मन्त्री बाँस्कोटामाथि गम्भीर प्रश्न उठाइदिएको छ।

मन्त्री बाँस्कोटाको अडियो टेप बाहिरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ। पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विशप्ती जारी गर्दै यस्तो माग गरेका हुन्। 

यसैगरी साझा पार्टी नेपाल र राष्ट्रिय प्राजतन्त्र पार्टी नेपालले पनि मन्त्री बाँस्कोटाको राजीनामा मागेका छन्। 

के थियो अडियोमा ?

मन्त्री बाँस्कोटाले केबीए नोटासिसका नेपाल प्रतिनिधिसँग कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएको हो। मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग कुन ट्रयाकबाट जाँदा कमिसन बढी पाइन्छ भन्नेबारे सल्लाह गरेको अडियोमा सुनिन्छ।

अडियोमा स्वीस एम्बेसी आउने भन्दै एजेन्टले मन्त्रीसँग समय मिलाउन भनेका छन्। मन्त्री बाँस्कोटाले ‘नर्मलमा ५० आउँछ ?’ भनेर सोधेका छन्।

समान्य तवरबाट काम गर्दा थोरै कमिसन आउने भएकाले मिश्रले ‘आउट अफ ट्रयाक’बाट जान मन्त्रीलाई सुझाएका छन्।

यो प्रक्रियाबाट कुल ७० देखि ७४ करोड कमिसन आउने र त्यसको ७० प्रतिशत मन्त्रीलाई मिल्ने मिश्रले मन्त्रीलाई बुझाएका छन्। ५४–५५ करोड मन्त्रीको हात पर्ने मिश्रले बताएका छन्।

मन्त्रीले अडियोमा मिश्रलाई कति प्रतिशत आउँछ त भनेर समेत सोधेको पनि सुनिन्छ।मिश्रले १५–१६ करोड आफूलाई आउने बताएका छन्।  

मन्त्री बाँस्कोटाले अडियोमा २५ देखि २७ अर्बको परियोजना बनाउन लागेको बताएको सुनिन्छ। एजेन्ट मिश्रले पनि परियोजना जतिको बन्छ त्यसकै आधारमा प्रतिशत निर्धारण हुने बताएका छन्।

मिश्रले कुनै कर्मचारीतर्फ संकेत गर्दै ‘उसले बनाएर राखिसकेको छ’ भन्दा मन्त्री बाँस्कोटाले यता २७ अर्बको निस्कियो भने उता २८ अर्बको बनाउन मिश्रलाई भनेका छन्।

मिश्रलाई गत महिला संसदको सार्वजनिक लेखा समितिले बोलाएर विज्ञका रुपमा सुरक्षण मुद्रण योजनाबारे जानकारी लिएको थियो।

उनले मिश्रले यो परियोजनामा ५०–६० मिलियन युरो (साढे ६र७ अर्ब रुपैयाँ) तलमाथि गर्न खोजिएको दाबी गरेका थिए।

प्रतिस्पर्धाका आधारमा सेक्युरेटी प्रिन्टिङ स्थापना नगर्दा राज्यले ६ देखि साढे ९ अर्ब क्षति बेहोर्ने उनको दाबी थियो।

विज्ञ मिश्रका अनुसार स्वीट्जरल्यान्डको केबीए नोटासिस कम्पनीले २०० मिलियन युरोमा नै नोटसहित सबैखालको सुरक्षण मुद्रण स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पुगेको पनि थियो।

तर, त्यसलाई प्रक्रियामा सहभागी नै गराइएन। अहिले गर्न लागिएको सम्झौताअनुसार नोट छाप्ने प्रेस थप्दासम्म ३ सय मिलयन युरो खर्चिनुपर्ने हिसाब–किताब उनले सुनाएका थिए। साढे ७ देखि १० अर्ब झ्वाम पार्ने नियत सरकारको देखिएको उनले दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-02-21 00:30:29

प्रतिकृया दिनुहोस्