काेरियामा काेराेना भाइरस फैलदैँ: गैरकानुनी बसेका नेपालीलगायत विदेशीलाई देश निकाला नगर्ने

कालिका न्याैपाने

सिओल (काेरिया)

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले निःशुल्क स्वास्थ्य जाँच गर्न आफ्नो देशमा बसोबास गर्दै आइरहेका विदेशीलाई आवहान गरेको छ। 

कोरियाली सरकारले यसअवधिमा गैरकानुनी रुपमा आफ्नो देशमा बसोबास गरिरहेका कामदारलाई नसमात्ने र सम्बन्धित देशमा ‘डिपाेट’ नगर्ने नीति बनाएको छ। 

सरकारले यस विषयमा कोरियामा भएका सबै देशका दूतावासलाई परिपत्र जारी गरिसकेको राजेशचन्द्र जोशीले जानकारी दिए। ‘कोरियामा अवैधानिक रुपमा बसोबास गरिरहेका विदेशीलाई कोरोना भाइरस संक्रमणको शंका लागे सार्वजनिक स्वास्थ्य संस्थामा पुगेर चेकजाच तथा उपचार गराउन भनिएको छ’, जोशीले भने, ‘उपचार गराउन आएका विदेशीलाई उनीहरूको कानुनी हैसियत नसोध्न अस्पताललाई निर्देशन दिइसकेको कोरियाको अध्यागमन विभागले नेपाली दूतावासमा समेत पत्राचार गरिसकेको छ।’

कोरियामा हाल वैधानिक रुपमा ८० हजार नेपाली छन्। अवैधानिक रुपमा थप १० हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको छ। कोरियाली भाषा परीक्षा (एपिएस प्रणाली) पास गरेर सन् २००८ देखि ८ चरणमा नेपाली रोजगारीका लागि कोरिया आएका छन्। 

कोरियाली सरकारले दक्षिणी प्रान्तमा रहेको देगु र छेङदु शहरलाई विशेष निगरानीमा राखिसकेको छ। अझ, देगुमा थुप्रै बाटोहरू बन्द गरिसकेको अवस्था छ। शुक्रबार मात्र तीन सैनिकमा कोरोना भाइरसको संक्रमण सकारात्मक पाइएपछि सबै सैन्य स्थलमा अतिरिक्त स्वास्थ्य सावधानी अपनाइएको छ र सैन्य ठेगाना बन्द गरिएको छ। ९ हजार सदस्य रहेको धार्मिक समूहलाई स्वतस्फूर्त क्वारेन्टिनमा बस्न उर्दी जारी गरिएको छ। 

दक्षिण कोरियामा कोरोना भाइरसका कारण २ सय ४ जनामा कोरोना भाइरसको प्रकोप देखिएको छ। यो चीनपछि यति ठूलो मात्रामा छिमेकी देशमा देखिएको कोरोना भाइरसको संक्रमण हो। 

चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को माहामारीका कारण अहिले विश्व नै आतंकित छ। 
 

प्रकाशित मिति: : 2020-02-22 21:13:27

प्रतिकृया दिनुहोस्