‘इन्डियन २’को सुटिङस्थलमा दुर्घटना, काजल अग्रवाल संयोगवश जोगिइन्

बिएल संवाददाता

काठमाडाै‌ं

चलचित्र ‘इन्डियन २’को छायांकन सेटमा क्रेन दुर्घटनामा परेर चलचित्र यूनिटका ३ जनाको निधन भएको छ। यस्तै ९ जना घाइते भएका छन्। 

चेन्नईको ईभीपी स्टुडियोमा फिल्मको सुटिङ चलिरहेको समयमा क्रेन दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दुर्घटनामा फिल्मका सहायक निर्देशक ३४ वर्षीय कृष्ण, २० वर्षीय मधु र ६० वर्षीय चन्द्रनको मृत्यु भएको हो।

चलचित्रका मुख्य कलाकार कमल हसनले ३ जनाको परिवारलाई १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। यसका साथै, हसनले घाइते भएका अन्य सदस्यहरुको पनि हालखबर बुझिहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

फिल्मका तीन प्रमुख कलाकारहरू कमल हासन, रकुल प्रीत सिंह र काजल अग्रवाल दुर्घटनाबाट संयोगवश जोगिएका छन्।

कमलले ट्विट गर्दै लेखेका छन्–‘मलाई मेरा ३ जना साथीहरु गुमाउनु पर्दा दुःख लागेको छ। म भन्दा कैयौ दुखी घटनामा निधन भएका सदस्यहरुको परिवारलाई परेको छ। म उनीहरुको दुःखमा साथ दिन चाहन्छु।’

यस्तै, नायिका काजल अग्रवालले यो दुःखको कुनै पनि तरिकाले बयान गर्न नसकिने बताएकी छिन्। उनले, मृतकका परिवारप्रति आफ्ना पूर्ण साथ रहेको समेत उल्लेख गरेकी छिन्। 

दुर्घटनाको समय काजल फेसन डिजाइनर अमृता रामसँगै थिइन्। अमृताले सो समय आफूहरु पालभित्र रहेको र चर्को आवाज सुनेपछि बाहिर दौडिएको बताएकी छन्। उनले आफूहरु बसेको पालमाथि नै क्रेन खसेको बताइन्।

प्रकाशित मिति: : 2020-02-22 01:49:18

प्रतिकृया दिनुहोस्