मोरङ सामूहिक बलात्कार प्रकरण : १४ वर्षपछि दोषी पक्राउ

युवतीमाथि भएको सामूहिक बलात्कार प्रकरणमा अदालतबाट दोषी ठहर भएका एक युवलाई प्रहरीले करिब १४ वर्षपछि पक्राउ गरेको छ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० (साविकको शनिश्चरे गाविस–१) का ३६ वर्षीय सूर्य विश्वकर्मालाई प्रहरीले घटना भएको १४ वर्षपछि सुनसरीको धरानबाट पक्राउ गरेको हो।

घटनापछि फरार उनी विरुद्ध तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०७१ साल वैशाख १० गते १० वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानको फैसला सुनाएको थियो।

प्रहरीका अनुसार विश्वकर्मासहित पथरीशनिश्चरे –१० का राजु भनिने रामबहादुर बुढाथोकी र दीपक नेपालीले एक २० वर्षीया युवतीलाई २०६२ साल फागुनमा दुई दिनसम्म दीपकको घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेका थिए।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार पथरीशनिश्चरेको भुटानी शरणार्थी शिविरस्थित दिदीको घरमा पुगेकी ती युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन्।

साँझको समयमा चउरमा निस्किएकी उनलाई तीन युवाले ती युवतीलाई आफ्नै साथीकी बहिनी रहेको भन्दै घुम्न जाउँ भनेर फकाउँदै दीपकको घरसम्म पुर्‍याएका थिए। त्यसपछि उनीहरूले दुई दिनसम्म बन्धक बनाउँदै सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटनापछि प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरे पनि तीनै जना फरार थिए।

घटना पछि २०६९ साल पुस २४ गते तीनै जनालाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो। जिल्लाको आदेश उल्टाउँदै पुनरावेदनले तीनै जना विरूद्ध कैद र जरिवानाको फैसला गरे पछि उनीहरु फरार थिए।

डीएसपी गिरीका अनुसार घटनापछि गाउँको घर, जग्गा, जमिन त्यत्तिकै छाडेर श्रीमती र सन्तानसहित भागेर धरान पुगेका विश्वकर्मा त्यहाँ आफ्नै घर बनाएर बसेका थिए।

पक्राउ परेका विश्वकर्मालाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा बुझाएको छ।

अदालतमा सूचना अधिकारी युवराज पौडेलका अनुसार विश्वकर्मालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।

विश्वकर्मा पक्राउ परे पनि बुढाथोकी र अझै नेपाली फरार रहेको भन्दै  नीहरुको खोजी भइरहेको डीएसपी गिरीले बताए।

 

प्रकाशित मिति: : 2020-02-24 03:55:59

प्रतिकृया दिनुहोस्