अफगानिस्तानमा आजबाट युद्धबिराम, आगामी हप्ता हस्ताक्षर हुने

अमेरिका र अफगानिस्तानका तालिवान लडाकुबीच ऐतिहासिक सहमति भएको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट स्वागत

अफगानिस्तानको गृहयुद्ध अन्त्य गर्ने विषयमा अमेरिका र तालिबानबीच सम्झौता भएको छ। अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ।

शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले तालिबान र अमेरिकाबीच सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका हुन्। त्यसअघि शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरिसकेका छन्।

पोम्पेओले पनि साउदी अरबको भ्रमणपछि शुक्रबार भनेका छन्, ‘अफगानिस्तानको हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ।’

पोम्पेओले भने, ‘चुनौती अझै बाँकी छ, तर हालसम्म भएको प्रगतिले आशा प्रदान गर्दछ र वास्तविक अवसरको प्रतिनिधित्व गर्दछ। अमेरिकाले सबै अफगानी नागरिकलाई यस क्षणको उपयोग गर्न आग्रह गर्दछ।’

यस सम्झौताअनुसार अमेरिकाले तालिबान र अफगान सरकारबीच शान्तिवार्ता तथा युद्ध अन्त्य गर्नमा भूमिका खेल्नुपर्नेछ। तालिबानले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती घटाउन पनि भनेको छ।

तालिबान र अमेरिकाबीच सहमति भएपछि सम्झौतामा हस्ताक्षर हुने दिनसम्म शनिबारदेखि नै तालिबानले आफ्नो गतिविधिलाई रोक्ने अमेरिकाले शुक्रबार बताएको छ। यस बीचमा अमेरिकाले समेत तालिबानलाई आक्रमण गर्न पाउने छैन।

अन्तर्राष्ट्रिय समुदायबाट स्वागत

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गरेका छन्। उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको उल्लेख गरेका छन्।

‘अफगानिस्तानमा हिंसामा उल्लेखनीय कटौतीको बारेमा समझदारी भएकोमा म स्वागत गर्दछु,’ स्टोल्टनवर्गले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो हिंसा घटाउने तालिवानको इच्छाशक्ति र क्षमताको परीक्षा हो र यसले शान्तिका लागि विश्वासको योगदान गर्नेछ। यसले अफगानीहरूबीच वार्तालाप, दिगो शान्ति र मुलुकलाई फेरि आतंककारीका लागि सुरक्षित ठाउँ नहुने कुरा सुनिश्चित गर्न सक्नेछ।’

अफगानिस्तानमा नेटोको १६ हजार सैनिक छन् जसले स्थानीय सेनाहरुलाई प्रशिक्षण, सहयोग र सल्लाह दिने गरेको छ।

सन् २००१ यता सुरु भएको अफगान गृहयुद्धमा अमेरिकाले तालिबानसँग लड्न अरबौं डलर खर्च गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा चुनाबी प्रचार गरिरहँदा उनले अफगानिस्तानमा अमेरिकी युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए।

सन् २०१८ को डिसेम्बर महिनामा तालिबानले अमेरिकासँग छलफल गरेर शान्तिको बाटो तय गर्ने अभिव्यक्ति दिएपछि भने वार्ताको ढोका खुलेको थियो।

त्यसबेला विद्रोही तालिबानले अफगान सरकारसँग कुनै औपचारिक छलफल गर्न भने इन्कार गर्यो। तालिबान अफगान सरकारलाई अमेरिकाको कठपुतली भएको आरोप लगाउँछ।

तालिबानसँगको सहमतिअनुसार गतवर्षको सेप्टेम्बरमा अमेरिकाले अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरेको थियो।

तर त्यसको केहीदिनमै तालिबानले एक अमेरिकी सेनाको हत्या गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको सम्झौता टुक्रिएको प्रतिक्रिया जनाएका थिए।

ट्रम्पले तालिबानले ठूलो गल्ती गरेको बताइरहँदा तालिबानले अमेरिकाले वार्तालाई बेवास्ता गरेर थुप्रै अमेरिकी सेनाको ज्यान गुमाउने चेतावनी दिएको थियो।

सन् २०११ यता कतारले पनि अफगानिस्तानमा शान्तिका लागि तालिबानका नेतासँग वार्ता गरिरहेको छ।

अफगानयुद्धको पृष्ठभूमि

सन् २००१ सेप्टेम्बर ११ मा जब अमेरिकामा आतंकवादी आक्रमण भयो त्यसको एक महिनापछि अमेरिकाले तालिबानविरुद्ध अफगानिस्तानमा आक्रमण थालेको थियो।

अमेरिकामा आक्रमण गर्ने ओसामा बिन लादेनलाई सुम्पन अस्वीकार गरेपछि अमेरिकाले आक्रमण थालेको थियो।

त्यसबेला तालिबान समूह अफगानिस्तानको सत्तामा थियो। अमेरिकासँग अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरु लागेपछि तालिबान सत्ताबाट तत्काल हटाइएको थियो।

त्यसयता तालिबानले विद्रोहीको रुपमा अफगान सरकारलाई निस्क्रिय बनाउने हिसाबले आक्रमण गर्दै आएको छ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय गठबन्धनको तालिबानविरुद्ध आक्रमण अभियान समाप्त भएको थियो। तर अमेरिकाले अफगान सरकारलाई साथ दिँदै तालिबानविरुद्ध आक्रमण गरिरह्यो।

यद्यपी तालिबानले आफ्नो पकडलाई थप मजबुत बनाउँदै आएको छ। बीबीसीका अनुसार तालिबानले सन् २०१८ मा अफगातिस्नातको ७० प्रतिशत स्थानमा सक्रिय रुपमा गतिविधि सन्चालन गरिरहेका थिए।

अफगान युद्धमा अन्तर्राष्ट्रिय गठबन्धनका ३५ सय सेनाको मृत्यु भएको छ। तीमध्ये २३ सय अमेरिकी सेना हुन्।

यस युद्धमा अफगानका सर्वसाधारण, अफगान सेना र तालिबान लडाकु कति मरे भनेर यकिन तथ्यांक छैन। सन् २०१९ मा संयुक्त राष्ट्रसंघले अफगान युद्धमा ३२ हजार सर्वसाधारणको ज्यान गएको बताएको थियो।

ब्राउन युनिभर्सिटीको अनुसन्धानअनुसार अफगान युद्धमा ५८ हजार सुरक्षाकर्मी मारिँदा ४२ हजार तालिबान लडाकु मारिएका छन्। 

प्रकाशित मिति: : 2020-02-22 21:27:52

प्रतिकृया दिनुहोस्