सितापाइला हत्या प्रकरण

श्रीमती, छोरी र नातिनीको हत्यापछि काजीले छोरालाई भनेका थिए- माफ गर्दे, सुन दराजमा छ

बिहान सवा ७ बजेको थियो कि! इन्द्रजीत श्रेष्ठ उठेर के बसेका थिए, छोरी–ज्वाइँ राजु भन्ने काजी विश्वकर्मा (घिमिरे)को फोन आयो। श्रेष्ठले उठाइहाले। ‘हेल्लो भन्दै’ ज्वाइँ काजी बोले।

तर, काजीको बोली केही हतार, हतास भएको जस्तो मात्र थिएन। बोल्दै गर्दा एकाबिहानै सोच्दै–नसोचेको अप्रिय खबर सुनाए, ‘ससुरा बा! मैले स्वास्नी, छोरी र नातिनी मारेँ। जे गर्नुपर्छ गर्नु है।’

ज्वाइँ बस्ने ठाउँदेखि करिब १० मिनेटको दूरीमा बस्छन् इन्द्रजीत। बिहानै ज्वाइँ काजीले अप्रिय खबर सुनाएपछि उनी छोरी–ज्वाइँ बस्ने कोठातिर लागे, हतार–हतार।

छोरी–ज्वाइँ बस्ने कोठा बन्द थियो। उनले खोल्ने आँट गरेनन्। बिहानैको त्यो अप्रिय खबरले बरु इन्द्रजीतले प्रहरीलाई फोन लगाइहाले र सबै घटना सुनाए। 

प्रहरी आए। ढोका खोले र हेरे। भित्र त तीन लाश थियो। जुन लाश ‘मैले मारेँ’ भनेर काजीले ससुरा बालाई भनेका थिए उनीहरू कै थियो, ३८ वर्षीया ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र नातिनी २ वर्षीया शिवाना श्रेष्ठ।

उनीहरूको घर सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका- १० मा हो। उनीहरू वर्षदिन अघिदेखि काठमाडौँको नागार्जुन नगरपालिका– ६ भैरव टोलस्थित बद्रिप्रसाद बजगाँईंको साढे दुईतले घरको भुइँतलामा बस्दै आएका थिए।

बिहान ७ बजेतिर काजीले श्रीमती, छोरी र नातिनीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमाबाट खुलेको छ। 

तस्बिर: हत्या गरिएका तीन जनाको शव निकाल्दै प्रहरी

हत्यापछि काजीले गरे आत्महत्या

काजीले श्रीमती, छोरी र नातिनीको हत्यापछि आफूले आत्महत्या गरेको  जिल्ला प्रहरी परिसर, काठमाडौँको अनुसन्धानबाट खुलेको छ। बिहान ७ बजेतिर तीन जनाको हत्यापछि उनी डोरी लिएर घरबाट निस्किएका थिए।

उनको शव प्रहरीले बिहान ११:४० बजे नागार्जुन नगरपालिका– ५ स्थित ह्वाइट गुम्बा जङ्गलस्थित (उनी बस्ने डेराकोठाबाट अन्दाजी २ कि.मीको दूरीमा) सल्लाको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको थियो। 

उनले हत्यापछि ससुरा, साली र सालालाई फोन गरेर घटकोबारेमा जानकारी गराएका थिए। 

बुहारी काममा गएपछि काजीको ‘हत्या अपराध’

सितापाइलामा काजीसहित उनकी श्रीमती, एक छोरी, एक छोरा, बुहारी (छोरा बुहारी) र नातिनीसहित ६ जना एउटा फ्लाइटमा बस्दै आएका थिए। बुहारी बिहान उठेर काममा गइन्। 

७ कक्षामा पढ्दै आएका छोरालाई पसलमा डाेनट किन्न काजीले पठाए। डाेनट किनेर उनी के आइपुगेका थिए, घरमा हत्या अपराध भइसकेको थियो। छोरा आउँदा काजीले हातमा डोरी समाएर ‘मैले तेरो आमा, बहिनी मारेँ’ भन्दै भिडियोसमेत गर्न पाठको घटनामा संलग्न प्रहरी अधिकृत बताउँछन्।

काजीले विदेशमा रहेका एक छोरालाई भिडियो सन्देशमा भनेका छन्– ‘माफ गर्दे। सुन दराजमा छ…(भाइ)लाई हेला नगर्नू।’ उनले भिडियोमा श्रीमतीको अर्को कसैसँग सम्बन्ध रहेको पनि जिकीर गरेका छन्। 

तस्बिर: काजीको परिवार बस्ने घर

इमान्दार देखिन्थे काजी

सोलुखुम्बुका ३७ वर्षीय काजी काठमाडौँमा मजदुरी गर्दै आएका थिए। मंगलबार राति १ बजेतिर घरमा आएका उनले बिहान ७ बजेतिर तीन जनाको हत्या गरे। 

राति भाइकी श्रीमतीकी डेलिभरीमा अस्पतालमा गएको उनका ससुरा-बा इन्द्रजीत बताउँछन्। ‘हिजो (मंगलबार)साँझ ५ बजेतिर यहाँ आएका थिए। नास्ता खाएर गए। भाइकी श्रीमतीको डेलिभरीमा अस्पताल गएर राति १ बजेतिर घरमा आएका थिए रे’, उनले भने।

बद्रिप्रसाद बजगाईंको घरको तल्लो फ्लाइटमा बस्दै आएका काजीको बदमासीकाबारेमा कहिल्यै थाहा नभएको घरबेटी बजगाईं बताउँछन्। समयमै कोठा भाडा दिने, चुरोट, रक्सीसमेत खाएको थाहा नपाएको उनले सुनाए। 

‘भित्री कुरा के थियो थाहा भएन। तर, हामीले यहाँ कहिल्यै चुरोट, रक्सी खाएको थाहा पाएनौँ। झगडा गरेको पनि थाहा पाएनौँ। कोठा भाडासमेत समयमा दिने गरेका थिए। उनीहरू (श्रीमान–श्रीमती)को राम्रो सम्बन्ध थियो’ बजगाईंले भने। 

–तस्बिर: शनि शाक्य

यो पनि–

सम्बन्धित भिडियाे :

प्रकाशित मिति: : 2024-02-21 21:00:00

प्रतिकृया दिनुहोस्