प्रतिनिधि सभामा कांग्रेसको विरोधपछि बैठक स्थगित (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि कांग्रेसले बास्कोटालाई बर्खास्त गरी अनुसन्धान अगाडि बढाउन माग गरेको छ । 

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद पुष्पा भूसालले बास्कोटाको बर्खास्तीसँगै कारवाही प्रकृया पछि अगाडि बढाउन माग गरिन्। उनले उक्त घटनामा प्रधानमन्त्री स्वयमले संसदमा आएर जवाफ दिनुपर्ने माग समेत गरिन्। उनले भनिन्, ‘बर्खास्त गरेरमात्रै यो विषयले विश्राम लिँदैन।

कांग्रेस बर्खास्तीले मात्रै चुप बस्दैन्। यो विषयमा सत्यतथ्य कुराहरु जानकारी गराउन पनि माग गर्न चाहान्छ। प्रधानमन्त्रीले सबैले सुन्ने गरी संसदमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्छ।’ कांग्रेसले बालुवाटार प्रकरणमा जग्गा फिर्ता गरेकाले कारवाही नभएको भन्दै सञ्चारमन्त्रीले राजीनामा दिएका कारण कारवाही हुँदैन भन्न नपाइने बताएको छ । कांग्रेसले आफ्ना मागहरु पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भएकाले नियमित कारवाही अगाडि बढाउन माग गरे पनि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए। दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेमात्रै सुरू भएको थियो। 

प्रकाशित मिति: : 2020-02-21 06:21:47

प्रतिकृया दिनुहोस्